• १२ साउन २०८१, शनिबार

सञ्चारमन्त्री कार्की र पूर्व मुख्यमन्त्री आचार्यद्वारा मतदान

blog

जयकृष्ण यादव 

इनरुवा, मंसिर ४ गते । सञ्चार तथा सूचना प्रविधि एवम् कानुन मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सुनसरीको वराहक्षेत्र नगरपालिका १० प्रकाशपुरको भगवती आधारभूत विद्यालयमा मतदान गर्नुभएको छ ।

उहाँले आफ्नै मतदान केन्द्रमा पुगेर मतदान गर्नुभएको हो । मतदानपछि उहाँले सञ्चारकर्मीहरूसँग कुराकानी गर्नुहुँदै मतदान गर्ने नागरिकको मौलिक अधिकार भएकाले सबैले यसको उपयोग गर्नुपर्ने बताउनुभयो ।

मन्त्री कार्कीले मताधिकारबाट कोही पनि वञ्चित हुन नहुने भएकाले यसको पूर्ण उपयोग गर्नुपर्ने बताउनुभयो ।

उहाँले देशमा विकास र जनताको भावनाको कदर गर्न गठबन्धनको आवश्यकता रहेको र निर्वाचनपछि गठबन्धनकै सरकार बन्ने बताउनुभयो ।

कार्की सुनसरी निर्वाचन क्षेत्र नं. ४ प्रतिनिधि सभा सदस्यका उम्मेदवार हुनुहुन्छ । 

उता, पूर्व मुख्यमन्त्री भीमप्रसाद आचार्यले इनरुवा नगरपालिका–६ मधेशको जनता माध्यमिक विद्यालय मतदान केन्द्रमा मतदान गर्नुभएको छ । उहाँले आफ्नै गाउँको मतदान  केन्द्रमा पुगेर मतदान गर्नुभएको हो ।

आचार्यले देशको विकास र समृद्धिको नारालाई सार्थक पार्न निर्वाचनपछि एमाले नेतृत्वको सरकार बन्ने दाबी गर्नुभयो । आचार्य सुनसरी निर्वाचन क्षेत्र नं. २ प्रतिनिधि सभा सदस्यका उम्मेदवार हुनुहुन्छ ।