• २८ वैशाख २०८३, सोमबार

प्रदेश अस्पतालबाट ६० हजारले लिए स्वास्थ्य सेवा

blog

अस्पतालमा आयोजना गरिएको सार्वजनिक सुनुवाई कार्यक्रम । तस्बिरः ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य 

म्याग्दी, बैशाख २८ गते । म्याग्दीको सदरमुकाम बेनीमा रहेको प्रदेश अस्पताल बेनीमा आठ महिनाको अवधिमा ६० हजारभन्दा बढीले स्वास्थ्य उपचार सेवा लिएका छन् ।

चालु आर्थिक वर्षको साउनदेखि फागुन मसान्तसम्म ६० हजार ६ सय ४६ जनाले स्वास्थ्य सेवा लिएको अस्पालले जनाएको छ । अस्पतालमा म्याग्दीका साथै पर्वत, मुस्ताङ र बागलुङका केही भेगहरुबाट समेत सर्वसाधारण उपचारका लागि आउने गर्दछन् । 

अस्पतालको अनुसार ओपिडीतर्फ ५५ हजार २ सय ६३ जना, इमरजेन्सी ५ हजार ३ सय ८३, दन्त सेवा एक हजार पाँचसय ४४, आँखा परीक्षण एक हजार एकसय ५३, ल्याव २१ हजार ९ सय ४५, युएसजी ६ हजार ३ सय २०, एक्सरे १३ हजार ८ सय ३३ र इजिसीतर्फ चार हजार एकसय ४० जनाले सेवा लिएका छन् ।  

यसैगरी खोप नौसय ५५, रिफर चार हजार चारसय ४२, भर्नासहित उपचार एक हजार चारसय ९२, डेलिभरी एकसय ९५, शल्यक्रिया १ हजार ३३, प्लाष्टर पाँचसय ८१, ज्येष्ठनागरिक सेवा ६ सय ३०, सुरक्षित गर्भपतन दुईसय २६ र परिवार नियोजन तीनसय ८१ जनाले सेवा लिएको अस्पतालले जारी गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । 

त्यस्तै, अस्पतालमा सामाजिक सेवा इकाइबाट विपन्न, गरिब तथा कैदीबन्दीले सेवा लिएका छन् । हेमाडायलाइसीस सेवा ३७ जनाले लिइरहेका छन् । यसका साथै क्षयरोगका ९२, फिजियोथेरापी चारसय १६ र मानसिक स्वास्थ्यसम्बन्धी नौसय ६८ जनाले सेवा लिएका छन् । 

एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसिएमसी) मा सेवा लिनेहरु ४७ जना रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । मिलन म्याग्दीको प्राविधिक सहयोगमा अस्पतालको सेवाका बारेमा सामाजिक परीक्षण तथा सार्वजनिक सुनुवाइ गरिएको छ ।

सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागी जिल्लाका सरोकारवालाले प्रदेश अस्पतालको सेवा प्रवाहलाई थप प्रभावकारी र सेवाग्राहीमैत्री बनाउनुपर्नेमा जोड दिएका छन् । अस्पतालमा आवश्यक जनशक्तिको व्यवस्थापन गरी उपलब्ध स्रोतसाधनको अधिकतम रुपमा प्रयोग गर्दै आगामी दिनमा अझ प्रभावकारी सेवाप्रवाह गर्नुपर्नेमा जिल्ला समन्वय समितिका कार्यवहाक प्रमुख डिलकुमारी खत्रीले बताउनुभयो । 

उहाँले अस्पतालको निर्माणाधीन भवनलाई चाँडो निर्माण सम्पन्न गरी पूर्णरुपमा सञ्चालनमा ल्याउनुपर्ने बताउनुभयो । बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसीले प्रदेश अस्पताल बेनी म्याग्दीको सेवा प्रवाहलाई आगामी दिनमा थप प्रभावकारी बनाउनका लागि आवश्यक सहयोग गर्ने बताउनुभयो । 

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य सुविन श्रेष्ठले अस्पतालमा आवश्यक पर्ने स्रोतसाधनको व्यवस्थापनका लागि निजी क्षेत्र सहकार्य गर्न तयार रहेको प्रतिवद्धता जनाउनुभयो । अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा. हेमन्त बाँस्तोलाले कार्यक्रममा उठाइएका सवालको जवाफसहित अस्पतालको समग्र प्रगतिको बारेमा जानकारी गराउनुभएको थियो ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष डेकबहादुर बानियाँले प्राप्त सल्लाह तथा सुझावलाई समेटेर कार्ययोजना निर्माण गरी अस्पतालको विकासमा अगाडि बढाइने बताउनुभयो ।