अमरराज नहर्की
तनहुँ, वैशाख २८ गते । ग्रामीण क्षेत्रमा स्वरोजगारको अवसर सिर्जना गरी किसानको आयस्तर सुधार्न तनहुँमा खरायो पालनलाई व्यावसायिक रूपमा अघि बढाइएको छ ।
यस अभियान अन्तर्गत ‘र्याबिट कन्सर्न नेपाल’ ले व्यास नगरपालिका –१३ का ११ जना किसानलाई आइतबार प्रजननका लागि उन्नत ’क्यालिफोर्निया’ जातका खरायो र आधुनिक खोर (केज) निःशुल्क उपलब्ध गराएको हो । व्यास नगरपालिका –१३ स्थित गाउँ विकास कृषि सहकारी संस्थाको समन्वयमा आयोजित कार्यक्रममा र्याबिट कन्सर्नका निर्देशक पूजा पौडेलले वडाध्यक्ष वसन्तबहादुर आलेलाई ३३ वटा खरायोका बच्चा र खोर हस्तान्तरण गर्नुभयो । प्रत्येक किसानलाई तीन वटाका दरले खरायो वितरण गरिएको छ ।
निर्देशक पौडेलका अनुसार यो ‘खरायो पैँचो कार्यक्रम’ नेपालमै पहिलो पटक यस क्षेत्रमा सुरुवात गरिएको हो । यस कार्यक्रम अन्तर्गत खरायोले बच्चा जन्माएपछि किसानले तीनवटा बच्चा संस्थालाई फिर्ता गर्नुपर्ने हुन्छ, जसलाई पुनः अन्य किसानलाई सहयोग गर्न प्रयोग गरिनेछ । बाँकी रहेका खरायोहरू भने किसानले आफ्नो इच्छाअनुसार बिक्री गर्न वा उत्पादन बढाउन प्रयोग गर्न सक्नेछन् ।
संस्थाका संरक्षक किरण पौडेलले यहाँको हावापानी खरायो पालनका लागि अत्यन्त अनुकूल रहेको र कम लगानीमै राम्रो प्रतिफल लिन सकिने बताउनुभयो । केही वर्षअघि खरायोको मासु बिक्री नभएर किसान चिन्तित भएको अवस्था रहे पनि अहिले मागअनुसारको पूर्ति गर्न नसकिएको उहाँले जानकारी दिनुभयो ।
पोथी खरायो ६ महिनामा प्रजनन्का लागि तयार हुने र एक पटकमा ४ देखि १२ वटासम्म बच्चा जन्माउने क्षमताका हुन्छन् । भाले लगाएको ३० दिनभित्र ब्याउने खरायोका बच्चालाई १० दिनसम्म दुध खुवाएपछि घाँस, मकै र पानी खुवाएर सजिलै हुर्काउन सकिन्छ ।
चार महिनाको अवधिमा एउटा खरायो २ देखि ५ किलोग्रामसम्म तौलको हुने र बजारमा जिउँदो प्रतिकिलो २५० देखि ३०० रुपियाँसम्ममा बिक्री हुने गरेको छ । अन्य पशुको तुलनामा मृत्युदर कम हुने र विश्वमै यसको मासु उत्तम मानिने भएकाले गरिबी निवारणका लागि यो व्यवसाय प्रभावकारी हुने देखिएको छ ।
थोरै लगानी, कम मेहेनत र सानो क्षेत्रफलमा सञ्चालन गर्न सकिने भएकाले निम्न वर्गका मानिसले पनि यसबाट राम्रो आम्दानी लिन सक्छन् । स्थानीय सामग्रीबाटै खोर निर्माण गर्न सकिने र घरायसी आहारबाटै पाल्न सकिने खरायोबाट मासुका साथै छाला, ऊन र मल समेत प्राप्त हुन्छ ।
यसले कुपोषणको अन्त्य र रोजगारीमा सघाउ पुर्याउने अपेक्षा गरिएको छ । मासु आयात प्रतिस्थापन गर्दै निर्यातको सम्भावना रहेकाले भावी दिनमा हस्तकला उद्योग समेत सञ्चालन गर्न सकिने छ । स्वादिलो र सुपाच्य हुने खरायोको मासुमा न्यून कोलेस्ट्रोल, ओमेगा –३ र प्रशस्त क्याल्सियम तथा आइरन पाइने भएकाले मुटु, दम र मधुमेहका रोगीका लागि निकै लाभदायी मानिने खरायो हस्तान्तरण कार्यक्रममा बताइएको छ ।