काठमाडौं, मङ्सिर ४ गते । गृह मन्त्रालयले मतपेटिका ढुवानीका लागि सवारी साधन तैनाथ अवस्थामा राखिएको जनाएको छ । गृहसचिव विनोदप्रकाश सिंहले मतपेटिका ढुवानीका लागि आवश्यकता अनुसार सवारीसाधन तैनाथ राखिएको बताउनुभएको हो ।
गृहसचिव सिंहले निर्वाचन सामग्री, निर्वाचन कर्मचारी, मतदाताहरू र उम्मेदवारलाई कुनै पनि किसिमको भौतिक क्षति अहिलेसम्म नपुगेको बताउनुभयो ।
अहिलेसम्म शान्तिपूर्ण र व्यवस्थित रूपमा मतदान भइरहेको पाएको र मतदान कार्य रोकिएका ठाउँमा पुनः मतदान सुरु गराउन पहल गरिरहेको उहाँले बताउनुभयो । त्यस्तै, उहाँले कतिपय स्थानमा पुनः सुरु भइसेको जानकारी दिनुभयो ।
आइतबार दिउँसो उपत्यकाका काठमाडौं, भक्तपुर, ललितपुरका विभिन्न मतदान स्थलको अवलोकन गर्नुहुँदै गृहसचिव सिंहले सो कुरा बताउनुभएको हो ।
उहाँले भन्नुभयो, ‘‘शान्तिपूर्ण र व्यवस्थित रूपमा मतदान भइरहेको हामीले पाइरहेका छौँ । मतदान कार्य रोकिएका ठाउँमा पनि मतदान पुनः सुरु गराउन हामीले व्यवस्था गरिरहेका छौँ । निर्वाचन सामग्री, निर्वाचन कर्मचारी र मतदाताहरू र उम्मेदवारलाई कुनै पनि किसिमको भौतिक हामी पुगेको छैन । हामीले सुरक्षा व्यवस्था कडा बनाएका छौँ । मतपेटिका ढुवानीका लागि आवश्यकता अनुसारका सवारीसाधन तैनाथ राखिएको छ ।’’
सचिव सिंहसहितको प्रमुख सुरक्षा अधिकारीहरूको टोलीले काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न मतदान केन्द्रहरूको स्थलगत अवलोकन गर्नुभएको छ । निरीक्षणका क्रममा मतदान स्थलमा मतदाताहरूले उत्साहित तवरबाट मतदान गरिरहेको पाएको बताउनुभयो ।