अमरराज नहर्की
तनहुँ, वैशाख २८ गते । सहरको सुविधा र सहज जीवन त्यागेर तनहुँका एक शिक्षक गाउँ फर्किनु भएको छ । खेर गइरहेको ८२ रोपनी बाँझो जमिनलाई उहाँले उत्पादन, पशुपालन र कृषि पर्यटनको केन्द्रमा रूपान्तरण गर्नुभएको हो ।
व्यास नगरपालिका –६ खहरे निवासी सिद्धान्त थापा मगरले करिब ६० लाख रुपियाँ लगानीमा ‘सजिव कृषि तथा पशु फर्म’ सञ्चालन गर्दै कृषि कर्मलाई व्यवसाय र प्रेरणाको नमुनाका रूपमा स्थापित गर्नुभएको हो ।
पछिल्लो समय युवाहरू वैदेशिक रोजगारी र सहर पलायनतर्फ आकर्षित भइरहेका बेला थापाले भने गाउँकै माटो रोज्नुभयो । उहाँको फार्ममा हाल ५५ वटा स्थानीय जातका बाख्रा, २० वटा सुँगुर, ३ वटा भैँसी र ४२ वटा मौरीका घार छन् ।
पशुपालनसँगै फलफूल खेतीलाई प्राथमिकता दिँदै १५० वटा लिची र २०० वटा कागतीका बिरुवा हुर्काइँदै छन् । बाँझो जमिनको सदुपयोगसँगै बहुआयामिक उत्पादनतर्फ उहाँको ध्यान केन्द्रित छ ।
थापा पेशाले शिक्षक हुनुहुन्छ । उहाँ खहरेस्थित सेतीकाली आधारभूत विद्यालयको प्रधानाध्यापक समेत हुनुहुन्छ । अध्यापनसँगै २०७६ सालदेखि व्यावसायिक कृषिमा लाग्नुभएका उहाँ भन्नुहुन्छ, “कृषि पेशालाई गुजारामुखी होइन, व्यवसायका रूपमा अगाडि बढाए राम्रो आम्दानी सम्भव छ । यसले देशलाई परनिर्भरताबाट छ्ुटकारा गर्न सहयोग गर्छ ।”
दीर्घकालीन सोचका साथ थापाले आफ्नो फार्ममै होमस्टे (घरबास) सञ्चालन गर्नुभएको छ । कृषि, पशुपालन र ग्रामीण जीवनशैलीलाई नजिकबाट अनुभूति गराउने उद्देश्यले सुरु गरिएको यो प्रयासले फार्मलाई कृषि पर्यटनतर्फ उन्मुख गराएको छ । स्थानीय स्रोत–साधनको अधिकतम प्रयोग गर्दै सञ्चालन गरिएको यो नमुना अभ्यास अन्य युवाका लागि पनि प्रेरणाको आधार बनेको छ ।
सदरमुकाम दमौलीको सहज जीवन छोडेर गाउँ फर्किनु भएका थापा कृषि कर्मले उत्पादनसँगै शरीर निरोगी बन्न मद्दत गरेकोमा सन्तुष्टि मिलेको बताउनुहुन्छ । बारीका काम गर्दा पसिना धेरै आउँदा बिरामी हुनु नपरेको उहाँ बताउनुहुन्छ ।