केशवचन्द्र महरा
दिपायल, मङ्सिर ४ गते । डोटीमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ । जिल्लाका एक सय ७८ वटै मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान प्रक्रिया हुँदै गरेको मुख्य निर्वाचन अधिकृत शिवलाल पाण्डेले जानकारी दिनुभयो ।
“शान्तिपूर्ण र भयरहित वातावरणमा मतदाताले मतदान गरिरहेका छन्," उहाँले भन्नुभयो,"कुनै पनि स्थानमा अप्रिय घटना नहुन सुरक्षा व्यवस्था कडा पारिएको छ । अहिलेसम्म जिल्लाका सबै मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान सुरु भएको छ ।"
मतदान सुरु भएदेखि ३ घण्टाको अवधिमा ३ प्रतिशत जति मात्रै मत खसेको मुख्य निर्वाचन अधिकृत पाण्डेले बताउनुभयो । बिहानको समय भएका कारण मतदाताहरू कमै मात्रामा मतदान केन्द्रमा पुग्नुभएको छ," उहाँले भन्नुभयो,"यहाँका मतदाता ढिलो गरी मतदान गर्न आउनु हुँदो रहेछ । मतदान केन्द्रमा त्यस्तो भीडभाड देखिँदैन । लाइनमा मतदाता काम देखिन्छन्।"
जिल्लाका अति संवेदनशील र संवेदनशील मतदान केन्द्रमा विशेष सुरक्षा व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले बताउनुभयो । हालसम्म जिल्लामा शान्तिपूर्ण रूपमा मतदान भइरहेको उहाँले जानकारी दिनुभयो ।
डोटीमा मतदानका लागि एक सय १५ वटा मतदान स्थल र एक वटा अस्थायी मतदान केन्द्रसहित एक सय ७८ वटा मतदान केन्द्र तोकिएको छ ।
१० वटा मतदान केन्द्रलाई अतिसंवेदनशील केन्द्रका रूपमा छुट्याइएको छ । जिल्ला सुरक्षा समितिले जिल्लाका थप ३० वटा मतदान केन्द्रलाई संवेदनशील र एक सय ३७ मतदान केन्द्रलाई सामान्य मतदान केन्द्रका रूपमा छुट्याएको हो ।