सुजन बज्राचार्य
सङ्खुवासभा, साउन १५ गते । सङ्खुवासभाको सिलिचोङ गाउँपालिकास्थित सिसुवा खोलामा निर्मित ४५ मिटर लामो पक्की पुल बिहीबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ। पाँच करोडको लागतमा सम्पन्न भएको यो पुलले दशकौँदेखि दुर्गम मानिएका बस्तीलाई सदरमुकाम खाँदबारीसँग जोड्दै विकासको नयाँ मार्ग प्रशस्त गरेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले एक विशेष समारोहका पुलको उद्घाटन गर्नुभएको हो।
अम्बर–कुन्सालिङ निर्माण कम्पनीले २०७९ सालको वैशाखमा निर्माण सुरु गरेको यो पुल चार करोड ६५ लाख रुपियाँको लागतमा सम्पन्न भएको हो। सङ्घ, प्रदेश र स्थानीय तहको साझेदारीमा बजेट व्यवस्थापन भएर सिलिचोङ गाउँपालिकाले ठेक्का प्रक्रिया अघि बढाएको थियो।
यो पुल सञ्चालनमा आएसँगै सिसुवा, वाला, ताम्कुजस्ता दुर्गम बस्तीका बासिन्दाको वर्षौँदेखिको सपना साकार भएको छ। यसअघि काठका चाक्ली र अस्थायी बाँसका पुलको जोखिमपूर्ण यात्रा गर्न बाध्य स्थानीय बासिन्दाले अब सुरक्षित र सहज रूपमा खोलो तर्न पाउने भएका छन्।
पुलले सिलिचोङ गाउँपालिका–१, सिसुवा र वडा नम्बर २ स्थित बाला, बुधबारे हुँदै ताम्कुसम्मको आवागमनलाई सहज बनाएको छ । यसले कृषि उत्पादनको बजारीकरण र अत्यावश्यक सेवा प्रवाहमा समेत उल्लेखनीय सुधार ल्याउने अपेक्षा गरिएको छ।
सिलिचोङ गाउँपालिका अध्यक्ष भूपालराज मेवाहाङले पुलले दुर्गम बस्तीको भौतिक पूर्वाधार सुदृढीकरणमा ठुलो टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो।