काठमाडौँ, वैशाख २७ गते । नेपाली प्रहरीका प्रमुख (आइजिपी) दानबहादुर कार्कीले नेपालको जटिल भूगोल र अव्यवस्थित सडक संरचनाका कारण सवारी दुर्घटना बढ्दै गएको बताउनुभयो ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको सातौँ राष्ट्रिय महाधिवेशनमा उहाँले जटिल भूगोल र देशभर जथाभाबी निर्माण गरिएका सडक तथा कमजोर इन्जिनियरिङ संरचनाले दुर्घटनाको जोखिम थप बढाएको बताउनुभएको हो ।
नेपालमा सवारी दुर्घटनाबाट हुने मानवीय क्षति अत्यन्त दुःखद बन्दै गएको भन्दै दैनिक औसतमा आठ जनासम्मको मृत्यु हुने अवस्था सिर्जना हुनु गम्भिर चिन्ताको विषय भएको उहाँको भनाइ छ ।
कार्कीले सवारी दुर्घटना राज्य, व्यवसायी, मजदुर युनियन तथा सम्पूर्ण नागरिकको साझा चिन्ताको विषय भएको उल्लेख गर्दै यसलाई न्युनीकरण गर्न सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताउनुभयो ।
उहाँले यातायात व्यवसायीको महाधिवेशनले पनि दुर्घटना न्युनीकरणका लागि स्पष्ट मार्गनिर्देशन र दिशा तय गर्नुपर्ने बताउनुभयो।
उहाँका अनुसार पछिल्ला वर्षहरूमा जलवायु परिवर्तनको प्रभावका कारण नेपालमा बाढी, पहिरो तथा मनसुनजन्य विपद् बढ्दै गएका छन्, जसले सवारी दुर्घटनाको जोखिम थप बढाएको छ ।
विशेषगरी चाडपर्वको समयमा भएका ठुला दुर्घटनाले मानवीय क्षतिसँगै राष्ट्रलाई ठुलो आर्थिक नोक्सानी पनि बेहोर्नुपरेको छ । आइजीपी कार्कीले भन्नुभयो,“नेपालको भूगोल जटिल छ र यो भूगोलमा जसो तसो निर्माण भएका ठुला साना सडकमा सवारी साधन चलेका छन् जहाँ रुटको प्रश्न पनि उठिरहन्छ । यो रुटको प्रश्न उठिरहने विषय होइन । तर यो उठिराख्ने विषयहरू पनि सम्बोधन हुनुपर्छ । अब यो नेपालमा सवारी दुर्घटनाबाट अहिले त अझ बढ्दै गएर मास क्याजुअल्टज हुँदै जादा कहिलेकाँही एकदम दुःखदायी हुन्छ दिन हामीलाई सम्झिँदा अत्यन्त दुःखदायक लाग्छ । भोग्नेलाई कस्तो हुन्छ ? हामी सुन्नेलाई पनि दुःख लाग्ने र भोग्नेलाई अझ दुःख लाग्ने विषय छन् । दैनिक एभरेजमा सात जना थियो । अहिले आठ जना हुने डर भयो । एभरेजमा दिनमा आठ जनाको मृत्यु हुने अवस्था चाहिँ अत्यन्त दुःखदायी अवस्था हो । यो यसबाट बर्सेनि दैनिक आठ जनाको दरले बर्सेनि कति नागरिकले ज्यान छन् त्यो अत्यन्त चिन्ताको विषय राज्यको पनि चिन्ताको विषय हो । व्यवसायको पनि चिन्ताको विषय हो, व्यवसायिक सङ्गठनको पनि चिन्ताको विषय हो । मजदुर युनियनका पनि चिन्ताका विषय हुन् । र मजदुरका पनि चिन्ताका विषय हुन् । यी हामी सबैका चिन्ताका विषय हुन् जहाँ हामी आफैँ सम्मिलित छौँ । जहाँ हामी आफैँ पनि पीडित हुने सम्भावना छ अहिले अर्को कसैलाई पीडा भएको अवस्थाले अहिले एकछिन शान्त भइराख्ने कुरा पनि होइन । त्यो कुनै दिन त्यो पीडा कसैसँग नपरोस् भन्नका खातिर महाधिवेशनले पनि एउटा मार्ग निर्देश गर्नुपर्ने अवस्था छ भन्ने बुझ्नु जरुरी छ । अब हामीले पछिल्ला दिनमा मौसमको परिवर्तनले जलवायु मा आएको परिवर्तनको कारणले पनि संसारभरमा जस्तै नेपालमा पनि दुर्घटनाहरू वृद्धि गरेको छ । अहिले नेपाल अझ पछिल्लो वर्ष यो मनसुनको समयमा खास गरी र त्यसपछि अब मनसुन सुरु भइनै सक्यो यो पछाडिबाट आउने पहिरो आउने र चाडबाडका चाडबाड ठिक्क अगाडी दुर्घटना ठुलठुला दुर्घटना भएको कारणले एकातर्फ राष्ट्रको एकातर्फ व्यक्तिको क्षति त भएकै छ । त्यो क्षति भएका व्यक्तिले भरण पोषण गर्नुपर्ने परिवारको पनि क्षति भएको अवस्था छ । दुःखि भएको अवस्था छ भने मुलुकले पनि एउटा कहाली लाग्दो सवारी दुर्घटनाबाट ठुलो पुजीको पनि क्षति भएको र त्यो दुःखद अवस्था बेहोर्नुपरेको अवस्था छ । यस सन्दर्भमा सवारी दुर्घटनाका विविध कारणहरूमध्ये मानवीय कारणहरू हामी भन्छौँ । मानवीय कारण पनि होलान् इन्जिनियरिङका कारण पनि उत्तिकै महत्त्वपूर्ण छन् । इन्जिनियरिङको विषय पनि सम्बोधन हुनुपर्छ । गाउँ–गाउँमा वडाध्यक्षहरूले इच्छा गरेर बनाइएका सडकहरू गाउँगाउँ जथाभाबी डोजरे क्रान्ति गरिएका बाटाहरूको कारणले पनि दुर्घटना भएका छन् भन्ने पनि हामीले स्वीकार गर्नुपर्ने छ । ती बाटाहरू इन्जिनियरिङ हिसाबले ति ठिक छन् । जहाँ निर त्यो जलवायु परिवर्तनका सँगै जो बाढी र पहिरो आउछ त्यसको सिर्जना गर्नमा कति योगदान गरेको छ त्यस्तो किसिमको विकासको नमुनाले भन्ने तर्फ पनि हेर्नुपर्ने छ ।”
आइजिपी कार्कीले दुर्घटनाका कारण केवल मानवीय कमजोरी मात्र नभई इन्जिनियरिङ पक्ष पनि उत्तिकै जिम्मेवार रहेको बताउनुभयो ।
गाउँ–गाउँमा योजनाविहीन रूपमा डोजर प्रयोग गरेर बनाइएका सडकले दुर्घटना निम्त्याएको उल्लेख गर्दै उहाँले यस्ता सडकको प्राविधिक गुणस्तर तथा वातावरणीय प्रभावको गम्भीर समीक्षा आवश्यक रहेको बताउनुभयो ।
जलवायु परिवर्तन, कमजोर सडक संरचना, लापरवाही, अज्ञानता र कानुनी कार्यान्वयनको कमजोरीलाई दुर्घटनाका प्रमुख कारणका रूपमा औंल्याउँदै सुरक्षित यातायात प्रणाली निर्माणमा राज्यले दीर्घकालीन नीति अवलम्बन गर्नुपर्नेमा उहाँको जोड थियो ।