नेत्री अञ्जना बिशंखेद्वारा सतुङ्गल, बोसीगाउँ मतदान केन्द्रबाट मतदान
नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य तथा काठमाडौं निर्वाचन क्षेत्र नं. १० उम्मेदवार नेत्री अञ्जना बिशंखेले चन्द्रागिरि नगरपालिकाकाे वडा नम्बर १० भैरब आधारभूत विद्यालय, सतुंगल, बोसीगाउँ मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।
रेशम चौधरीद्वारा मतदान
नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले जेलबाटै मतदान गर्नुभएको छ ।
नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छेद्वारा मतदान
पाल मजदुर किसान पार्टी (नेमकिपा)का अध्यक्ष नारायणमान बिजुक्छे ले मतदान गर्नुभएकाे छ । भक्तपुर –५ स्थित विद्यार्थी निकेतन मावि केन्द्रबाट उहाँले मतदान गर्नुभएकाे हाे ।
केन्द्रीय कारागारका कैदीबन्दीले गरे मतदान
आठ कैदीबन्दीको मतदाता नामावलीमा नाम रहे पनि सात कैदीबन्दीले मतदान गरिसकेको मतदान अधिकृत ईश्वरीप्रसाद अर्यालले जानकारी दिनुभयो ।
बाजुरामा झडप हुँदा तीन मतदान स्थलमा मतदान कार्य स्थगित
बाजुराको तीन मतदान स्थलमा मतदान कार्य स्थगित भएको छ । बूढीगङ्गा नगरपालिका ९ को त्रिशक्ति मावि ८ को गिरी खेल्ने आधारभूत र बूढीनन्दा नगरपालिका ५ मा रहेको नन्देश्वरी माविको मतदान केन्द्रमा मतदान कार्य स्थगित भएको छ ।
तनहुँमा ११३ वर्षीया ज्येष्ठ नागरिकद्वारा मतदान
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत तनहुँमा ११३ वर्षीया ज्येष्ठ नागरिकले मतदान गर्नुभएकाे छ। जिल्लाको भानु नगरपालिका ५ की गोपीमाया पोख्रेलले सोही वडाको सेपाबगैंचास्थित महादेवता प्राथमिक विद्यालय मतदान केन्द्रबाट मतदान गर्नुभएको हो ।
दक्षिण कोरिया र माल्दिभ्सका निर्वाचन आयुक्तद्वारा मतदान केन्द्रको अवलोकन
माल्दिभ्स र दक्षिण कोरियाका निर्वाचन आयुक्तले काठमाडौंका विभिन्न मतदान केन्द्रमा पुगेर मतदान केन्द्रको अवलोकन गर्नुभएको छ ।
पूर्वप्रधानमन्त्री खनालद्वारा मतदान
उहाँ परिवारसहित केन्द्रमा पुगेर मतदान गर्नुभएको छ । मतदानपछि उहाँले पत्रकारहरूसँग कुरा गर्दै मतदान गर्ने अधिकारबाट कोही वञ्चित हुन नहुने बताउनु भयो ।
रुकुम कारागारमा मतदान सम्पन्न
मुसीकोट नगरपालिका १ रुकुम कारागारमा रहेका कैदीबन्दीले मतदान गरेका छन् । कारागार कार्यालयमा तोकिएको अस्थायी मतदान केन्द्रमा ६४ जना कैदीबन्दीहरुको मत खसेको छ ।
निर्वाचन आयोगले दिउँसो १ बजे पत्रकार सम्मेलन गर्दै
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन जारी रहेको बेला आयोगले आज दिउँसो १ बजे पत्रकार सम्मेलन गर्न लागेको हो ।
निधिले गर्नुभयो मतदान
नेपाली काङ्ग्रेसका नेता तथा पूर्वउपप्रधानमन्त्री बिमलेन्द्र निधिले धनुषाको नगराइन नगरपालिकास्थित राजेश्वर निधि उच्च मावि मतदान केन्द्रमा बिहान मतदान गर्नु भएको छ ।
म्याग्दीमा १०७ वर्षीय वृद्धद्वारा मतदान
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत आइतबार म्याग्दीमा १०७ वर्षीय वृद्धले मतदान गर्नुभएको छ ।
पूर्वमन्त्री मोहनबहादुर बस्नेतद्वारा मतदान
चित्र मिजारसिन्धुपाल्चोक, मंसिर ४ गते । पूर्वमन्त्री एंवम् नेपाली काँग्रेस केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले मतदान गर्नुभएको छ । उहाँले सिन्धुपाल्चोकको निर्वाचन क्षेत्र–१ को बाह्रबिसे नगरपालिका–४ स्थित क्षमादेवी मावि मतदान केन्द्रबाट मतदान गर्नुभएको हो । उहाँ सिन्धुपाल्चोक निर्वाचन क्षेत्र–२ का गठबन्धन उम्मेदवारसमेत हुनुहुन्छ । यस्तै, २०७० साल र २०५६ सालमा निर्वाचन क्षेत्र–१ बाट बस्नेत नेपाली काँग्रेसको तर्फबाट उम्मेदवार भई विजयी हुनुभएको हो । ०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा बस्नेत गठबन्धनबाट निर्वाचन क्षेत्र नं. २ मा उम्मेदवार हुनुहुन्छ भने एमालेबाट शेरबहादुर तामाङ उम्मेदवार हुनुहुन्छ । यो पटकको प्रतिनिधि सभा निर्वाचनमा बस्नेतले आफूलाई मतदान गर्न पाउनुहुन्न । मतदान गर्न क्षमादेवी मावि केन्द्रमा पुग्नुभएका बस्नेतसँग क्षेत्र नं.१ का गठबन्धन उम्मेदवार माधव सापकोटासँगै बस्नेत पनि मतदान केन्द्रमा पुग्नुभएको हो ।
नेताद्वयले गर्नुभयो मतदान
लोकतान्त्रिक समाजवादी पार्टीका नेता तथा सर्लाही २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार राजेन्द्र महतोले मतदान गर्नुभएको छ ।
जनकपुरमा विवाद पछि पुनः मतदान सुरु
प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि मतदान गर्न वृद्ध तथा असक्त मतदातालाई सहयोगीका रूपमा घरपरिवारका सदस्य साथमा गएर मतदान गर्ने सहमति विपरीत मत खसालेपछि विवाद उत्पन्न भएको छ ।
निर्वाचन अवरोधकाे प्रयास विफल
शालिग्राम नेपाल चितवन, मङ्सिर ४ गते । चितवनको निर्वाचन क्षेत्र नं १ राप्ती–८, खिर्कीस्थित ब्रम्हस्थानी विद्यालय मतदान केन्द्रमा विप्लव कार्यकर्ताको मतपेटिका जलाउने प्रयास विफल भएको छ ।निर्वाचन बहिस्कारको घोषणा गरेको विप्लव समूहले पर्खाल नाघेर मतपत्र जलाउने प्रयास गरेका हुन् । केही अराजक समूहले अवरोध गर्न खोजेका थिए अहिले अवस्था सामान्य छ प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले भन्नुभयो । "मतदान गर्नेलाई कुनै समस्या भएको छैन, केही मिनेट मात्रै रोकिएको थियो," उहाँले भन्नुभयो, "म मतदान केन्द्रमै छु अवस्था सामान्य छ ।"मतदान केन्द्रमा करिब ५० जनाको सङ्ख्यामा आएको समूहले मतपेटिका जलाउन प्रयास गरेका थिए । एकछिन मतदान रोकिएको थियो । अहिले मतदान पुनः सुरु भएको छ ।
काभ्रेका सबै मतदान केन्द्रमा मतदान जारी
प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन सुरु भएको छ । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा मतदान गर्नका लागि मतदाताहरू उत्साहित भएर बिहानैदेखि लाइनमा लागेका छन् ।
बाजुराको नन्देश्वरी मतदान केन्द्रमा झडप हुँदा मतदान स्थगित
बाजुराको बूढीनन्दा नगरपालिका ५ मा रहेको नन्देश्वरी माविको मतदान केन्द्रमा मतदान कार्य स्थगित भएको छ ।
कृष्णप्रसाद सिटौलाद्वारा मतदान
सचिन पोखरेलझापा, मंसिर ४ गते । नेपाली काँग्रेसका नेता तथा पूर्व उपप्रधानमन्त्री कृष्णप्रसाद सिटौलाले झापामा मतदान गर्नुभएको छ । प्रतिनिधिसभा सदस्यका लागि झापा क्षेत्र नं ३ बाट गठबन्धनका साझा उम्मेदवारसमेत रहनुभएका काँग्रेस नेता सिटौलाले भद्रपुर नगरपालिका– १० स्थित कलवलगुढी आधारभूत विद्यालयको (क) मतदान केन्द्रबाट मतदान गर्नुभएको हो ।
निर्वाचनमा जित्ने गठबन्धनका उम्मेदवारको दाबी
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले निर्वाचन शानदार ढङ्गले जित्नेमा पूर्ण विश्वास रहेको बताउनुभएको छ ।
परिणाम एमालेको पक्षमा आउँछ : वरिष्ठ उपाध्यक्ष पोखरेल
नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष एवं काठमाडौं क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार ईश्वर पोखरेलले टोखा नगरपालिका वडा नम्बर ६ कार्यालयस्थित धापासी बुथमा मतदान गर्नुभएको छ ।
पाँचथरमा शान्तरुपमा मतदान हुँदै
राधा लुइटेल फिदिम, मङ्सिर ४ गते । पाँचथरका एक सय ७७ वटै मतदान केन्द्रमा मतदान भइरहेको छ । जिल्लाका सबै स्थानमा शान्तिपूर्ण मतदान भइरहेको मुख्य निर्वाचन अधिकृत टिकेन्द्र दाहालले जानकारी दिनुभयो ।यसैबीच जिल्लाबाट प्रतिनिधि सभा सदस्यका लागि नेपाली कांग्रेसका उम्मेदवार भिष्मराज आङदेम्वेले शान्ति बाल विकास मावि र एमालेका वसन्तकुमार नेम्वाङले फिदिम मावि केन्द्रबाट मतदान गर्नुभएको छ । सुखवोध मावि जोरसालमा भने सुत्लीवम विस्फोट भएपछि केही त्रास फैलिएको थियो । तर अहिले शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ ।
डोटीमा तीन प्रतिशत मत खस्यो
केशवचन्द्र महरा दिपायल, मङ्सिर ४ गते । डोटीमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ । जिल्लाका एक सय ७८ वटै मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान प्रक्रिया हुँदै गरेको मुख्य निर्वाचन अधिकृत शिवलाल पाण्डेले जानकारी दिनुभयो ।“शान्तिपूर्ण र भयरहित वातावरणमा मतदाताले मतदान गरिरहेका छन्," उहाँले भन्नुभयो,"कुनै पनि स्थानमा अप्रिय घटना नहुन सुरक्षा व्यवस्था कडा पारिएको छ । अहिलेसम्म जिल्लाका सबै मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान सुरु भएको छ ।"मतदान सुरु भएदेखि ३ घण्टाको अवधिमा ३ प्रतिशत जति मात्रै मत खसेको मुख्य निर्वाचन अधिकृत पाण्डेले बताउनुभयो । बिहानको समय भएका कारण मतदाताहरू कमै मात्रामा मतदान केन्द्रमा पुग्नुभएको छ," उहाँले भन्नुभयो,"यहाँका मतदाता ढिलो गरी मतदान गर्न आउनु हुँदो रहेछ । मतदान केन्द्रमा त्यस्तो भीडभाड देखिँदैन । लाइनमा मतदाता काम देखिन्छन्।"जिल्लाका अति संवेदनशील र संवेदनशील मतदान केन्द्रमा विशेष सुरक्षा व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले बताउनुभयो । हालसम्म जिल्लामा शान्तिपूर्ण रूपमा मतदान भइरहेको उहाँले जानकारी दिनुभयो ।डोटीमा मतदानका लागि एक सय १५ वटा मतदान स्थल र एक वटा अस्थायी मतदान केन्द्रसहित एक सय ७८ वटा मतदान केन्द्र तोकिएको छ । १० वटा मतदान केन्द्रलाई अतिसंवेदनशील केन्द्रका रूपमा छुट्याइएको छ । जिल्ला सुरक्षा समितिले जिल्लाका थप ३० वटा मतदान केन्द्रलाई संवेदनशील र एक सय ३७ मतदान केन्द्रलाई सामान्य मतदान केन्द्रका रूपमा छुट्याएको हो ।
प्रधानमन्त्री देउवाद्वारा मतदान
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डडेल्धुराको गन्यापधुरा– १ रुवाखोला स्थित आसिग्राम माध्यमिक विद्यालयबाट मतदान गर्नुभएको छ ।