• ३० वैशाख २०८३, बुधबार

संसद बैठकमा प्रतिपक्षी सांसदहरुको अवरोध कायमै

blog

प्रतिनिधिसभा बैठक ।

गोरखापत्र अनलाइन

काठमाडौं, वैशाख ३० गते । प्रतिनिधिसभा बैठकमा प्रतिपक्षी दलका सांसदहरुको अवरोध कायमै रहेको छ । प्रधानमन्त्री बालेन्द्र शाहको उपस्थितिको माग गर्दै प्रतिपक्षी दलका सांसदहरुले बैठक अवरोध गर्नुभएको हो । 

एक पटक स्थगित भएर पुनः सुचारु भएको बैठकमा प्रतिपक्षी दलका सांसदहरुले पुरानै अडान राखेर बैठकमा अवरोध गरिरहनुभएको छ । बैठकमा नेपाली काँग्रेसका संसदीय दलका नेता भिस्मराज आङदाम्बे, नेकपा (एमाले) संसदीय दलका उपनेता पद्मा अर्यालले धारणा राख्दै प्रधानमन्त्री शाहको उपस्थितिको माग दोहो¥याउनुभयो ।   

सभामुख डोलप्रसाद अर्यालले बैठक सुचारुका लागि प्रतिपक्षी दलका सांसदहरुलाई आग्रह गर्नुभएको छ । तर सांसदहरुले विरोध जनाउन नछाडेपछि बैठक सुचारु हुन सकिरहेको छैन । 

प्रतिपक्षी दलहरुमा नेपाली काँग्रेस, नेकपा (एमाले), श्रम संस्कृति पार्टी, राप्रपाका सांसदहरुले सामुहिकरुपमा विरोध जारी राख्नुभएको छ । प्रधानमन्त्री शाहले आजको बैठकमा आफ्नो तर्फबाट अर्थमन्त्री डा. स्वर्णीम बाग्लेलाई बोल्न लिखित आदेश गरिसकेकाले आजको बैठकमा सहभागी हुन नसक्ने सभामुख डोलप्रसाद आर्यालले जानकारी बैठकलाई गराउनुभएको छ ।