• ३० वैशाख २०८३, बुधबार

राष्ट्रपति रनिङ शिल्डमा शारदा पहिलो

blog

सल्यान जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागीहरू ।

प्रतीक इच्छुक शर्मा 

सल्यान, वैशाख ३० गते । सल्यान जिल्लास्तरीय १६औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा शारदा नगरपालिका पहिलो भएको छ । शारदा नगरपालिकाले १२ स्वर्ण, १० रजत र ६ कांस्यसहित कुल २८ पदक जित्दै उपाधि हात पारेको हो ।

छत्रेश्वरी गाउँपालिका ८ स्वर्ण, ४ रजत र ७ कांस्यसहित १९ पदक जितेर दोस्रो भएको छ भने बन्गाड कुपिण्डे नगरपालिका ७ स्वर्ण, ६ रजत र १९ कांस्यसहित ३२ पदक जित्दै तेस्रो स्थानमा रहेको छ ।

पहिलो भएको शारदा नगरपालिकाले यसअघि कुमाख गाउँपालिकास्थित नारायण माध्यमिक विद्यालयमा सम्पन्न १५औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि पनि जितेको थियो ।

त्यसैगरी बागचौर नगरपालिका ले ६ स्वर्ण, ९ रजत र ८ कांस्य, कपुरकोट गाउँपालिका ले ५ स्वर्ण, ७ रजत र ६ कांस्य तथा दार्मा गाउँपालिका ले ४ स्वर्ण, ५ रजत र ७ कांस्य पदक जितेका छन् ।

यस्तै कालीमाटी गाउँपालिका ले ४ स्वर्ण, ४ रजत र ५ कांस्य, त्रिवेणी गाउँपालिका ले ३ स्वर्ण, ४ रजत र ६ कांस्य, कुमाख गाउँपालिका ले ३ स्वर्ण, ३ रजत र ५ कांस्य तथा सिद्धकुमाख गाउँपालिका ले २ स्वर्ण, २ रजत र ८ कांस्य पदक जितेका छन् ।

बन्गाड कुपिण्डे नगरपालिका–१, देवस्थलस्थित राताचौर खेलमैदानमा सम्पन्न प्रतियोगितामा जिल्लाभरका १० स्थानीय तहका करिब आठ सय विद्यार्थी खेलाडीको सहभागिता रहेको थियो । 

प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, मार्सल आर्टलगायत विभिन्न खेल विधामा प्रतिस्पर्धा गराइएको जिल्ला खेलकुद विकास समिति सल्यानका अध्यक्ष खड्ग आचार्य ले जानकारी दिनुभयो ।

उहाँका अनुसार उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई प्रदेश तथा राष्ट्रिय स्तरका प्रतियोगिताका लागि छनोट गरिने छ । यस वर्ष प्रतियोगितामा कुल ५४ स्वर्ण, ५४ रजत र ७७ कांस्य पदक वितरण गरिएको आयोजकले जनाएको छ ।

प्रतियोगिताको उद्घाटन प्रतिनिधिसभा सदस्य रमेशकुमार मल्लले गर्नुभएको थियो । उद्घाटन समारोहमा उहाँले खेलकुदले विद्यार्थीमा अनुशासन, प्रतिस्पर्धात्मक भावना र नेतृत्व विकास गर्ने बताउनुभएको थियो ।