भवानीदत्त भट्ट
कञ्चनपुर, असार २२ गते । गृहमन्त्री रमेश लेखकले कञ्चनपुरमा निर्माणाधीन क्षेत्रहरूको स्थलगत अनुगमन गर्नुभएको छ । शनिबार महेन्द्रनगर पुग्नुभएका गृहमन्त्री लेखकले आज जिल्लास्थित प्रमुख निर्माणाधीन स्थलको निरीक्षण गर्नुभएको हो ।
गृहमन्त्री लेखकले दोधरा चाँदनीमा निर्माण हुने सुख्खा बन्दरगाह, महाकाली नदीमा निर्माण भइरहेको गाइडबण्ड र मजगाउँ विमानस्थलको स्थलगत अनुगमन गर्नुभएको छ ।
सरकारले भीमदत्त नगरपालिका वडा ११, १२ र १३ वडालाई यसअघि विपद् सङ्कटग्रस्त वडा घोषणा गरेपछि नेपाली सेनाले महाकाली नदीमा भत्किएको तटबन्ध निर्माणको काम तिव्र गतिमा गरिरहेको छ ।
स्थलगत अनुगमन गर्नुहुँदै गृहमन्त्री लेखकले समयमै गुणस्तरीय निर्माण कार्य गर्न निर्देशन दिनुभयो । नेपाली सेनाको इन्जिनियर एवम् कर्नेल निशान्त क्षेत्रीले तटबन्ध निर्माणको काम र नदीलाई जिरो प्वाइन्टबाट सिधा धारमा बगाउने काम भइरहेको बारे गृहमन्त्री लेखकलाई जानकारी गराउनुभयो ।
यस्तै, गृहमन्त्री लेखकले दोधरा चाँदनीमा निर्माण हुने सुख्खा बन्दरगाह क्षेत्रको निरीक्षण गर्नुभएको छ । सुख्खा बन्दरगाह निर्माणका लागि टेण्डर भइसकेकाले निरन्तर काम अगाडि बढ्नेमा गृहमन्त्री लेखकले विश्वास व्यक्त गर्नुभयो ।
आइतबार गृहमन्त्री लेखकले मजगाउँ विमानस्थलको विषयमा निर्माण व्यवसायीसँग जानकारी लिनुभयो । विमानस्थल निर्माणको काम तिव्र गतिमा अघि बढाउन निर्माण व्यवसायीलाई गृहमन्त्री लेखकले निर्देशन दिनुभयो । गृहमन्त्री लेखकसँगै भीमदत्त नगरपालिका नगर प्रमुख पदम बोगटीलगायतको उपस्थिति थियो ।