• २२ असार २०८२, आइतबार

नेपालको एसियन कप खेल्ने सपना अधुरै, उज्वेकिस्तानसँग टाइब्रेकरमा ४–२ गोलले पराजित

blog

नेपाली टोली । फाइल तस्बिर

काठमाडौँ, असार २१ गते । नेपालको एएफसी महिला एसियन कप खेल्ने सपना अधुरो बनेको छ ।

एसिसी महिला एसियन कप छनोट–२०२६ अन्तर्गत समूह ‘एफ’ को अन्तिम खेलमा शनिबार घरेलु टोली उज्वेकिस्तानसँग टाइब्रेकरमा ४–२ गोलले पराजित भएपछि नेपाल निराश बनेको हो । 

निर्धारित ९० मिनेटको खेल ३–३ गोलको बराबरीमा सकिएपछि खेल सोझै टाइब्रेकरमा पुगेर सकिएको थियो । टाइब्रेकरमा उज्वेकिस्तानका चार खेलाडीले गोल गरेका थिए । नेपालका दुई खेलाडी मात्र सफल भए । 

टाइब्रेकरमा उज्वेकिस्तानका लागि माफतुना सोयीमोभा, उमिदा जोइरोभा, मदिना खिमातोभा र असलखोन अमिनजोनाभाले  गोल गर्नुभयो । नेपालका लागि गिता राना र सविता रानामगरले मात्र गोल गर्न सक्नुभयो ।

नेपालकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’को पहिलो प्रहार पोलमा लागेर फर्किएको थियो । गोलकिपर अन्जना रानामगरको चौथो प्रहारलाई उज्वेकिस्तानकी गोलकिपरले सोझै विफल पार्नुभयो । 

यसअघि पहिलो हाफमा दुई गोलले पछि परेको नेपालले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गरेको थियो । पहिलो हाफमै घरेलु टोली उज्वेकिस्तान १० खेलाडीमा समेटिए पनि निर्धारित समयमा जित निकाल्न नसक्दा टाइब्रेकर नेपालका लागि दुर्भाग्य सावित भयो । 

निर्धारित समयमा उज्वेकिस्तानले खेल सुरु भएको दोस्रो मिनेटमै अग्रता लिएको थियो । उज्वेकिस्तानले ११औँ मिनेटमा अग्रतालाई दोब्बर बनायो ।

त्यसपछि नेपालकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ले २४औँ मिनेटमा गोल गर्दै नेपाललाई खेलमा फर्काउने प्रयास गर्नुभयो । उज्वेकिस्तानले ३७औँ मिनेटमा पेनाल्टीमार्फत तेस्रो गोल गरेको थियो । 

उज्वेकिस्तान पहिलो हाफको इन्जुरी समयमा १० खेलाडीमा समेटिएपछि खेलभर दबाबमा देखिएको थियो । ‘साम्बा’ले दोस्रो हाफको ७०औँ र ७१औँ मिनेटमा गोल गदै ह्याट्रिक पूरा गर्नुभयो । 

‘साम्बा’ले ह्याट्रिकसँगै खेललाई बराबरीमा लाग्नुभएको थियो । तर टाइब्रेकरमा पुगेर उज्वेकिस्तान भाग्यमानी बन्यो । जितसँगै उज्वेकिस्तानले अर्को वर्ष अस्ट्रेलियामा हुने एसियन कपमा स्थान बनाएको छ ।

उज्वेकिस्तानसँगको हारले नेपाल विश्व कप र ओलम्पिक छनोटबाट पनि बाहिरिएको छ । यस समूहमा रहेका लाओस र श्रीलङ्का भने एक खेल अगावै छनोटबाट बाहिरिएका थिए ।

अन्तिम खेलमा टाइब्रेकरमा मार खाएको नेपालले पहिलो खेलमा लाओसलाई ९–० र दोस्रो खेलमा श्रीलङ्कालाई ८–० गोलले पराजित गरेको थियो ।