मकवानपुरको सबै मतदान केन्द्रमा सुरक्षा प्रबन्ध
राममणि दाहालहेटौँडा, मङ्सिर ४ गते । प्रतिनिधि तथा प्रदेश सभा सदस्यको निर्वाचनअन्तर्गत मकवानपुरमा आइतबार बिहानैबाट मतदान जारी रहेको छ । मतदान बिहान ७ बजेबाट सुरु भएसँगै मतदान केन्द्र र वरपरको क्षेत्रमा चहलपहल सुरु भएको हो । मतदान शान्तिपूर्ण सम्पन्न गर्न तीन तहमा सुरक्षा व्यवस्था मिलाइएको छ । मतदान केन्द्रको पहिलो घेरामा म्यादी प्रहरी र नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र अन्तिम घेरामा नेपाली सेना सुरक्षाका लागि रहेका छन् । सुरक्षाकर्मीले मतदातासँगै, मतदान केन्द्र मतपत्र र मतपेटिकाको सुरक्षा गर्नेछन् । मकवानपुरमा म्यादी प्रहरी एक हजार ६९९, जनपथ प्रहरी एक हजार ६९, सशस्त्र प्रहरी चार सय र नेपाली सेना खटाइएको छ ।जिल्लाको १६७ मतदान स्थल र दुई अस्थायीसहित ३६६ मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ । जिल्लाको सबै मतदान केन्द्रमा मतदाताले निर्बाध रूपमा मतदान गरिरहेको मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले जानकारी दिनुभयो ।जिल्लाको प्रतिनिधि सभा सदस्यमा निर्वाचन क्षेत्र नं. १ मा दुई स्वतन्त्रसहित १७ जना र क्षेत्र नं. २ मा एक स्वतन्त्रसहित १० जना प्रतिस्पर्धामा छन् ।यस्तै प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा निर्वाचन क्षेत्र १ मा दुई स्वतन्त्रसहित १० जना र प्रदेश सभा निर्वाचन क्षेत्र नं. २ मा छ स्वतन्त्रसहित १५ जना तथा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ को प्रदेश सभा निर्वाचन क्षेत्र १ मा तीन स्वतन्त्रसहित आठ जना र प्रदेश सभा निर्वाचन क्षेत्र नं. २ मा छ तीन स्वतन्त्रसहित १० जना प्रदेश सभा सदस्यमा उम्मेदवार रहनुभएको छ ।मकवानपुरमा आइतबार जारी निर्वाचनका लागि एक लाख ५३ हजार ५२८ पुरुष, एक लाख ४७ हजार दुई सय महिला र अन्य पाँच जना गरी तीन लाख ७३३ मतदाता कायम भएको छ।प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ मा ७४ हजार ९३० पुरुष, ७५ हजार २२१ महिला र अन्य चार गरी एक लाख ५० हजार १५५ मतदाता मतदानमा सहभागी हुँदै छन् । निर्वाचन क्षेत्र नं. २ मा ७८ हजार ५९८ पुरुष, ७१ हजार ९७९ र अन्य एक जना गरी एक लाख ५० हजार ५७८ मतदाता रहेका छन् ।प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ मा ६२ मतदान स्थल र १७२ मतदान केन्द्र तथा निर्वाचन क्षेत्र नं. २ मा मतदान स्थल १०५ र मतदान केन्द्र १९२ वटा रहेको छ । यसैगरी मकवानपुरमा प्रतिनिधिसभा क्षेत्र नं. १ को प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ मा पुरुष ४० हजार १११, महिला ३७ हजार ८७७ र अन्य एक गरी कुल मतदाता ७७ हजार ९८९ जना तथा प्रदेश सभा निर्वाचन क्षेत्र २ मा पुरुष मतदाता ३४ हजार ८१९, महिला ३७ हजार ३४४ र अन्य तीन जना गरी ७२ हजार १६६ मतदाता छन् । यस्तै प्रतिनिधिसभा निर्वाचन क्षेत्र नंं २ को प्रदेश सभा निर्वाचन क्षेत्र १ मा पुरुष मतदाता ४२ हजार ८४३, महिला मतदाता ४० हजार २५५ र अन्य एक जना गरी ८३ हजार ९९ जना तथा निर्वाचन क्षेत्र २ मा पुरुष मतदाता ३५ हजार ७५५ र महिला ३१ हजार ७२४ गरी ६७ हजार ४७९ जना रहेका छन् । प्रतिनिधि सभा १ को प्रदेश सभा निर्वाचन क्षेत्र १ मा मतदान स्थल ४७ र मतदान केन्द्र ९५, क्षेत्र नं. २ मा मतदान स्थल १५ र मतदान केन्द्र ७७ तथा प्रतिनिधि सभा क्षेत्र नं. २ को प्रदेश सभा क्षेत्र नं. १ मा मतदान स्थल ५६ र मतदान केन्द्र १०८, प्रदेश सभा २ मा मतदान स्थल ४९ र मतदान केन्द्र ८४ रहेको छ ।
अर्थमन्त्री शर्माद्वारा मतदान
प्रमुख राजनीतिक दलका उम्मेदवारले मतदान गर्नुभएको छ । प्रतिनिधिसभा र प्रदेशसभाकाे आज देशभर मतदान भइरहेको छ । मतदान आज बिहान ७ बजेदेखि सुरु भएको हो ।
बाजुरामा शान्तरुपमा मतदान हुँदै
शेरबहादुर सार्कीबाजुरा, मङसिर ४ गते । बाजुरामा शान्त वातावरणमा मतदान भइरहेको छ । बिहान ७ बजेबाट सुरु भएको मतदानमा मतदाताहरूले शान्त वातावरणमा मतदान गरेको जिल्ला निर्वाचन कार्यालय बाजुराले जनाएको छ । आज भएको प्रतिनिधि तथा प्रदेश सभा सदस्यका निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालय बाजुराले कात्तिक २९ गतेबाट निर्वाचन सामग्री रुजु गर्दै कर्मचारीहरूलाई मतदान स्थलमा पठाएको जिल्ला निर्वाचन कार्यालय बाजुराका प्रमुख नवराज अवस्थीले बताउनुभयो ।बाजुरामा ७० वटा मतदान स्थल र ११२ मतदान केन्द्र र २ वटा अस्थायी केन्द्र अहिले शान्तपूर्णरुपमा मतदान सुरु भएको छ । सो मतदान केन्द्रमा अहिले ९०१ जना कर्मचारीसमेत खटाएका छन् । आजको निर्वाचनमा महिला ४० हजार ८३८ र पुरुष ४२ हजार ७२७ गरी ८३ हजार ५६७ जना मतदाताले मतदान गर्न पाउने छन् ।बाजुरामा जङ्गबहादुर गिरी स्वतन्त्र टेक बहादुर बडुवाल जन समाजवादी राम बहादुर शाही, नेकपा एमालेका कर्ण बहादुर थापा र नेपाली कांग्रेसका पार्टीका बद्रीप्रसाद पाण्डे प्रतिनिधि सभा सदस्यका उमेदवार रहेका छन् । भने प्रदेश (क) नेकपा एमालेका बलदेव रेग्मी नेकपा नेकपा माओवादी केन्द्रका कर्ण बहादुर बि.क. एकीकृत समाजवादी पाटीका नरेश शाही उम्मेदवार रहेका छन् । प्रदेश (ख) बाट नेकपा एमालेका लालबहादुर थापा नेपाली काँग्रेसका पदम बहादुर शाही उम्मेदवार रहेका छन् । चुनावलाई सभ्य र भयरहित तरिकाले सम्पन्न गर्ने गरी नेपाल आर्मी, नेपाल प्रहरी, नेपाल सशस्त्र प्रहरी, अनुसन्धान विभाग गरी चारवटा तहका सुरक्षाकर्मीको समेत व्यवस्था गरेको छ, अहिले जिल्ला सबै मतदान केन्द्रमा शान्तिपूर्ण वातावरणमा मतदान भइरहेको प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
नेपाली कांग्रेसका वरिष्ठ नेता पौडेलद्वारा मतदान
प्रदेश र प्रतिनिधि सभाको निर्वाचनका दिन आज नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मतदान गर्नुभएको छ ।
योग्य उम्मेदवार छनाेटका लागि मतदान: निर्वाचन आयुक्त पौड्याल (भिडियो)
आफ्नो मताधिकार प्रयोग गरी योग्य उम्मेदवारलाई छनाेट गर्न निर्वाचन आयुक्त इश्वरप्रसाद पौड्यालले आग्रह गर्नुभएको छ । लोकतन्त्रमा मतदानबाट मात्र नेतृत्व र विधि पद्धतिको चयन हुने भएकाले मतदान प्रमुख भएको भन्दै निर्धक्क भएर योग्य उम्मेदवार छनौट गर्न उहाँले बताउनुभयो ।
अध्यक्ष नेपालद्वारा मतदान
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले रौतहटको रामजानकी कन्या आधारभूत विद्यालय मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।
निर्वाचनले लोकतन्त्रलाई बलियो बनाउँछ : कोइराला
नेपाली कांग्रेसका प्रभावशाली नेता तथा मोरङ क्षेत्र नं. ६ का लोकतान्त्रिक–बाम गठबन्धनका उम्मेदवार डा. शेखर कोइरालाले विराटनगर महानगरपालिका वडा नं. ७ स्थित आदर्श उच्च माविको मतदान केन्द्रबाट मतदान गर्नु भएको छ ।
नेपाली काँग्रेसका उपसभापति गुरुङले गर्नुभयो मतदान
राधाकृष्ण डुम्रेवालिङ, मङ्सिर ४ गते । नेपाली काँग्रेसका उपसभापति तथा स्याङ्जा -२ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार धनराज गुरुङले मतदान गर्नुभएको छ । गुरुङले स्याङ्जाको अर्जुन चौपारी रानीचरी खाल्टेमा रहेको मतदान केन्द्रमा मतदान गर्नुभएको हो । गुरुङले आफैँलाई भने मतदान गर्न पाउनु भएन । उहाँले मतदान गरेको क्षेत्र १ नं हो भने उहाँ २ नम्बरको उम्मेदवार हुनुहुन्छ ।
संविधानसभा अध्यक्ष नेम्बाङद्वारा मतदान
संविधानसभा अध्यक्ष तथा नेकपा (एमाले) उपाध्यक्ष सुवासचन्द्र नेम्बाङले देशमा आर्थिक, सामाजिक, सांस्कृतिक परिवर्तन आवश्यक रहेको बताउनु भएको छ ।
निर्वाचन आयुक्त भण्डारीले गर्नुभयो मतदान
निर्वाचन आयोगका निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले काठमाडौं महानगरपालिकास्थित अनामनगरको मिलन विद्यामन्दिर स्कुल मतदान केन्द्रबाट मतदान गर्नुभएको छ।
लमजुङमा शान्तरुपमा मतदान हुँदै
बेलिना थापालमजुङ, मङ्सिर ४ गते । लमजुङमा प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन २०७९ को मतदान शान्त रूपमा हुँदैछ । आठ स्थानीय तहका एक सय ३० मतदान स्थलका एक सय ८८ मतदान केन्द्रबाट मतदान कार्य भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालले शान्तरूपमा मतदान कार्य भइरहेको बताउनुभयो । लमजुङका सबै मतदान केन्द्रमा मतदान भइरहेको जानकारी प्राप्त भएको उहाँले जानकारी दिनुभयो।लमजुङमा एक लाख ३३ हजार ५ सय ५९ जना मतदाता छन् ।
निर्वाचन आयोगका सचिव दुवाडीले गर्नुभयो मतदान
निर्वाचन आयोगका सचिव गोकर्णमणि दुवाडीले काठमाडौं नागार्जुन वडा नं. २ स्थित रेडमडिल स्कुल मतदान केन्द्रबाट मतदान गर्नुभएको छ।
हेटौँडामा मतदान गर्न मतदाताकाे उत्साहजनक उपस्थिति
मकवानपुरको निर्वाचन क्षेत्र नं २ को हेटौंडा उपमहानगरपालिका वडा नं १ रोपवेस्थित मतदान केन्द्रको चहलपहल ।
मतदानलाई असर पार्ने कार्य निस्तेज, ३४ स्थानमा शङ्कास्पद बस्तुको डिस्पोज
प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनको पूर्व सन्ध्यामा देशभर ३४ वटा शङ्कास्पद वस्तु भेटिएपछि डिस्पोज गरिएको छ । देशका विभिन्न ठाउँमा फेला परेका ३४ शङ्कास्पद वस्तु नेपाली सेनाले डिस्पोज गरेको हो ।
शारीरिकरूपमा अशक्त भएका व्यक्तिहरू मतदान गर्नुहुँदै
काठमाडौं जिल्ला क्षेत्र नं. ५ को जोरपाटी चामुण्डा स्कुलमा शारीरिक रुपमा अशक्त भएका व्यक्तिहरू मतदान गर्नुहुँदै ।
एमाले नेता एवं पूर्व मन्त्री हिक्मत कार्कीद्वारा मतदान
विष्णुप्रसाद पोखरेलदमक, मङ्सिर ४ गते । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं प्रदेश १ का पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले मतदान गर्नुभएको छ । झापाको क्षेत्र नं. ५ (१) बाट प्रदेश सभा सदस्यको उम्मेद्वार रहनुभएका उहाँले गौरादह ३ सूर्योदय आधारभूत विद्यालयको मतदान केन्द्रबाट मतदान गर्नुभएको हो ।
प्रदीप ज्ञवालीले गर्नुभयो मतदान
नेकपा एमालेका उपमहासचिव तथा गुल्मी १ का प्रतिनिधि सभा उम्मेदवार प्रदीपकुमार ज्ञवालीले रुरुक्षेत्र गाउँपालिका ४ को बम्घा निमाबी चौतारा बुथ बाट मतदान गर्नु भएको छ ।
गगन थापाले गर्नुभयो मतदान
नेपाली कांग्रेसका महामन्त्री एवं काठमाडौं क्षेत्र ४ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार गगनकुमार थापाले मतदान गर्नुभएको छ ।
स्याङ्जाको एक मतदान केन्द्रमा मतदान ढिला
राधाकृष्ण डुम्रेवालिङ, मङ्सिर ४ गते । स्याङ्जाको चापाकोट नगरपालिका १० मा रहेको बोटेटार मावि मतदान केन्द्रमा विवादका कारण मतदान ढिला भएको छ। दलीय प्रतिनिधिको विषयमा विवाद बढेपछि मतदानमा ढिलाइ भएको हो । प्रतिनिधिहरूको सम्बन्धमा सहमतिको प्रयास जारी रहेको क्षेत्र नं. २ का निर्वाचन अधिकृत रामचन्द्र शर्माले जानकारी दिनुभयो । शर्माका अनुसार दल तथा स्वतन्त्रका प्रतिनिधिहरू राख्ने विषयमा सहमति नजिक पुगेको र अब छिट्टै मतदान सुरु हुनेछ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन जिल्लाको एक सय ९९ मतदान स्थलभित्र ३ सय २० मतदान केन्द्रमा मतदान केन्द्रमध्ये चापाकोट १० को बोटेटार मतदान केन्द्र बाहेक अन्य ठाउँमा मतदान सुरु भएको छ । यस्तै, कारागारको एक अस्थायी मतदान केन्द्रमा पनि मतदान सुरु भएको छ । सबै मतदान केन्द्रमा सौहार्द रूपमा मतदान सुरु भएको स्याङ्जाका मुख्य निर्वाचन अधिकृत रोमाकान्त ज्ञवालीले जानकारी दिनुभयो । प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको चुनावका लागि स्याङ्जामा दुई लाख ४४ हजार ८९ जना मतदाता रहेका छन् । २०७९ मसिंर ३ गते सम्म १८ वर्ष उमेर पुगेका र मतदाता नामावलीमा नाम भएका व्यक्तिहरूले मतदान गर्न पाउनेछन् ।स्याङ्जा क्षेत्र नं १ मा एक लाख २७ हजार चार सय ११ जना र क्षेत्र नं २ मा एक लाख १६ हजार छ सय ७८ जना मतदाता रहेका छन् । क्षेत्र नं १ (क) मा ६२ हजार पाँच सय ५७ जना र (ख) मा ६४ हजार ८ सय ५४ जना मतादाता रहेका छन् । त्यस्तै क्षेत्र नं २ (क) मा (५४) हजार एक सय ९१ र (ख) मा ६२ हजार चार सय ८७ जना मतदाता रहेका छन् । यता क्षेत्र नं. २ का १५० मतदान केन्द्रमा शान्त रूपमा तोकिएकै समयमा मतदान सुरु भएको क्षेत्र नं. २ का निर्वाचन अधिकृत रामचन्द्र शर्माले जानकारी दिनुभयो ।
सुनिल थापाले गर्नुभयो मतदान
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा धनकुटाबाट प्रतिनिधि सभा सदस्य उमेद्वार सुनिल बहादुर थापाले धनकुटाको राम माबि मुगाबाट मतदान गर्नु भएको छ ।
आज चार्टड उडानमात्र हुँदै
प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनको दिन आज आन्तरिक उडान नहुने भएको छ ।
उत्साहजनक रूपमा मतदान (फोटो फिचर)
आइतबार (आज) प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचन एकैसाथ भइरहेको छ । निर्वाचन बिहान ७ बजेदेखि सुरु भएको निर्वाचन आयुक्त ईश्वरप्रसाद पौडेलले बताउनु भयो ।
गठबन्धनका साझा उम्मेदवार शर्माले गर्नुभयो मतदान
लीलाधर ओलीघोराही, मंङसिर ४ गते । नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य तथा दाङ निर्वाचन क्षेत्र नं २ का गठबन्धनका साझा उम्मेदवार पूर्वमन्त्री रेखा शर्माले मतदान गर्नुभएको छ । शर्माले दाङको घोराही उपमहानगरपालिका १८ रझेना मतदान केन्द्रबाट मतदानमा गर्नुभएको हो । यस्तै, उम्मेदवार शर्मा नेकपा एमालेका महासचिव शङ्कर पोखरेलसँग प्रतिस्पर्धामा हुनुहुन्छ ।
एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलले गर्नुभयो मतदान
नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष एवं काठमाडौं क्षेत्र नम्बर ५ का प्रतिनिधि सभा उम्मेदवार इश्वर पोखरेलले आफ्नो मताधिकार प्रयोग गर्नुभएको छ । काठमाडौंको क्षेत्र नम्बर ५ को टोखा नगरपालिका– ५ बाट उहाँले मतदान गर्नुभएको हो ।