• १२ वैशाख २०८१, बुधबार

पर्वतमा प्रतिनिधि सभा र प्रदेशका दुवै स्थानमा एमाले विजयी

blog

गणेश पौडेल

पर्वत, मङ्सिर ८ गते । जिल्लामा प्रतिनिधि सभा र प्रदेश सभा अन्तर्गत एमाले विजयी भएको छ । एक प्रतिनिधि सभा र दुई प्रदेश सभाको अन्तिम परिणाम अनुसार तीनै स्थानमा नेकपा एमालेका उम्मेदवार विजयी हुनुभएको छ ।

प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका पदम गिरी, प्रदेशसभा १ मा भक्त कुँवर र प्रदेशसभा २ मा मित्रलाल बस्याल विजयी हुनुभएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालय पर्वतका अनुसार प्रतिनिधि सभामा गिरीले नेपाली काँग्रेसका उम्मेदवार अर्जुनप्रसाद जोशी लाई २ हजार २ सय ६३ मतान्तरले पराजित गराउनुभएको हो । गिरीले २९ हजार ८ सय ७२ मत प्राप्त गर्नुभएको छ । जोशीले २७ हजार ६ सय ९ मत ल्याउनुभयो ।

प्रदेश १ मा नेकपा एमालेका भक्त कुँवरले नेकपा माओवादी केन्द्रका उम्मेदवार सुदीप कुँवरलाई पराजित गराउनुभयो । भक्त कुँवरले १६ हजार ८१ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका उम्मेदवार सुदीप कुँवरले १३ हजार ७ सय ४२ मत प्राप्त गर्नुभयो । उहाँहरूको बिचमा २ हजार ३ सय ३९ मतको अन्तर रहेको छ ।

प्रदेशसभा २ मा नेकपा एमालेका उम्मेदवार मित्रलाल बस्यालले १४ हजार १ सय ३२ मत ल्याई विजयी हुँदा नेपाली काँग्रेसका उम्मेदवार ऋषिकेश तिवारीले १२ हजार २ सय १० मत प्राप्त गर्नुभएको छ । तिवारी र बस्यालका बिचमा १ हजार ९ सय २२ मतको अन्तर भएको छ । जिल्लाका ६१ वडामा ६६ हजार २ सय २६ मत खसेको थियो ।