नवीनराज कुइँकेल
लमजुङ, असार २२ गते । लमजुङको राइनास नगरपालिका–८, तार्कुघाटमा अपाङ्गता भएका ५३ जना व्यक्तिलाई सहायता सामग्री वितरण गरिएको छ । सामाजिक विकास कार्यालयको सहयोग र ग्रामीण अपाङ्ग समाज नेपाल राइनासको समन्वयमा सहायता सामग्री वितरण गरिएको हो ।
अपाङ्गता भएका व्यक्तिको माग बमोजिम ह्विलचियर सात वटा, सहयोगी लौरी नौ वटा, बैसाखी चार वटा, एयरफोन १६, वाकर एउटा र सेतो छडी १६ वटा वितरण गरिएको ग्रामीण अपाङ्ग समाज नेपालका अध्यक्ष प्रकाश चिलुवालले जानकारी दिनुभयो ।
राइनास नगरपालिका–८ का वडा अध्यक्ष कृष्णबहादुर रानाभाट, सामाजिक विकास कार्यालय लमजुङका प्रमुख मिताकुमारी थापा, नेपाल पत्रकार महासङ्घ लमजुङका केन्द्रीय सदस्य कृष्ण केसी, नेपाल नेत्रज्योति सङ्घका लमजुङ तथा गोरखाका क्षेत्र अधिकृत प्रेम महर्जनलगायतले सहायता सामग्री प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा नेपाल नेत्रहीन सङ्घ लमजुङका अध्यक्ष राजेन्द्र घिमिरेले अपाङ्गता भएकाहरुलाई सम्बोधन गर्दा प्रयोग गर्नुपर्ने विषय समेटिएको भिडियो सामग्री प्रस्तुत गर्नुभएको थियो । एविलिज फाउण्डेसनको आर्थिक सहयोग तथा सामाजिक विकास कार्यालय लमजुङ र ग्रामीण अपाङ्ग समाज नेपाल राइनासको समन्वयमा शनिबार र आइतबार समावेशी विकास, अपाङ्गगता भएकाहरुको स्थानीय साधानस्रोतमा पहुँच लगायतका विषयमा तालिमको समेत आयोजना गरिएको छ ।
तालिममा नेत्रहीन सङ्घ लमजुङका अध्यक्ष घिमिरेले स्थानीय बजेट निर्माणका सात वटा चरण, क्षेत्र अधिकृत प्रेम महर्जनले समुदायमा आधारित पुनःस्थापना कार्यक्रम र नेत्रहीन संघ लमजुङका सचिव विष्णु पोखरेलले अपाङ्गता सञ्जाल र अपाङ्ग समन्वय समितिबीचको अन्तरसम्बन्धबारे सहजीकरण गर्नुभएको छ ।