• २७ वैशाख २०८३, आइतबार

सोलुखुम्बुमा ‘ई–पेन्सन सेवा’ सुरु

blog

ई–पेन्सन सेवाको शुभारम्भ गरिँदै ।

सन्तोष राउत 

सोलुखुम्बु, वैशाख २७ गते । हिमाली जिल्ला सोलुखुम्बुमा ई–पेन्सन सेवा औपचारिक रूपमा सुरु भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय सोलुखुम्बुमार्फत सेवा सञ्चालनमा आएको हो । 

सेवाको पहिलो सेवाग्राहीका रूपमा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, सोलुखुम्बुबाट सेवानिवृत्त पशु विकास अधिकृत अधिकृतस्तर आठौं तहका भीमलाल तामाङलाई निवृत्तिभरण अधिकारपत्र हस्तान्तरण गरिएको कार्यालयले जनाएको छ ।

राष्ट्रिय किताबखाना (निजामती)का महानिर्देशक श्रवणकुमार पोखरेलले सोलुखुम्बुबाट पहिलो पटक ई–पेन्सन सेवा प्राप्त गर्दै तामाङ ई–पेन्सनर बन्नुभएको बताउनुभयो । यस सेवाले काठमाडौँ धाउनुपर्ने झन्झट, कागजी प्रक्रिया तथा अनावश्यक हैरानी अन्त्य गर्ने बताइएको छ ।

राष्ट्रिय किताबखाना (निजामती)ले २०८२ चैत ६ गतेबाट औपचारिक रूपमा ई–पेन्सन सेवा सुरु गरेको थियो । उक्त सेवाले अब निवृत्त कर्मचारीलाई डिजिटल माध्यमबाट सहज रूपमा पेन्सनसम्बन्धी सेवा प्राप्त गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।