• १३ साउन २०८१, आइतबार

लिमीका मतपेटिका हेलिकोप्टरबाट ओसारियो

blog

लिमीका मतपेटिका हेलिकोप्टरबाट ढुवानी गरेर सिमकोट विमानस्थलदेखि मुख्यनिर्वाचन अधिकृतको कार्यालयमा लगिँदै । तस्बिर : राजन रावत

राजन रावत

हुम्ला, मङ्सिर ५ गते । नाम्खा गाउँपालिका–६ को हिमालपारिको गाउँका मतपेटिका हेलिकोप्टरमार्फत ढुवानी गरिएको छ । लिमी जाने दुई वटै नाकामा बाक्लो हिउँ जमेर बन्द लिमीका तीन वटै मतदान केन्द्रका मतपेटिका हेलिकोप्टरबाट ढुवानी गरिएको हो ।  

जिल्ला सुरक्षा समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी सीता परियारले लिमीका तीन वटै मतदान केन्द्रका मतपेटिका हेलिकोप्टरबाट ढुवानी गर्ने काम भएको बताउनुभयो । सोमबार नेपाली सेनाको एमआई–१७ हेलिकोप्टरमार्फत मतपेटिका, सामग्री र १३ जना कर्मचारी तथा सुरक्षाकर्मी ओसार्ने काम भएको बताउनुभयो ।

निमित्त निर्वाचन अधिकारी श्यामबहादुर रानाले लिमीका तीन मतदान केन्द्रहरूमध्ये तीलमा १११ मत भएकोमा ७४, हल्जीमा २२७ मतदाता भएको १६५ र जाङ्गमा २०४ जना मतदाता रहेकोमा एक सय मत खसेको बताउनुभयो । 

लिमीका तीन वटै मतदान केन्द्रगरी ५४१ मतदाता रहेकामा ३३९ मत खसेको थियो । लिमीको मतदान कार्यका लागि खटिएका बाँकी ५१ जना कर्मचारी र सुरक्षाकर्मी भने लिमीमै रहनुभएको छ । उहाँहरूलाई मङ्गलबार मात्र हेलिकोप्टरबाट ल्याइनेछ । यसअघि कात्तिक २९ र ३० गते गरी पाँच वटा उडानबाट लिमीका मतदान केन्द्रमा खुटिनु भएका कर्मचारी, सुरक्षाकर्मी र मतदान सामग्री ढुवानी गरिएको थियो । 

लिमीमा भृकुटी प्रावि जाङ, सुनखानी प्रावि हल्जी र हिमशिखर प्रावि तील मतदान केन्द्र रहेका थिए । लिमी जाने चार हजार छ सय मिटर अग्लो नारा र पाँच हजार मिटर अग्लो न्यालु लेकमा चारदेखि पाँच फिट हिउँ जमेर बाटो बन्द हुँदा पैदल मार्गबाट लिमी आउजाउ बन्द भएको छ ।