फडिन्द्र अधिकारी
लेखनाथ, असार २२ गते । शिक्षा आर्जनका लागि प्रतिबन्धित राणाकाल हुँदै सङ्घीय लोकतान्त्रिक गणतन्त्रसम्म आइपुग्दा नेपालको शिक्षा प्रणाली र विकासमा ठुलो परिवर्तन भएको छ । राजधानी काठमाडौँ मात्र नभई पोखरा, विराटनगर, चितवन, बुटवल जस्ता सहरसमेत शैक्षिक केन्द्र बनेका छन् ।
पहिले पश्चिमाञ्चल विकास क्षेत्रको केन्द्र अहिले गण्डकी प्रदेशको राजधानी पोखराको व्यवस्थित शैक्षिक यात्रा खोज्दा विसं १९५८ पुग्नुपर्छ । त्योबेला राणा प्रधानमन्त्री देवशमशेरका पालामा खोलिएको भाषा पाठशाला यहाँको पहिलो औपचारिक स्कुल थियो । सात दशक पुरानो त्यो विरासत लिएर अहिले भीमकाली पाटनमा संस्कृत माध्यमिक विद्यालय चलिरहेको छ । प्रजातन्त्रको सँघारमा आइपुग्न लाग्दा २००६ सालमा पोखरामा पब्लिक मिडिल स्कुल खुलेको थियो । नदीपुरको पौवामा चलाइएको यो विद्यालय २००९ सालमा नेसनल हाइस्कुल बनाइयो । पोखरा महानगरभित्र अहिले ७८ वटा सामुदायिक मावि छन् भने निजी माविको सङ्ख्या १७१ छ ।
महानगरभित्र सामुदायिक आधारभूत स्कुल १२२ वटा छन् भने संस्थागत आधारभूत शिक्षालयको सङ्ख्या ८३ छ । यी शिक्षालयमा एक लाख ३४ हजार विद्यार्थी रहेको महानगरपालिकाको शिक्षा महाशाखामा रेकर्ड छ । पर्यटनमा अग्रणी मानिएको पोखरा पर्यटन राजधानी घोषणा भइसकेको छ । देशकै ठुलो महानगरपालिका पोखरा सम्भावनाको सहर हो । बिछट्ट प्राकृतिक सौन्दर्य रहेको यहाँ स्वदेशी तथा विदेशी विद्यार्थीको आकर्षक शैक्षिक गन्तव्य बन्न सक्ने सम्भावना छ ।
फुसको छानोबाट सुरु भएको पृथ्वीनारायण क्याम्पस त्रिभुवन विश्वविद्यालयको धेरै विद्यार्थी हुने क्याम्पसमा पर्छ भने एकै सहरमा दुई विश्वविद्यालय हुने सौभाग्य पनि पोखराले पाएको छ । पृथ्वीनारायण क्याम्पसबाट सुरु भएको पोखराको उच्च शिक्षाको सञ्जाल अहिले विविधीकरण मात्र भएको छैन, समुदायसम्म फैलिएको छ । देशकै ठुलो क्याम्पसमा पर्ने पृथ्वीनारायण क्याम्पसमा अहिले ११ हजार ९४२ विद्यार्थी छन् । महानगरमा त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरेका दर्जनभन्दा बढी सामुदायिक क्याम्पस छन् । विद्यार्थीलाई थोरै शुल्कमा स्थानीय ठाउँमै उच्च शिक्षा दिइरहेका यी सामुदायिक क्याम्पसले पछिल्लो समय विद्यार्थी कम हुने र बिचैमा कक्षा छाड्ने समस्या बेहोर्नु परेको छ । यी समस्याको समाधान गर्दै सामुदायिक क्याम्पस विश्वविद्यालय अनुदान आयोगबाट क्युएए प्रमाणपत्र प्राप्त गर्न सफलसमेत भएका छन् ।
पोखराको उत्कृष्ट सामुदायिक क्याम्पस मानिने जनप्रिय बहुमुखी क्याम्पसले स्नातकोत्तरमा स्वायत्त कार्यक्रमसमेत चलाइरहेको छ । साबिक लेखनाथ क्षेत्रमा जनप्रकाश बहुमुखी क्याम्पस र लक्ष्मीआदर्श बहुमुखी क्याम्पसले स्थानीय ठाउँमै उच्च शिक्षाको अवसर दिएका छन् । हेम्जामा रहेको गौरीशङ्कर बहुमुखी क्याम्पस र भरतपोखरीमा रहेको सरस्वती टीका बहुमुखी क्याम्पसले पछिल्लो समय नयाँ विषय थप्दै विद्यार्थीका चाहना सम्बोधन गर्ने प्रयास गरेका छन् । छोरेपाटनमा रहेको गुप्तेश्वर बहुमुखी क्याम्पसनजिकैको प्रसिद्ध गुप्तेश्वर गुफाको नामबाट स्थापना भएको हो । क्याम्पस सञ्चालनका लागि समेत यो गुफाको आम्दानी उपयोग गर्ने गरिएको छ ।
पोखरामा कृषि तथा वन विज्ञान विश्वविद्यालय, रामपुर चितवनको आङ्गिक क्याम्पस पनि छ । स्थानीयले महायज्ञ लगाएर चार करोड २२ लाख सङ्कलन गरी थालिएको अभियानबाट खुलेको कलेज अफ नेचुरल रिसोर्स म्यानेजमेन्टमा चारबर्से कृषिको पढाइ हुन्छ । पोखरा–१९, पुरनचौरमा यो क्याम्पस २०७३ मा स्थापना भएको हो ।
पोखराको भीमकाली पाटनमा नेपाल संस्कृत विश्वविद्यालयको आङ्गिक क्याम्पस विन्ध्यवासिनी संस्कृत विद्यापीठ छ । गण्डकी प्रदेशको केन्द्र पोखराको आवश्यकतालाई ध्यानमा राखी त्रिभुवन विश्वविद्यालयले प्राविधिक क्षेत्रका आङ्गिक क्याम्पस यहाँ खोलेको छ । लामाचौरमा रहेको इन्जिनियरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पस कम खर्चमा इन्जिनियरिङ अध्ययन गर्ने विद्यार्थीको रोजाइमा पर्ने गर्छ । पोखरा–३, नदीपुरमा छात्रालक्षित कन्या क्याम्पस सञ्चालनमा छ ।
पोखरा–१२, रामघाटमा त्रिभुवन विश्वविद्यालयको नर्सिङ पढाउने आङ्गिक क्याम्पस छ । पोखरा नर्सिङ क्याम्पसका सात कार्यक्रममा साढे तीन सय विद्यार्थी छन् । पोखरा–१५ को हरियोखर्कमा रहेको वन विज्ञान अध्ययन संस्थानको पश्चिमाञ्चल क्याम्पसका पाँच कार्यक्रममा साढे चार सय विद्यार्थी पढिरहेका छन् । वनविज्ञानमा स्नातक र स्नातकोत्तरका कक्षा चलाइरहेको यस क्याम्पसले सैद्धान्तिक र प्रयोगात्मक दुवै विधिबाट दक्ष जनशक्ति उत्पादन गर्दै आएको छ ।
पोखरा महानगरमा पछिल्लो समय नयाँ अस्पताल खुल्ने क्रम बढेको छ । चिकित्सा र स्वास्थ्यसम्बन्धी विषय अध्ययनका लागि राजधानी काठमाडौँ तथा विदेश जानुपर्नेमा बाध्यता धेरै हदसम्म हटेको छ । पोखरा विश्वविद्यालयसहित यहाँका मेडिकल कलेजले पब्लिक हेल्थ, ल्याब जस्ता विषयको पढाइ सञ्चालन गरेका छन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले चिकित्सामा स्नातक र स्नातकोत्तरसहित नर्सिङमा स्नातक पढाइरहेको छ । यहाँ निजी क्षेत्रबाट सञ्चालित दुई मेडिकल कलेजले पनि चिकित्सा क्षेत्रमा योगदान गरिरहेका छन् ।
गण्डकी मेडिकल कलेजले एबिबिएस, एमडी/एमएससहित बिएमएलटी र नर्सिङतर्फ स्नातकका कक्षा चलाएको छ । मणिपाल पोखरा कलेज अफ मेडिकल साइन्समा भारतीयसहित नेपाली विद्यार्थी नर्सिङ र चिकित्सामा स्नातक र स्नातकोत्तर पढिरहेका छन् । यहाँको चरक एकेडेमी, फेवासिटी इन्स्टिच्युट अफ मेडिकल साइन्स, फिस्टेल नर्सिङ क्याम्पसले पनि स्वास्थ्य क्षेत्रका जनशक्ति तयार गरिरहेका छन् । पोखरा महानगरले पनि गण्डकी बहुप्राविधिक शिक्षालय स्थापना गरी डिप्लोमा सिभिल इन्जिनियरिङ, अटोमोबाइल इन्जिनियरिङ र जियोमेट्रिक्स इन्जिनियरिङका कक्षा चलाइरहेको छ । अब्बल नतिजा हासिल गरिरहेको गण्डकी बहुप्राविधिकले डिप्लोमा इन फार्मेसी, डिप्लोमा इन फोरेस्ट्री, प्रमाणपत्र सामान्य चिकित्सासहित छोटो अवधिका प्राविधिक तालिमसमेत दिने गरेको छ ।
सामुदायिक स्कुलसमेत अब्बल
हालै सार्वजनिक माध्यमिक शिक्षा परीक्षा (एसइई) मा अमरसिंह माविका पाँच विद्यार्थीले चार जिपिए हासिल गरे । कास्कीका सामुदायिक विद्यालयका १८ विद्यार्थीले पहिलो पटक यस वर्ष चार जिपिए ल्याएका छन् । जनप्रिय मावि र भद्रकाली माविका समान चार जनाले पनि इतिहास बनाउँदा बाटुलेचौरको विन्ध्यवासिनी मावि, निर्मल पोखरीको जनचेतन मावि, छोरेपाटन मावि, गोगन मावि र बालमन्दिर माविका एक, एक जनाले पनि चार जिपिए ल्याए । जनप्रिय माविका प्रधानाध्यापक देवी बस्ताकोटी लगनशील विद्यार्थी, समर्पित शिक्षक र रचनात्मक अभिभावकको योगदानले उत्कृष्ट परिणाम प्राप्त भएको बताउनुहुन्छ ।
यसपालि मदरल्यान्ड माविका ११ विद्यार्थीले चार जिपिए पाए । दुई हजार सात सय विद्यार्थी अध्ययन गर्ने यो विद्यालयका प्रधानाध्यापक नारायण बराल पोखराका शैक्षिक संस्था राष्ट्रिय अन्तर्राष्ट्रियस्तरको शिक्षा दिन सक्षम हुँदै गएको बताउनुहुन्छ । उहाँले सरोकारवालाको मेहनतकै कारण उत्कृष्ट नतिजा हासिल भएको उल्लेख गर्नुभयो । अन्तर्राष्ट्रिय विमानस्थल रहेको र सडकमार्गको समेत सहज पहुँच भएको पोखराको शिक्षा क्षेत्रमा योजनाबद्ध काम भए यो स्वदेशी र विदेशी दुवैथरी विद्यार्थीको अध्ययन गन्तव्य बन्न सक्छ ।