रवीन्द्र उप्रेती
बर्दीबास, असार २३ गते । विकास निर्माणमा कार्यरत एकजना मजदुरको करेन्ट लागेर मृत्यु भएको छ भने अर्का एक मजदुर घाइते भएका छन् । प्रहरीका अनुसार रामगोपालपुर नगरपालिका– ५ कञ्चनपुरका ३२ वर्षीय छट्टु मुखियाको करेन्ट लागेर मृत्यु भएको हो ।
मधेश प्रदेश भौतिक पूर्वाधार मन्त्रालयको योजनाअन्तर्गत औरही नगरपालिका–७ भोइल–श्रीपुर सडक खण्डस्थित निर्माणाधीन कल्भर्टमा काम गरिरहेको बेला सडक छेउमै रहेको ११ हजार केभीए विद्युत् तार अकस्मात् चुँडिएर खस्दा मुखियाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरीका प्रहरी नायब उपरीक्षक शैलेन्द्र भट्टले जानकारी दिनुभयो ।
करेन्टको प्रभावले साथै काम गरिरहनुभएका अर्का मजदुर किसन मण्डल घाइते हुनुभएको छ । उहाँको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
मृतक मुखियाको शव परीक्षणका लागि जलेश्वरस्थित प्रादेशिक असपतालमा ल्याइएको छ । सोमबार घटना मुचुल्का र शव परीक्षण रिपोर्ट प्राप्त भएपछि कानुनी प्रक्रिया अघि बढाइने भट्टले बताउनुभयो ।