प्रतीक इच्छुक शर्मा
सल्यान, वैशाख ३० गते । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा सल्यानका ६ जना विद्यार्थीले ४ जीपीए हासिल गरेका छन् । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजाअनुसार जिल्लाका चार विद्यालयका ६ विद्यार्थीले उत्कृष्ट नतिजा ल्याएका हुन् ।
शिक्षा विकास तथा समन्वय इकाई सल्यानका अनुसार ४ जीपीए ल्याउनेमध्ये एक जना सामुदायिक विद्यालयका र पाँच जना संस्थागत विद्यालयका विद्यार्थी रहेका छन् । शिक्षा विकास तथा समन्वय इकाई सल्यानका प्रमुख शेरबहादुर रोकाका अनुसार ४ जीपीए ल्याउने विद्यार्थीमा राहुल वली, प्रिज्मा श्रेष्ठ, भिसन खड्का, आर्यन बुढाथोकी, सुदीप शर्मा र रोहित बस्नेत रहेका छन् ।
यसवर्ष जिल्लाबाट परीक्षामा सहभागी ३ हजार ९ सय ८७ विद्यार्थीमध्ये २ हजार ७ सय ३२ विद्यार्थी उत्तीर्ण भएका छन् । जिल्लाको कुल उत्तीर्ण प्रतिशत ६८.५२ रहेको शिक्षा विकास तथा समन्वय इकाइले जनाएको छ ।
नतिजाअनुसार ३.६० देखि ४.०० जीपीए ल्याउने विद्यार्थीको संख्या २२१ रहेको छ । त्यस्तै ३.२० देखि ३.६० सम्म ८०३, २.८० देखि ३.२० सम्म १ हजार १५२, २.४० देखि २.८० सम्म ५०८ तथा २.०० देखि २.४० सम्म ४२ विद्यार्थी रहेका छन् । ननग्रेडेड हुने विद्यार्थीको संख्या १ हजार २५५ रहेको छ ।
स्थानीय तहगत विवरणअनुसार शारदा नगरपालिका मा ६६९ मध्ये ४८०, बागचौर नगरपालिकामा ७९४ मध्ये ४४७, बन्गाड कुपिण्डे नगरपालिका मा ३८० मध्ये ३४२, कपुरकोट गाउँपालिकामा २३२ मध्ये १७२ विद्यार्थी उत्तीर्ण भएका छन् ।
त्यसैगरी कालीमाटी गाउँपालिका मा ३९० मध्ये ३५२, कुमाख गाउँपालिका मा ३६४ मध्ये २३२, छत्रेश्वरी गाउँपालिकामा २८२ मध्ये १५४, त्रिवेणी गाउँपालिकामा २२३ मध्ये ६९, दार्मा गाउँपालिकामा ४०४ मध्ये ३८६ तथा सिद्धकुमाख गाउँपालिकामा २४६ मध्ये १०२ विद्यार्थी उत्तीर्ण भएका छन् ।
यसपटक माध्यमिक विद्यालय टाट्के, सरस्वती माध्यमिक विद्यालय र राधेश्याम माध्यमिक विद्यालयबाट कुनै पनि विद्यार्थी उत्तीर्ण हुन नसकेको शिक्षा विकास तथा समन्वय इकाइले जनाएको छ ।
शिक्षा विकास तथा समन्वय इकाइ सल्यानका अनुसार जिल्लाबाट नियमित, प्राविधिक धार र ग्रेड वृद्धिसहित ४ हजार १९३ विद्यार्थी परीक्षामा सहभागी भएका थिए । कुल ४ हजार ३९७ परीक्षार्थीमध्ये २०४ जना अनुपस्थित रहेका थिए ।