अस्थायी मतदान केन्द्रमा खस्यो ९८ दशमलव ५ प्रतिशत मत
अस्थायी मतदान केन्द्र रहेको बागलुङ जिल्ला कारागारमा ९८ दशमलव ५ प्रतिशत मत खसेको छ । बागलुङ नगरपालिका–१ मा रहेको बागलुङ जिल्ला कारागारमा कायम गरिएको अस्थायी मतदान केन्द्रमा ६६ जना कैदीबन्दी र अस्थायी मतदाताले मतदान गरेका हुन् ।
सर्लाहीमा ५० प्रतिशत मत खस्यो
सर्लाहीका सम्पूर्ण मतदान केन्द्रमा शान्तपूर्ण रुपमा मतदान जारी छ । यहाँ अहिलेसम्म ५० प्रतिशत मत खसेको बताइएको छ ।
मतपेटिका फाल्ने परियार प्रहरी नियन्त्रणमा
कास्कीको माछापुच्छ्रे वडा नं ८ स्थित तारे बराह आधारभूत विद्यालय लुम्रेको मतदान केन्द्रबाट सूर्य परियारलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मतपेटिका ढुवानीका लागि सवारी साधन तैनाथ : गृहसचिव
गृह मन्त्रालयले मतपेटिका ढुवानीका लागि सवारी साधन तैनाथ अवस्थामा राखिएको जनाएको छ । गृहसचिव विनोदप्रकाश सिंहले मतपेटिका ढुवानीका लागि आवश्यकता अनुसार सवारीसाधन तैनाथ राखिएको बताउनुभएको हो ।
इलाममा ११५ वर्षीय ज्येष्ठ नागरिकद्वारा मतदान
यसपटकको निर्वाचनमा इलाममा ११५ वर्षीय ज्येष्ठ नागरिकले मतदान गर्नुभएको छ। फाकफाेकथुम गाउँपालिका वडा नम्बर ७ का ११५ वर्षीय वृद्ध मनबहादुर राईले मतदान गर्नुभएको हो ।
कलाकारद्वारा मतदान, मताधिकार सदुपयाेग गर्न आह्वान
हाँस्य कलाकार हरिवंश आचार्यले गत वर्षको निवार्चनको तस्विर समाजिक सञ्जालमा सार्वजनिक गर्दै लेख्नुभएको छ, “लोकतन्त्रको सुन्दर पक्ष भनेकै निर्वाचनबाट आफूलाई मन पर्ने जनप्रतिनिधि आफैँले छान्न पाउनु हो । सबैले निर्वाचनमा भाग लिई आफ्नो मताधिकार प्रयोग गरौँ।”
राप्रपा अध्यक्ष लिङ्देनद्वारा मतदान
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले मतदान गर्नुभएको छ । उहाँले आफ्नै निर्वाचन क्षेत्रको हल्दिबारी –१ स्थित गोल्धाप मतदान केन्द्रबाट मतदान गर्नुभएको हो । उहाँ झापा क्षेत्र नं. ३ को प्रतिनिधि सभा सदस्यको उम्मेद्वार रहनु भएको छ ।
कुश्मामा ९० वर्षीय श्रेष्ठद्वारा मतदान
पर्वतको कुश्मा नगरपालिका ९ को सार्वजनिक माध्यमिक विद्यालयमा रहेको केन्द्र (ख) मा मतदान ९० वर्षीय ज्येष्ठ नागरिक ओमनारायण श्रेष्ठले मतदात गर्नुभएको छ । मतदान केन्द्रमा गएर नातिनी रक्षा श्रेष्ठको सहयोगमा उहाँले मतदान गर्नुभएको हो ।
सञ्चारमन्त्री कार्की र पूर्व मुख्यमन्त्री आचार्यद्वारा मतदान
सञ्चार तथा सूचना प्रविधि एवम् कानुन मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सुनसरीको वराहक्षेत्र नगरपालिका १० प्रकाशपुरको भगवती आधारभूत विद्यालयमा मतदान गर्नुभएको छ ।
नेता खरेलद्वारा झापा क्षेत्र नम्बर २ बाट मतदान
झापाको क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाका उम्मेदवार अग्नि खरेलले झापाको क्षेत्र नम्बर २ बाट मतदान गर्नुभएको छ । खरेलको स्थायी घर बिर्तामोड नगरपालिका वडा नम्बर ५ हो ।
तेह्रथुममा ३६ कैदीबन्दीद्वारा मतदान
एक मात्र निर्वाचन क्षेत्र रहेको तेह्रथुममा ३६ जना कैदीबन्दीले मतदान गरेका छन् । जिल्ला कारागारका ८३ जना कैदीबन्दीमध्ये ३६ जनाले यस पटकको निर्वाचनमा मतदान गरेको सहायक प्रमुख जिल्ला अधिकारी तथा जेलर विक्रम लिम्बुले जानकारी दिनुभयो ।
विगतको भन्दा धेरै मत खस्छ : नेता पौडेल
नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले मतदान गर्नुभएको छ । मतदानपछि पत्रकारसँग कुरा गर्दै उहाँले यस पटक विगतभन्दा बढी मत खस्ने बताउनुभयो ।
मध्याह्नसम्म ३२ प्रतिशत मतदान : आयोग
निर्वाचन आयोगले आइतबार मध्याह्नसम्म ३२ प्रतिशत मतदान भएको जनाएको छ ।
निर्वाचन आयोगको पत्रकार सम्मेलन (प्रत्यक्ष प्रसारण)
प्रतिनिधिसभा र प्रदेशभसा सदस्य निर्वाचन जारी रहेको बेला निर्वाचन आयोगले पत्रकार सम्मेलन गरेको छ ।
अध्यक्ष ओलीद्वारा भक्तपुरको सूर्यविनायकबाट मतदान
नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले मतदान गर्नुभएको छ । भक्तपुरको सूर्यविनायक नगरपालिकाको बालकोटस्थित महेन्द्र शान्ति माध्यमिक विद्यालयमा अवस्थित मतदान स्थलमा उहाँले आफ्नो मताधिकार प्रयोग गर्दै मतदान गर्नुभएको हो ।
हिँडेर मतदान स्थल पुग्नुभएकी ८८ वर्षीय लिम्बुको मृत्यु
तेह्रथुममा ८८ वर्षीय वृद्धको मृत्यु भएको छ । मतदानका लागि हिँडेर मतदान स्थल पुग्नुभएको वृद्धको मृत्यु भएको हो ।
सेनाको गाडीमा ठोक्किँदा एकको मृत्यु
पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षीमा निर्वाचनको सुरक्षामा खटिएको नेपाली सेनाको सवारीसँग मोटरसाइकल ठोक्किँदा दुर्घटनामा परेर एकजना मोटरसाइकल चालकको मृत्यु भएको छ ।
समृद्धिको नयाँ युग सुरु होस् : पूर्व प्रधानमन्त्री भट्टराई
पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले गोरखा जिल्लाको पालुङटार नगरपालिका वडा नं. १ अन्नपूर्ण मावि निर्वाचन केन्द्रबाट आफ्नो मताधिकार प्रयोग गर्नु भएको छ ।
निर्वाचनले लोकतन्त्रको अभ्यास समृद्ध पार्छ : नेता भुसाल
पूर्व मन्त्री एवम् रुपन्देही निर्वाचन क्षेत्र नम्बर १ का स्वतन्त्र उम्मेदवार घनश्याम भुसालले मतदान गर्नुभएको छ । तिलोत्तमा वडा नम्बर ९ को गौतमबुद्ध आधारभूत विद्यालय मतदान केन्द्रबाट उहाँले मतदान गर्नुभएको हो ।
मादक पदार्थ सेवन गरेको मतदान अधिकृत निलम्बित
पश्चिम नवलपरासीको नगरपालिकाको मझौनीस्थित दुर्गा माध्यमिक विद्यालय मतदान केन्द्रका निर्वाचन अधिकृत मादक पदार्थ सेवन गरी कार्यस्थलमा फेला परेपछि निर्वाचन अधिकृत श्याममणीप्रसाद मण्डल मतदान अधिकृतबाट निलम्बनमा पर्नुभएको छ ।
सामान्य विवादमा मतदान स्थगित नगर्न आयोगको निर्देशन
निर्वाचन आयोगले सामान्य विवादकै आधारमा मतदान स्थगित नगर्न मतदान अधिकृतहरूलाई निर्देशन दिएको छ ।
महामन्त्री शर्माद्वारा मतदान
नेपाली काँग्रेसका महामन्त्री एवं झापा क्षेत्र नंम्बर १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार विश्वप्रकाश शर्माले मतदान गर्नुभएको छ ।
मतदाता नामावलीमा नाम नभेटिए तत्काल कल सेन्टरमा सम्पर्क गर्नुस् : निर्वाचन आयोग
निर्वाचन आयोगले मतदान गर्ने क्रममा आफ्नो नामावलीमा नाम नभेटिए तत्काल कल सेन्टरमा सम्पर्क गर्न आग्रह गरेको छ ।
डोटी मतदान स्थलमा गोली चल्यो, पुनः मतदान सुरु
डोटीको मतदान स्थलमा झडपको स्थिति सृजना भएपछि गोली चलेको छ ।