• १३ वैशाख २०८१, बिहिबार

कलाकारद्वारा मतदान, मताधिकार सदुपयाेग गर्न आह्वान

blog

काठमाडौं, मङ्सिर ४ गते । प्रतिनिधिसभा र प्रदेशसभाका लागि कलाकारहरुले समेत आ–आफ्नो निर्वाचन क्षेत्रमा मतदान गरिरहेका छन् । 

हास्य कलाकार हरिवंश आचार्यले गत वर्षको निर्वाचनकाे तस्विर समाजिक सञ्जालमा सार्वजनिक गर्दै लेख्नुभएको छ, “लोकतन्त्रको सुन्दर पक्ष भनेकै निर्वाचनबाट आफूलाई मन पर्ने जनप्रतिनिधि आफैँले छान्न पाउनु हो  । सबैले  निर्वाचनमा भाग लिई आफ्नो मताधिकार प्रयोग गरौँ।”


अभिनेता भुवन केसीले काठमाडौं क्षेत्र नम्बर २ स्थित गुह्येश्वरी मावि केन्द्रमा मतदान गर्नुभएको छ । केसीले आफ्नो रुचि राजनीतिमै रहेको बताउँदै अर्को चुनावमा मौका पाए उम्मेदवार बन्ने बताउनुभयो । 

यस्तै, अभिनेता राजेश हमालले लैनचरस्थित शान्ति विद्या निकेतन मतदान केन्द्रबाट मतदान गर्नुभएको छ । हमालले यो चुनावले राजनीतिमा ठूलो परिवर्तन आउन सक्नेसमेत बताउनुभयो । 

अभिनेता दीपकराज गिरीले काठमाडाैंकाे दहचोक मतदान केन्द्रबाट मतदान गर्नुभएको छ । मतदान गरिसकेपछि गिरी सामाजिक सञ्जालमा अघिल्लो वर्षको तस्विर राख्दै लेख्नुहुन्छ, “५ वर्ष अगाडिको फोटो हो , त्यति बेला गरिएको गल्ती, यो पटक दोहोरिन्न । नयाँ जोशका साथ आएका युवा उम्मेदवारहरूलाई शुभकामना ।”

दीपाश्री निरौलाले विराटनगर क्षेत्र नं ६ बाट मतदान गर्नुभयो । उहाँले आफूले हाम्रो मान्छेभन्दा पनि राम्रो र देश विकास गर्नेलाई आफ्नो अमूल्य मत दिने बताउनुभयो । उहाँका अनुसार उम्मेदवार जुनसुकै पार्टीबाट होस् त्यो सरोकार भएन, आफ्नो क्षेत्रलाई राम्रो बनाउने मान्छे हुनुपर्छ ।


उता, अभिनेत्री रेखा थापा राप्रपाबाट आफैँ उम्मेदवार भएकाले आफ्नै निर्वाचन क्षेत्र मोरङ–३ मा सक्रिय हुनुहुन्छ । 

निर्वाचनको शुभकामना दिँदै अभिनेत्री थापा लेख्नुहुन्छ, “अब एउटा इतिहास बोक्ने बिहानीको पर्खाइ छ । जहाँ एउटा बाकसमा हजारौं सपनाहरू खस्नेछन्  ।”


अभिनेत्री करिश्मा मानन्धरले महाराजगञ्जस्थित काठमाडौं महानगरपालिका–३ को वडा कार्यालयमा रहेको केन्द्रबाट मतदान गर्नुभयाे । उहाँले पति विनोद मानन्धरसँगै निर्वाचनमा मतदान गर्नुभएको हो ।

उहाँका अनुसार हामीले पाएको मतदानको अधिकारको प्रयोग हामी सबैले गर्नुपर्छ  ।मतदानपछि करिश्माले कलाकारहरुले पनि सक्रिय राजनीति गर्न आवश्यक रहेको बताउँदै रेखा थापालाई शुभकामना दिनुभयाे 


यस्तै, हास्य कलाकार निर्मल शर्माले काठमाडौं क्षेत्र नम्बर ४ को सिफलबाट मतदान गर्नुभएको छ । मतदान गरेपछि उहाँले पनि आफू अब सक्रिय राजनीतिमा लाग्ने बताउनुभयो । यसका लागि आफूले तयारीसमेत सुरु गरेको उहाँले जानकारी दिनुभयो ।

“यसबाहेक समृद्ध देश, सुदृढ समाज र सुशासनको चाहना राख्नेहरुले यसपटकको मतदान महत्वपूर्ण छ । विगतमा धेरै मतदान गरियो तर देशले बाटो पहिल्याउन सकेन । तर यसपटक युवा राजनीतिमा सक्रिय भएको देख्दा केही आशा पलाएको छ”, उहाँले भन्नुभयो । 

यस्तै, अभिनेत्री केकी अधिकारीले चाबहिलस्थित मतदान केन्द्रबाट भोट हाल्नुभयाे । आफूले चाहेको परिवर्तन के हो भन्नेबारे सामाजिक सञ्जालमा केकी लेख्नुहुन्छ, “आज खसाल्ने मतले हाम्रो वर्तमान र भविष्य उठाओस् । मतदान गर्नु ठूलो जिम्मेवारी हो । मतदान गर्न पाउने अधिकार हामीले सजिलै पाएका पनि होइनौं। त्यसैले आफ्नो मत हाल्ने अधिकार र कर्तव्य पूरा गर्न आ–आफ्नो मतदान केन्द्रमा जाऔँ। कोही पनि नछुटौँ । आफैँ बनाऔँ, आफ्नाे सरकार ।” 


यस्तै, अभिनेत्री स्वस्तिमा खड्का र कलाकार निश्चल बस्नेतले पनि मतदान गरेको तस्विर सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्नुभएको छ । अभिनेत्री खड्काले आफूले राम्रो परिवर्तनका लागि राम्रोलाई मतदान गरेको जानकारी दिनुभयो ।