• १३ साउन २०८१, आइतबार

रुकुम कारागारमा मतदान सम्पन्न

blog

मतदानका लागि लामबद्ध महिला कैदीबन्दीहरु । तस्विर : राजु लामिछाने

राजु लामिछाने 

रुकुमपश्चिम, मङसिर ४ गते । मुसीकोट नगरपालिका १ रुकुम कारागारमा रहेका कैदीबन्दीले मतदान गरेका छन् । कारागार कार्यालयमा तोकिएको अस्थायी मतदान केन्द्रमा ६४ जना कैदीबन्दीहरुको मत खसेको छ । मतदान अधिकृत लक्ष्मण बिकका अनुसार ६६ जना कैदीबन्दीको नामावली रहेको भएतापनि ६४ जनाको मात्र मत खसेको हो । नामावलीमा नाम समावेश भएकामध्ये दुई जना कैदीबन्दी हाल रुकुम कारागारमा नरहेकोले मत नखसेको हो । 

कारागारमा रहेका कैदीबन्दीहरुले क्रमैसँग शान्तपूर्वक मतदान कार्यमा भाग लिएको मतदान अधिकृत बिकले जानकारी दिनुभयो । उहाँका अनुसार पाँच जना महिला र ५९ जना पुरुष कैदीबन्दीले मत खसालेका छन् ।  

प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले नामावली अनुसार कारागारमा भएका कैदीबन्दीहरुले मतदान सम्पन्न गरेतापनि निर्वाचन आयोगले तोकेको समयानुसार बेलुका पाँच बजेसम्म मतदान केन्द्रको मतपेटिका खुल्लै रहने छ । समय सकिएपछि मात्र बाकस बन्द हुने उहाँले जानकारी दिनुभयो । प्रजिअ घिमिरेले जिल्लाभर शान्तपूर्वक मतदान कार्यभइरहेको बताउनुभयो । जिल्लाभर १३९ मतदान केन्द्र र दुई अस्थायी मतदान केन्द्र रहेका छन् । 

रुकुम कारागारमा रहेका १२४ जना कैदीबन्दी मध्य अन्तिम मतदाता नामावलीमा ६६ जनाको मात्र नाम समावेश रहेको थियो । अस्थायी मतदाताको लागि तोकिएको अवधिभित्र विवरण पेस गरेका कैदीबन्दीहरुले प्रतिनिधिसभाको समानुपातिक तर्फ मतदान गर्न पाउने व्यवस्था रहेको छ ।