सर्लाही क्षेत्र नं ३ मा माओवादी केन्द्रकाे अग्रता
प्रतिनिधिसभा सदस्यकाे लागि सर्लाही क्षेत्र नं ३ मा नेकपा (माओवादी केन्द्र)ले अग्रता लिएकाे छ ।
लिमीका मतपेटिका हेलिकोप्टरबाट ओसारियो
नाम्खा गाउँपालिका–६ को हिमालपारिको गाउँका मतपेटिका हेलिकोप्टरमार्फत ढुवानी गरिएको छ । लिमी जाने दुई वटै नाकामा बाक्लो हिउँ जमेर बन्द लिमीका तीन वटै मतदान केन्द्रका मतपेटिका हेलिकोप्टरबाट ढुवानी गरिएको हो ।
काठमाडौं–५ मा मतगणना सुरु (फोटो फिचर)
काठमाडौं क्षेत्र नम्बर ५ को मतगणना सुरु भएको छ । टोखा नगरपालिकाको कार्यालयमा सोमबार दिउँसोबाट मतगणना थालिएको हो ।
कैलाली–१ मा नागरिक उन्मुक्तिलाई सुरुवाती अग्रता
प्रतिनिधि सभा सदस्य कैलाली क्षेत्र नम्बर १ को मतगणना सुरु भएको छ । सोमबार दिउसो २ः०० बजेसम्म भएको ६०० मत गणनामा नागरिक उन्मुक्ति पार्टीको ढकियालाई २६९ मत आएको छ ।
गुल्मी –२ मा ४ बजेदेखि मतगणना सुरु हुने
आइतबार सम्पन्न प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनको मतगणना गुल्मी क्षेत्र नं २ मा दिउँसो ४ बजेदेखि गरिने भएको छ । जिल्ला प्रशासन कार्यालयको सभाहलमा मुख्य निर्वाचन अधिकृत वसन्तराज पौडेलको संयोजकत्वमा बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकले यस क्षेत्रको मतगणना दिउँसो ४ बजेदेखि गरिने निर्णय गरेको हो ।
विजयी सुरुआतसँगै चर्चामा योगेश
यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा विजयी सुरुआत गरेको नेपाली कांगेसको उम्मेदवार हुनुहुन्छ, योगेश गौचन थकाली । उहाँले नेकपा (एमाले)का उम्मेदवार प्रेमप्रसाद तुलाचनलाई पराजित गर्दै सङ्घीय संसद्को यात्रा तय गर्नुभएको हो ।
सल्यानमा मतगणना सुरु
सल्यानमा मतगणना सुरु भएको छ । दिउँसो १ः १५ बजेदेखि मतगणना सुरु भएको हो । एक प्रतिनिधि सभा र दुई प्रदेश सभा रहेको सल्यानमा एकै पटक संघ र प्रदेशको मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय सल्यानले जनाएको छ ।
काठमाडौं–९ मा एमालेलाई अग्रता
काठमाडौँ क्षेत्र नं ९ मा प्रतिनिधिसभा सदस्यका लागि नेकपा (एमाले) का कृष्णगोपाल श्रेष्ठ पाँच सय ६४ मतसहित अग्रता लिनुभएको छ
प्रमुख आयुक्तसँग जापानी परराष्ट्र राज्यमन्त्रीको शिष्टाचार भेटवार्ता
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको अवलोकनका लागि नेपाल आउनुभएका जापानका परराष्ट्र राज्यमन्त्री ताकेइ शुनसुकेले निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्तसँग शिष्टाचार भेट गर्नुभएको छ ।
काठमाडाैं १० मा काँग्रेसका राजन केसीकाे अग्रता
सत्ता गठबन्धन दलको मैत्रीपूर्ण प्रतिस्पर्धा रहेको काठमाडौं क्षेत्र नम्बर १० को चुनावी ताजा नतिजा अनुसार नेपाली काँग्रेसका उम्मेदवार राजन केसीले एकहजार ७७ मत प्राप्त गर्नुभएको छ । चौथौँ पटक चुनावी प्रतिस्पर्धामा रहनुभएका उहाँले तेस्रो पटक विजयी हुने दौडमा हुनुहुन्छ ।
काठमाडौं–१ मा प्रकाशमान सिंहको अग्रता
काठमाडौं क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहले अग्रता लिनुभएको छ । प्रारम्भिक मतगणना अनुसार तीन हजार १८९ मतगणना हुँदा सिंहको अग्रता देखिएको हो ।
सल्यानमा मतगणना ढिला
प्रतीक इच्छुक शर्मा सल्यान,मङ्सिर ५ गते । सल्यानमा ११ बजेबाट मतगणना सुरु हुने भनिएपनि अहिलेसम्म मतगणना हुन सकेको छैन । व्यवस्थापनमा समय लागेको कारण सल्यानमा मतगणना ढिला भएको हो । जिल्लाका २०५ मतदान केन्द्रबाट जिल्लाको मुख्य निर्वाचनको कार्यालयमा आइतबार राति ३ बजेसम्म मतपेटीका आइसकेको थियो । यस्तै, मतगणनाको लागि सोमबार बिहान ८ बजे सर्वदलीय बैठकसमेत बसेको थियो । तयारी नपुगेकाले मतगणनामा ढिलाइ भएको मुख्य निर्वाचन अधिकृत गिरीराज गौतमले बताउनुभयो । उहाँका अनुसार जतिसक्दो छिटो मतगणनाको लागि तयारीका काम भइरहेको छ र अबको आधा घण्टा भित्र मतगणना सुरु हुनेछ । मतगणनाको लागि सदरमुकामस्थित मुख्य निर्वाचन कार्यालय परिसरमा सुरक्षा कडा पारिएको प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले जानकारी दिनुभयो ।यस्तै, सल्यानमा ५३ दशमलव २७ प्रतिशत मत खसेको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार पुरुष ४० हजार २१ र महिला ४४ हजार १ गरी ८४ हजार २२ मत खसेको छ । एक प्रतिनिधि र २ प्रदेश सभा रहेको सल्यानमा १ लाख ५७ हजार ७ सय १ मतदाता रहेका छन् । र प्रदेश सभा (क) मा ७८ हजार ६ सय ६८ र प्रदेश सभा (ख) मा ७९ हजार ३३ मतदाता रहेका छन् ।
काठमाडौं–४ मा गगन थापाको सुरुवाती अग्रता
काठमाडौं–४ मा नेपाली कांग्रेसका गगन थापाले सुरुवाती अग्रता लिनुभएको छ ।
काठमाडौं–८ मा राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता
काठमाडौं–८ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विराजभक्त श्रेष्ठ ६०७ मत पाउनुभएको छ ।
तनहुँ-१ मा २ बजेबाट मतगणना सुरु हुने
अमरराज नहर्कीतनहुँ, मङ्सिर ५ गते । तनहुँमा मतगणनाका लागि सर्वपक्षीय बैठक सकिएको छ । बैठकले आज दिउँसो २ बजेबाट मतगणना गर्ने सहमति गरेको जिल्ला निर्वाचन कार्यालय तनहुँमा प्रमुख हरिप्रसाद ढकालले जानकारी दिनुभयो । आइतबार मध्यरातसम्म मतपेटिका ल्याउन समय लागेकोले आज बिहान मात्रै सर्वपक्षीय बैठक बसेको उहाँले बताउनुभयो । तनहुँ–१ को मतगणना दिउँसो २ बजे सुरु गरिने भएपनि तनहुँ-२ को मतगणना भने दिउँसो १२ः३० बजेबाट सुरु गरिने ढकालले जानकारी दिनुभयो । यसपटक तनहुँमामा ५५ प्रतिशत मत खसेको छ । जिल्लामा दुई लाख ४८ हजार ४९५ मतदाता मध्ये सो प्रतिशतमा मत खसेको ढकाल बताउनुहुन्छ । २ प्रतिनिधिसभा सदस्य र ४ प्रदेशसभा सदस्य निर्वाचनका लागि तनहुँबाट विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी ५७ जनाले उम्मेदवारी मनोनयन दर्ता गरी चुनावी मैदानमा उत्रिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मतगणना स्थल सुरक्षाको लागि तारजाली र सिसी क्यामराजिल्लामा सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै मतगणना स्थलमा तारजाली राख्नुका साथै सिसी क्यामेरा सहितको अन्य सुरक्षा प्रबन्ध मिलाइएको छ । जिल्ला समन्वय समितिको सभाहलभित्र तयार पारिएको मतगणनास्थलमा तारजाली र मतपेटिका राख्ने ठाउँमा सिसिटिभी क्यामरा जडान गर्नुका साथै बत्ती गएको समयमा बत्तीको व्याकअपको व्यवस्थासमेत गरिएको छ । मतगणना स्थलमा दलका उम्मेदवार/प्रतिनिधिलाई बस्ने व्यवस्था तारजालीभन्दा बाहिर बनाइएको छ । मतगणनाका लागि चारवटा कोठा व्यवस्थापन गरिएको जिल्ला न्यायाधीश एवं मुख्य निर्वाचन अधिकृत दलबहादुर केसीले जानकारी दिनुभयो । यसका अतिरिक्त मतगणना स्थल जिल्ला समन्वय समितिको भवनलाई नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले समेत सुरक्षा मिलाइएको छ । प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालले मतगणना हुने बेला सुरक्षा चुनौती थपिने भन्दै सुरक्षाका सबैखाले मापदण्ड अपनाइएको बताउनुभयो । "मतगणना निकै संवेदनशील हुने भएकाले मतपेटिकालाई सुरक्षित राख्नुपर्छ, कुनै पनि घटना हुन नदिनु हाम्रो कर्तव्य हो", प्रजिअ अर्यालले भन्नुभयो ।
पश्चिम नवलपरासीमा १ बजेबाट मतगणना सुरु गरिने
गोपी ज्ञवाली नवलपरासी, मङस्रि ५ गते । पश्चिम नवलपरासीमा दिउँसो एक बजेबाट मतगणना सुरु हुने भएको छ । नवलपरासी सङ्घीय क्षेत्र नम्बर १ को मतगणना बर्दघाट नगरपालिकाको सभाहलमा र २ को मतगणना रामग्राम नगरपालिकाको सभाहलमा एक बजेदेखी सुरु हुने जिल्ला निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत प्रेम पौडेलले जानकारी दिनुभयो । मतगणनाका लागि दुई वटै मतगणना स्थलमा सुरक्षाको लागि भन्दै तारजाली, सिसी क्यामरा, रातीको समयमा उज्यालोका लागि विद्युतीउपकरणसहित सुरक्षाकर्मीको समेत व्यवस्था गरिएको छ । नवलपरासीको क्षेत्र नं १ मा ८० हजार ५३० र क्षेत्र नम्बर २ मा ८८ हजार ५२३ गरी जम्मा १ लाख ६९ हजार ५३ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ ।
स्याङ्जामा सबा १ बजेबाट मतगणना हुने
दुई निर्वाचन क्षेत्र रहेको स्याङजाको क्षेत्र नं १ मा दिउँसो सबा १ बजेबाट मतगणना हुने छ । सर्वदलीय तथा सर्वपक्षीय बैठकले मतगणना गर्ने समय तय भएको हो । मतगणना एकै पटक प्रत्यक्ष र समानुपातिक गणना हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
मुस्ताङबाट कांग्रेसले खाता खोल्यो, गौचन विजयी
नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार २९ वर्षीय योगेश गौचन थकाली मुस्ताङबाट विजयी हुनुभएको छ । यो विजयीसँगै नेपाली कांग्रेसले जितको खाता खोलेको हो ।
सप्तरी २ मा डा. सिकेको अग्रता
सप्तरी प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं २ को मतगणना जारी छ। सोमबार बिहानदेखि मतगणना सुरु भएको हो । अहिलेसम्म जनमत पार्टीका उमेदवार डा. सिके राउतले ६२९ मत प्राप्त गरी अग्रता लिएको छ।
धनुषा क्षेत्र नम्बर ३ मा एमालेको अग्रता
धनुषा जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ को प्रतिनिधिसभा प्रत्यक्ष तर्फको जम्मा १३७१ मतगणना हुँदा एमाले (सूर्य छाप)को अग्रता देखिएको छ ।
मुस्ताङमा काँग्रेस जित नजिक
मुस्ताङमा प्रतिनिधि सभा सदस्यमा काँग्रेसका उम्मेदवार योगेश गौचन थकाली जितकाे नजिक पुग्नुभएको छ । एक हजार ४३७ मत गणना गर्न बाँकी रहँदा काँग्रेसको ६३५ ले अग्रता कायम गरेको छ ।
प्युठानमा मतपेटिकाको सिल तोडिएपछि गणनामा हुन सकेन
प्युठान नौबहिनी बराह माध्यमिक विद्यालय मतदान केन्द्र झिम्पको मतपेटिकाको सिल ताडिएको भेटिएपछि मतगणना रोकिएको छ । उम्मेदवारहरूले विरोध जनाएपछि सर्वदलीय बैठक बस्न नसकेपछि गणना सुरु हुन नकसेको हो ।
मकवानपुरमा १० स्थानबाट मतगणना
मकवानपुरमा १० स्थानबाट मतगणना सुरु गर्ने तयारी थालेको छ । बिहान ११ बजेदेखि प्रतिनिधि तथा प्रदेश सभा सदस्यको प्राप्त मतगणना गरिने मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौलाले जानकारी दिनुभयो ।
बाँके ३ मा एमाले अगाडि
बाँकेमा बिहानैदेखि मतगणना सुरु भएको छ । पछिल्लो मत परिणाम अनुसार नेकपा (एमाले)को अग्रता छ । बाँके क्षेत्र नं.३ मा प्रतिनिधि सभा सदस्यका लागि एक हजार २४८ मत गणना हुँदा एमालेका किस्मत कक्षपतिले छ सय र कांग्रेसका किशोरसिंह राठोरले चार सय मत प्राप्त गर्नुभएको छ ।