अमरराज नहर्की
दमौली, वैशाख १८ गते ।ग्रामीण क्षेत्रमा स्वरोजगारका अवसर सिर्जना गरी किसानको आयस्तर सुधार्न तनहुँमा खरायो पालनलाई व्यावसायिक रूपमा अघि बढाइएको छ ।
यसै अभियान अन्तर्गत ‘र्याबिट कन्सर्न नेपाल’ले व्यास नगरपालिका–१३ का ११ जना किसानलाई प्रजननका लागि उन्नत जातका खरायो र आधुनिक खोर ९केज० निःशुल्क उपलब्ध गराएको हो ।
खरायो पालनलाई पोषण र स्थानीयस्तरमा स्वरोजगारसँग जोड्ने लक्ष्यका साथ ११ जना किसानलाई ३३ वटा खरायो (माउ र बच्चा) हस्तान्तरण गरिएको छ ।
संस्थाकी निर्देशक पूजा पौडेलले व्यास नगरपालिका–१३ का वडाध्यक्ष वसन्तबहादुर आलेलाई ती सामग्री हालै हस्तान्तरण गर्नुभएको हो ।
सो अवसरमा संस्थाका संरक्षक किरण पौडेलले यहाँको हावापानी खरायो पालनका लागि अत्यन्तै अनुकूल रहेको र पाल्न खासै दुःख नहुने बताउनुभयो ।
“बजारमा खरायोको मासुको माग उच्च रहेकाले बिक्रीको कुनै समस्या छैन,“ पौडेलले भन्नुभयो, “थोरै लगानी र सानो ठाउँमा पनि यो व्यवसायबाट किसानले छोटो समयमै राम्रो आर्थिक प्रतिफल लिन सक्छन् र यसैका लागि किसानलाई प्रोत्साहन गरिएको हो ।”