• २१ असार २०८२, शनिबार

व्यवसायीको आन्दोलनले मजदुर समस्यामा

blog

गत आठ दिनदेखि बन्द रहेका नेपालगन्जका सुनचाँदी पसल। तस्बिर : सिराज खान

सिराज खान 

नेपालगन्ज, असार २१ गते। सरकारले आर्थिक वर्ष ०८२/८३ को बजेटमार्फत सुनमा २ प्रतिशत विलासिता कर र बहुमूल्य पत्थर जडित गहनामा १३ प्रतिशत भ्याट लगाउने घोषणा गरेपछि देशभरका सुनचाँदी व्यवसायी सो हटाउन माग गर्दै निरन्तर आन्दोलनमा छन्। 

बजेट भाषण लगत्तै व्यवसायीले सुनमा लगाइएको २ प्रतिशत विलासिता कर र बहुमूल्य पत्थर जडित गहनामा १३ प्रतिशत भ्याट खारेज गर, सुनको भन्सार ६ प्रतिशतसम्म कायम गर तथा सुनचाँदीको कारोबारका लागि प्रष्ट नीति नियम निर्माण गर भन्ने तीन बुँदे मागलाई अघि सारेर आन्दोलन सुरु गरेका थिए। 

सुनचाँदी व्यवसायीले आफ्नो माग पुरा गराउन दबाब दिने उदेश्यले गत आठ दिनदेखि सम्पूर्ण पसल व्यवसाय बन्द गरेपछि त्यसको सबैभन्दा बढी प्रभाव गहना बनाउने कालिगढ र मजदुरलाई परेको छ। 

आन्दोलनका कारण आठ दिनदेखि सबै पसल व्यवसाय बन्द रहेकोले काम नपाएर छाक टार्न समस्या हुन थालेको गुनासो नेपालगन्जका कालिगढले गर्न थालेका छन्। उहाँले अझै केही दिन अवस्था यस्तै रहने हो भने छाक टार्न समेत समस्या हुने बताउनुभयो। 

सुनचाँदी व्यवसायीको आन्दोलनबाट नेपालगन्जका करिब चार सय बढी कालिगढ र मजदुर प्रत्यक्ष प्रभावित भएको सुनचाँदी व्यवसायी संघ बाँकेले नै जनाएको छ। लुम्बिनी प्रदेश सुनचाँदी व्यवसायी संघका सदस्य मोहम्मद हासिम अन्सारीले व्यवसाय बन्द हुँदा व्यवसायमा आश्रित कालिगढ सबैभन्दा बढी प्रभावित भएको बताउनुभयो।