• १३ साउन २०८१, आइतबार

सल्यानमा मतगणना सुरु

blog

मुख्य निर्वाचन कार्यालय सल्यानमा मतगणना सुरु भएपछि गणनामा सहभागी प्रतिनिधिहरु । तस्बिर : प्रतीक इच्छुक शर्मा

प्रतीक इच्छुक शर्मा

सल्यान, मङ्सिर ५ गते । सल्यानमा मतगणना सुरु भएको छ । दिउँसो १ः १५ बजेदेखि मतगणना सुरु भएको हो ।  एक प्रतिनिधि सभा र दुई प्रदेश सभा रहेको सल्यानमा एकै पटक सङ्घ र प्रदेशको मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय सल्यानले जनाएको छ । 

मुख्य निर्वाचन अधिकृत गिरिराज गौतमले जिल्लाका १० स्थानीय तहमध्ये कालिमाटी गाउँपालिका र कुमाख गाउँपालिकाबाट मतगणना सुरु गरिएको बताउनुभयो । उहाँका अनुसार बिहान ११ बजे मतगणना हुने भनिए पनि प्राविधिक कारणले ढिलाइ भएको हो । मतगणना सङ्घ र प्रदेशको गरी चार स्थानमा भैरहेको छ । छिटो नतिजा सार्वजनिक गर्न पनि एकै पटक मतगणना सुरु गरिएको छ ।

जिल्लामा २ सय ५ मतदान केन्द्रबाट जिल्लाको सदरमुकामस्थित मुख्य निर्वाचन कार्यालयमा आइतबार राति ३ बजेसम्म मतपेटिका आइसकेको थियो । मतगणनाका लागि सोमबार बिहान ८ बजे सर्वदलीय बैठक बसेको थियो । 

मतगणनाका लागि सदरमुकामस्थित मुख्य निर्वाचन कार्यालय परिसरमा सुरक्षा कडा पारिएको प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले बताउनुभयो । उहाँका अनुसार मतदान स्थलको सुरक्षा व्यवस्थाका लागि आवश्यक भित्री र बाहिरी सुरक्षा प्रबन्ध मिलाइएको छ । मतगणना स्थलमा तारजाली र सिसीक्यामरा जडान गरिएको छ । 

यसैबीच मतगनना ११ बजे सुरु हुने भनेपछि जिल्लाको सदरमुकाममा पार्टीका कार्यकर्ताको भिड लाग्न थालेको छ । जसका कारण चहलपहल बढेको छ । सल्यानमा भएको प्रतिनिधि सभा र प्रदेस सभा निर्वाचनमा कुल मतदाता १ लाख ५७ हजार ७ सय १ रहेको सल्यानमा ८४ हजार २२ ले मतदान गरेका थिए । यो कुल मतदाता सङ्ख्याको ५३.२३ प्रतिशत मात्र हो ।