गोरखापत्र अनलाइन
भक्तपुर, मंसिर ४ गते । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले मतदान गर्नुभएको छ । भक्तपुरको सूर्यविनायक नगरपालिकाको बालकोटस्थित महेन्द्र शान्ति माध्यमिक विद्यालयमा अवस्थित मतदान स्थलमा उहाँले आफ्नो मताधिकार प्रयोग गर्दै मतदान गर्नुभएको हो । एमाले अध्यक्ष ओली झापाको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दिनुभएको छ ।
निर्वाचनबाट एमालेले बहुमत ल्याउने दाबी अध्यक्ष ओलीले गर्नुभयो । निर्वाचन पछि एमाले नेतृत्वमा बहुमतको सरकार बन्ने र त्यो नभए एमालेसँग साझेदार गरेका दलहरूसँग मिलेर सरकार बनाउने उहाँले दाबी गर्नुभयो ।
केही ठाउँमा बाहेक निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न हुने विश्वास पनि अध्यक्ष ओलीले व्यक्त गर्नुभयो । एमालेले बहुमत ल्याउने र बहुमत नआएको खण्डमा एमालेसँग सहकार्य गरेका दलहरूको संयुक्त सरकार बन्ने उहाँको भनाइ छ ।
अध्यक्ष ओलीले अप्रिय घटना भएका ठाउँमा निर्वाचन सम्पन्न हुन नसके पुनः मतदान गर्नुपर्ने बताउनुभयो । शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न हुनेमा आफू विश्वस्त रहेको उहाँले बताउनुभयो । नयाँ दलहरू राष्ट्रिय पार्टी बन्ने अवस्था नरहेको पनि उहाँको भनाइ छ ।