• ११ मंसिर २०८१, मङ्गलबार

मध्याह्नसम्म ३२ प्रतिशत मतदान : आयोग

blog

निर्वाचन आयोगद्वारा आयोजित पत्रकार सम्मेलन । तस्बिर : केशब गुरुङ

काठमाडौं, मङ्सिर ४ गते । निर्वाचन आयोगले आइतबार मध्याह्नसम्म ३२ प्रतिशत मतदान भएको जनाएको छ । आयोगले आइतबार दिउँसो पत्रकार सम्मेलन गरी आइतबार मध्याह्न १२ः४५ बजेसम्म ३२ प्रतिशत मतदान भएको जनाएको हो ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आइतबार भइरहेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन शान्तिपूर्ण र उत्साहपूर्व भइरहेको जानकारी दिनुभयो ।

उहाँले पत्रकार सम्मेलनमार्फत प्रवक्ता शर्माका अनुसार केही स्थानमा छिटपुट घटना भए पनि देशभर शान्तिपूर्ण र उत्साहपूर्वक मतदान भइरहेको छ ।

सामान्य विवादका कारण केही समय रोकिएका मतदान केन्द्रमा पुनः मतदान भइसकेको छ भने केही मतदान केन्द्रमा पुनः सुरु गर्न राजनीतिक दल एवम् उम्मेदवारहरुबीच छलफल भइरहेको जानकारी उहाँले दिनुभयो ।

प्रवक्ता शर्माका अनुसार सुखेतको दुई, पाल्पाको दुई, झापाको एक, पोखराको एक र पर्वतको एक मतदान स्थलमा विवादपछि पुनः मतदान सुरु भएको छ ।

उहाँले बाजुराको ६–७ मतदान स्थानमा सामान्य समस्या भएको जानकारी दिनुभयो । त्यसमध्ये एक–दुई मतदान स्थानमा मतदान सुरु भएको छ भने बाँकी ठाउँमा छलफल जारी रहेको जानकारी दिनुभयो ।

यसैगरी, प्रवक्ता शर्माले आजै रातिबाट मतगणना सुरु हुने बताउनुभयो । मतगणनाको मुचुल्का उठाएपछि जिल्ला निर्वाचन अधिकृत र राजनीतिक दलका उम्मेदवारहरु बीच छलफल हुने उहाँले बताउनुभयो ।

त्यस्तै, उहाँले मतदान केन्द्रमा भएको सामान्य विवादको कारण केही समय स्थगन भएको मतदान कार्य सुचारु गर्ने र साँझ ५ बजेसम्म स्थगित भएको सूचना टाँस नगर्न निर्वाचन आयोगले सबै मतदान अधिकृतहरूलाई निर्देशन दिएको जानकारी दिनुभयो ।

आयोगले मतदान गर्ने क्रममा मतदाता नामावलीमा नाम नभेटिए निःशुल्क टोल फ्री नम्बर ११०२ मा सम्पर्क गर्न आग्रह गरेको पनि उहाँले बताउनुभयो ।