• २२ असार २०८२, आइतबार

वन क्षेत्रलाई उत्पादन र आयआर्जनसँग जोड्नुपर्छ : मुख्यमन्त्री आचार्य

blog

डिभिजन वनको नर्सरी अवलोकन गर्नुहुँदै मुख्यमन्त्री तेनरायण आचार्य ।

सन्तोष दहित

दाङ, असार २१ गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले वन क्षेत्रलाई उत्पादन र आम्दानीको माध्यमका रूपमा विकास गरिने बताउनुभएको छ ।

शनिबार अर्घाखाँचीको डिभिजन वन कार्यालय अन्तर्गत डिभिजन वन नर्सरी, रुब्दी पुगेर अवलोकन गर्नुभएका मुख्यमन्त्री आचार्यले वृक्षारोपण कार्यक्रमलाई मात्र नभई त्यसपछिको संरक्षण र उपयोगितासम्म विस्तार गर्नुपर्ने धारणा राख्नुभयो 

हामीले लगाएका बिरुवाहरू संरक्षित हुनु अत्यन्त जरुरी छ, उहाँले भन्नुभयो, वनमा खेर जाने पातपतिंगर र झार संकलन गरेर प्राङ्गारिक मल उत्पादनमा प्रयोग गर्न सकिन्छ । यसले वन व्यवस्थापनमा योगदान पुग्नुका साथै डढेलो नियन्त्रणमा पनि सघाउ पुर्‍याउँछ ।

मुख्यमन्त्री आचार्यले सामुदायिक वनहरूलाई प्राङ्गारिक मल उत्पादनमा सक्रिय बनाई कृषि क्षेत्रसँग जोड्न सकिने बताउँदै प्रदेश सरकारले अघि सारेको अर्गानिक खेती अभियानलाई यसमा थप टेवा पुग्ने स्पष्ट पार्नुभयो । उहाँले वन क्षेत्रलाई केवल संरक्षणको दृष्टिकोणले मात्र नभई उद्यम, रोजगारी र आयआर्जनको स्रोतका रूपमा विस्तार गर्ने खालका कार्यक्रमहरू आवश्यक रहेकोमा जोड दिनुभयो ।

डिभिजन वन कार्यालय अर्घाखाँचीका सहायक वन अधिकृत केशर खड्काका अनुसार चालू आर्थिक वर्षमा जिल्लामा ६३ हेक्टर क्षेत्रमा वृक्षारोपण गर्ने लक्ष्य रहेको छ । साउन १४ गतेसम्म झण्डै १ लाख बिरुवा वितरण भइसकेको जानकारी खड्काले दिनुभयो ।

हाल जिल्लाभित्र ६ वटा नर्सरीमा १ लाख ६३ हजार वटा वर्षे र बहुवर्षे बिरुवा तयारी अवस्थामा छन् । डिभिजन वन कार्यालयले तेजपात र टिमुरको बिशेष खेतिबिस्तारको अभियान थालेको छ । कम्तिमा पाँच सय बिरुवा माग गर्नेहरूकालागि कार्यालयले निस्शुल्क ढुवानि गर्ने, रोपण कार्यमा सहजिकरण समेत गर्दै आएको छ । हाल सम्म टिमुरका २० हजार पाँच सय  र तेजपातको १२ हजार नौंसय बोट रोपण गरिएको छ । 

यो अभियान साउन १४ सम्म चल्ने कार्यालयले जनाएको छ । बिरुवा रोपिएका क्षेत्रहरूको प्रभावकारी अनुगमनका लागि जिपिएस लोकेसन प्रणालीमार्फत निगरानीको व्यवस्था गरिएको डिभिजन वन कार्यालयको भनाइ छ।