• १६ साउन २०८२, शुक्रबार

आर्थिक अभावमा जोङलुङ गुम्बा पुनर्निर्माण अधुरै

blog

फुङ्लिङ (ताप्लेजुङ),  साउन १५ गते ।  मिक्वाखोला गाउँपालिका–५ तोक्पेगोलामा अवस्थित जोङलुङ गुम्बा निर्माण तथा व्यवस्थापनमा आर्थिक अभाव भएको छ । 

प्रारम्भमा स्थानीय, विदेशी दाताको सहयोग र गाउँपालिकाको बजेटबाट पुनर्निर्माण थालिए पनि अन्तिममा रकम अपुग भएको छ । बजेट नहुँदा काम रोकिएको छ । 

विसं १९०५ मा स्थापित गुम्बाको संरक्षण तथा सञ्चालनका लागि गुठीको व्यवस्था गरिएको थियो । गुठीको निरन्तरता नहुँदा २०७७ सालमा स्थानीय तेन्जिङ शेर्पाको अगुवाइमा पुनर्निर्माण सुरु गरिएको थियो । शेर्पालाई अमेरिका, जर्मनी लगायत देशमा रहेका नेपालीले रु ४५ लाख प्रदान गरेका थिए । 

प्राप्त रकमबाट काम थालिएको जानकारी दिँदै सामाजिक अभियन्ता शेर्पाले हाल रकम अभावमा काम रोकिएको बताउनुभयो । गुम्बाको प्लास्टर, भुइँ सिँगार, सिलिङलगायत संरचना पूरा गर्न रकम अभाव भएको उहाँको गुनासो छ । उहाँले दाताहरूलाई सहयोगका निम्ति आग्रह गर्नुभएको छ । रासस