• २३ असार २०८२, सोमबार

ठेकेदारको बदमासीले ३१ प्रतिशत घरधुरी अझै विद्युतविहीन

blog

क्याप्शनः सल्यानमा विद्युतीकरणका लागि झारेका पोल । तस्बिर: शङ्कर केसी

शङ्कर केसी,

सल्यान,  असार २३ गते । सल्यानमा अझै पनि ३१ प्रतिशत घरधुरी विद्युत् सेवाको पहुँचबाट वञ्चीत रहेका छन् । विद्युत् विस्तारका लागि योजना सुरु भएता पनि सम्बन्धित निर्माण कम्पनीले समयमै काम नगर्दा अझै पनि ३१ प्रतिशत घरधुरीका नागरिकहरू विद्युत् सेवाबाट वञ्चित हुनु परेको हो ।

विशेष गरेर कालीमाटी गाउँपालिका र बनगाड कुपिण्डे नगरपालिकामा विद्युतीकरणको धेर्रै काम बाँकी रहेको नेपाल विद्युत् प्राधिकरण सल्यानका प्रमुख दिनेश पौडेलले जानकारी दिनुभयो ।

यसबिचमा जिल्लामा विद्युत् विस्तार कार्यमा भइरहेको ढिलासुस्तीका सन्दर्भमा जिम्मेवार निकाय एवं सरोकारवालाहरूको बैठक बसी विभिन्न निर्णय गरिएको छ । जिल्ला समन्वय समिति सल्यानको अग्रसरतामा बसेको बैठकले जिल्लाको विद्युत् विस्तारसम्बन्धी योजना कार्यान्वयनको अवस्था मूल्याङ्कन तथा समाधानका उपायहरू तय गरेको छ भने पूर्ण विद्युतीकरणको सम्झौता अवधि आगामी कार्तिक २९ भित्र विद्युतीकरणको कार्य सम्पन्न गर्न निर्देशन दिएको हो । २०७८ साल असोजमा महाशक्ति क्रिस्टल जेभीसँग १३ करोड बराबरको लागतमा गरिएको विद्युतिकरण सम्बन्धी ठेक्का सम्झौता अनुसार १८ महिनाको म्याद सकिएपछि थप गरिएको म्याद २०८२ कात्तिक २९ गतेसम्म छ । उक्त म्यादभित्रै सम्पूर्ण कार्य सम्पन्न गर्न बैठकले निर्देशन दिएको जिल्ला समन्वय समिति सल्यानका प्रमुख बेलाराम रावलले जानकारी दिनुभयो ।  

जस अनुसार जिल्लाको पूर्ण विद्युतिकरण तथा बाँकी रहेका टोल, बस्ती र वडाहरूमा विद्युत् पहुँच विस्तार गर्न सम्बन्धित निकायहरूलाई कार्य योजना सहित फिल्डमा खटाउने सहमति भएको छ । नेपाल विद्युत् प्राधिकरण र ठेकेदार कम्पनीको संयुक्त टोली फिल्डमा खटिनेछन् भने विद्युतीकरणको काममा सबै स्थानीय तहहरूले आवश्यक सहकार्य तथा सहजीकरण गर्नेछन् ।

सल्यानका दश वटै पालिकाका प्रमुख तथा प्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, विद्युत् प्राधिकरणका निर्देशक र प्रमुख, महाशक्ति क्रिस्टल जेभीका प्रतिनिधि तथा पत्रकारहरूको समेत सहभागिता रहेको थियो ।

बैठकले पूर्ण विद्युतिकरणले नसमेटेका कुमाख, दार्मा, बागचौर, सिद्ध कुमाख, शारदा, कपुरकोट, छत्रेश्वरी र त्रिवेणी गाउँपालिकाका टोल, बस्ती र वडामा कर्णाली प्रदेश विद्युतिकरण आयोजना तुरुन्तै सुरु गरिने निर्णय भएको दार्मा गाउँपालिका अध्यक्ष निम बहादुर केसीले बताउनुभयो ।

त्रिवेणी र छत्रेश्वरी गाउँपालिकामा अपुरो रहेको सामुदायिक विद्युतिकरणको काम नेपाल विद्युत् प्राधिकरणले तत्काल सम्पन्न गर्नेछ । त्यसै गरी पूर्ण र सामुदायिक विद्युतिकरणले नछोएका बनगाड कुपिण्डे नगरपालिका र कालीमाटी गाउँपालिकामा पनि विद्युत् विस्तार कार्य सुरु गरिनेछ । नेपाल विद्युत् प्राधिकरण केन्द्रीय कार्यालयबाट एआईआईबी परियोजना अन्तर्गत बनगाड कुपिण्डे नगरपालिका र कालीमाटी गाउँपालिकाका लागि विद्युतिकरण कार्यक्रम सञ्चालन भइरहेको जनाइएको छ ।

वनगाड कुपिण्डे नगरपालिका प्रमुख कर्णबहादुर बुढाथोकीले पूर्ण विद्युतिकरणको जिम्मेवारी लिएको निर्माण कम्पनीको लापरवाहीकाे काममा ढिलाइ भएकाले विद्युतिकरणमा समस्या भएको बताउनुभयो । नेपाल विद्युत् प्राधिकरण प्रदेश निर्देशनालयका निर्देशक शशीभूषण शाहले तोकिएकै समयमा विद्युतिकरणको कार्य पुरा गर्ने गरी आवश्यक व्यवस्था मिलाइने बताउनुभएको छ ।

विद्युतिकरणको जिम्मेवारी पाएको महाशक्ति क्रिस्टल जेभीका प्रतिनिधि लीलबहादुर दर्लामीले थपिएको समयावधिमा कार्य सम्पन्न गर्ने गरी आफूहरू लागेको र आउँदो कार्तिक २९ गते सम्म विद्युतिकरणको काम सक्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।