• ११ मंसिर २०८१, मङ्गलबार

तनहुँ-१ मा २ बजेबाट मतगणना सुरु हुने

blog

तनहुँमा तारजाली र सिसी क्यामेरा सहितको तयार पारि राखिएको मतगणना स्थल । तस्बिर : अमरराज नहर्की ।

अमरराज नहर्की

तनहुँ, मङ्सिर ५ गते । तनहुँमा मतगणनाका लागि सर्वपक्षीय बैठक सकिएको छ । बैठकले आज दिउँसो २ बजेबाट मतगणना गर्ने सहमति गरेको जिल्ला निर्वाचन कार्यालय तनहुँमा प्रमुख हरिप्रसाद ढकालले जानकारी दिनुभयो  । 

आइतबार मध्यरातसम्म मतपेटिका ल्याउन समय लागेकोले आज बिहान मात्रै सर्वपक्षीय बैठक बसेको उहाँले बताउनुभयो  । तनहुँ–१ को मतगणना दिउँसो २ बजे सुरु गरिने भएपनि तनहुँ-२ को मतगणना भने दिउँसो १२ः३० बजेबाट सुरु गरिने ढकालले जानकारी दिनुभयो । 

यसपटक तनहुँमामा ५५ प्रतिशत मत खसेको छ । जिल्लामा दुई लाख ४८ हजार ४९५ मतदाता मध्ये सो प्रतिशतमा मत खसेको ढकाल बताउनुहुन्छ । २ प्रतिनिधिसभा सदस्य र ४ प्रदेशसभा सदस्य निर्वाचनका लागि तनहुँबाट विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी ५७ जनाले उम्मेदवारी मनोनयन दर्ता गरी चुनावी मैदानमा उत्रिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

मतगणना स्थल सुरक्षाको लागि तारजाली र सिसी क्यामरा

जिल्लामा सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै मतगणना स्थलमा तारजाली राख्नुका साथै सिसी क्यामेरा सहितको अन्य सुरक्षा प्रबन्ध मिलाइएको छ । जिल्ला समन्वय समितिको सभाहलभित्र तयार पारिएको मतगणनास्थलमा तारजाली र मतपेटिका राख्ने ठाउँमा सिसिटिभी क्यामरा जडान गर्नुका साथै बत्ती गएको समयमा बत्तीको व्याकअपको व्यवस्थासमेत गरिएको छ । 

मतगणना स्थलमा दलका उम्मेदवार/प्रतिनिधिलाई बस्ने व्यवस्था तारजालीभन्दा बाहिर बनाइएको छ । मतगणनाका लागि चारवटा कोठा व्यवस्थापन गरिएको जिल्ला न्यायाधीश एवं मुख्य निर्वाचन अधिकृत दलबहादुर केसीले जानकारी दिनुभयो । 

यसका अतिरिक्त मतगणना स्थल जिल्ला समन्वय समितिको भवनलाई नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले समेत सुरक्षा मिलाइएको छ । प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालले मतगणना हुने बेला सुरक्षा चुनौती थपिने भन्दै सुरक्षाका सबैखाले मापदण्ड अपनाइएको बताउनुभयो । 

"मतगणना निकै संवेदनशील हुने भएकाले मतपेटिकालाई सुरक्षित राख्नुपर्छ, कुनै पनि घटना हुन नदिनु हाम्रो कर्तव्य हो", प्रजिअ अर्यालले भन्नुभयो ।