गोरखापत्र अनलाइन
काठमाडौं, मंसिर ४ गते । नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले मतदान गर्नुभएको छ । मतदानपछि पत्रकारसँग कुरा गर्दै उहाँले यस पटक विगतभन्दा बढी मत खस्ने बताउनुभयो । उपाध्यक्ष पौडेलले गृह जिल्ला रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर २ को बुटवल ८ मा रहेको सडक डिभिजन कार्यालयको मतदान स्थलबाट मतदान गर्नुभएको हो ।
मतदानपछि सञ्चारकर्मीसँग उहाँले मतदानको प्रतिशत विगतभन्दा राम्रो हुने विश्वास व्यक्त गर्नुभयो । मतदाताहरूमा यस वर्ष विगतको तुलनामा धेरै उत्साह रहेको उहाँको बुझाइ छ । निर्वाचनले राजनीतिलाई स्थायित्वतर्फ, अग्रगति र प्रगतितर्फ लैजाने उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘मतदानको प्रतिशत विगतको भन्दा राम्रो हुन्छ, मतदाताहरूमा उत्साह देखिएको छ ।’ निर्वाचनपछि देशको राजनीति स्थायित्वतर्फ जाने उहाँले विश्वास व्यक्त गर्नुभयो । उपाध्यक्ष पौडेलले यो निर्वाचनबाट एमालेको विजय हुने बताउनुभयो ।