• २८ वैशाख २०८३, सोमबार

डायलायसिस सेवाका लागि जनशक्ति तयार गर्दै बडिगाड

blog

ग्वालीचौरमा रहेको बडिगाड आधारभूत अस्पताल । तस्बिरः रामकृष्ण बोहरा

रामकृष्ण बोहरा

बागलुङ, बैशाख २८ गते । जिल्लाको ग्वालीचौरस्थित १५ शैयाको आधारभूत अस्पतालमा मिर्गौलाका बिरामीलाई डायलायसिस सेवा दिन तयारी थालिएको छ । 

डायलायसिसको विषयमा विशेष ज्ञान हुनुपर्ने भएकाले बडिगाड गाउँपालिकाले नर्सलाई ‘डायलायसिस नर्सिङ’ तालिम लिन काठमाडौं पठाएको छ । गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारी, उपाध्यक्ष भीमसेन वन र स्वास्थ्य संयोजक विपेन्द्र केसीसहितको टोलीले विभिन्न अस्पतालमा पुगेर डायलायसिस सेवाबारे अध्ययन गरिरहेको छ ।

वीर अस्पताल काठमाडौंमा तीन महिने आधारभूत ‘डायलायसिस नर्सिङ’ तालिम लिइरहेका दुई जना नर्स दक्ष भएर आएपछि सेवा सुरु गर्नेगरी तयारी भइरहेको गाउँपालिकाका जनस्वास्थ्य निरीक्षक हेमबहादुर पुनले जानकारी दिनुभयो । ‘‘डायलायसिस मेशिन जडान गर्ने काम सकिएर व्यवस्थापकीय काम चलिरहेको छ’’ पुनले भन्नुभयो । 

बडिगाड गाउँपालिकामा मात्र १४ जना मिर्गौला रोगका बिरामी छन् । पश्चिम बागलुङका पाँच पालिका र गुल्मी जिल्लाको मुसिकोटसहित ८५ बिरामी अहिले अस्पतालको सम्पर्क छन् । नजिकमा सेवा नहुँदा उनीहरुले हाल बागलुङ, पोखरा, नारायणघाट र बुटवलका अस्पतालबाट डायलायसिस गराइरहेका छन् ।  

अस्पतालले सेवा सुरु गरेपछि बडिगाडसँगै पश्चिम बागलुङका गलकोट, ढोरपाटन, निसीखोला र तमानखोलासँगै गुल्मी, रुकुम र रोल्पा जिल्लाको बिरामी लाभान्वित हुनेछन् । यो क्षेत्रमा डायलायसिस सेवा नहुँदा टाढाका अस्पतालमा जानुपर्ने बाध्यता र आर्थिक बोझका साथै हैरानी खेप्नुपर्ने परिस्थितीको अन्त्य हुने विश्वास गरिएको छ ।

संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमार्फत बडिगाड अस्पताललाई १ करोड १ लाख ४४ हजार ८ सय रुपियाँ बराबरका ५ वटा डायलाइसिस मेसिन उपलब्ध गराइएको छ । गत साउनबाट सेवा सुरु भएको अस्पतालमा उपकरण आइपुगेपछि सेवा सञ्चालनको तयारी अघि बढेको गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले बताउनुभयो ।

अस्पतालले सेवा विस्तार गर्न दुई जना मेडिकल अधिकृत समेत पदपूर्ति गरेको छ । डायलायसिस सेवा सुरु भएपछि मिर्गौला बिरामीका लागि सहजता हुने अध्यक्ष थापाले बताउनुभयो । ‘‘बडिगाड अस्पतालमा सुरु हुन लागेको डायलायसिस सेवाले ग्रामीण क्षत्रमै उच्चस्तरीय उपचारको नयाँ ढोका खोल्ने छ’’ थापाले भन्नुभयो ।

डायलायसिस सेवालाई प्रभावकारी बनाउन थप नर्स र डाक्टरलाई तालिम पठाउने योजना पालिकाको छ । डिजिटल भिडियो एक्सरे ल्याउने प्रक्रिया सुरु भएको अधिकारीले जानकारी दिनुभयो । तत्कालका लागि मानव अङ्ग प्रत्यारोपण केन्द्रबाट चिकित्सक ल्याएर सेवाको सुरुवात गर्ने र पछि आफ्नै जनशक्ति तयार गर्ने गाउँपालिकाको योजना छ । 

गण्डकी प्रदेश सरकारले १५ शैयाको बडिगाड आधारभूत अस्पतालाई २५ शैयामा स्तरोन्नति गर्ने समेत योजना बनाएको छ । अस्पतालमा अहिले इमरजेन्सी कक्ष तयार गर्ने काम भइरहेको जनस्वास्थ्य निरीक्षक पुनले जानकारी दिनुभयो ।

अस्पताललाई स्वास्थ्य बिमाअन्तर्गत प्रथम सेवा विन्दुको रूपमा सूचीकृत गरिएको छ । यसबाट बीमित बिरामीले सहज र सुलभ उपचार सेवा प्राप्त गर्न सक्छन् । गाउँपालिकाले लक्षित वर्गका लागि निःशुल्क स्वास्थ्य बीमाको पनि व्यवस्था गरेको छ ।