काठमाडौँ, असार २२ गते । ललितपुर स्पोर्ट्स क्लबद्वारा आयोजित वीर गणेशमान सिंह स्मृति खुला राष्ट्रिय रापिड रेटिङ चेस प्रतियोगिताका विजेतालाई पुरस्कार प्रदान गरिएको छ ।
प्रतियोगितामा दोलखाका आशिष फुयाल पहिलो हुनुभएको थियो । नेपाल बुद्धिचाल महासङ्घले विजेता खेलाडीलाई नगद पुरस्कारसहित सम्मान गरेको हो ।
सात चरणको खेलमा पहिलो हुनुभएका आशिषले २० हजार रुपियाँ पुरस्कार पाउनुभयो । एक सय तीन जना खेलाडीले प्रतिस्पर्धा गरेको प्रतियोगितामा
रौतहटका एफएम रूपेश जयसवाल दोस्रो बन्दै १५ हजार रुपियाँ पाउनुभयो । काठमाडौँका सिएम पुरुषोत्तम सिलवालले तेस्रो बन्दै १० हजार रुपियाँ प्राप्त गर्नुभयो ।
कार्यक्रममा उमेर समूह र अन्य विधाका विजेतालाई पनि पुरस्कृत गरिएको थियो । कार्यक्रममा नेपाल बुद्धिचाल महासङ्घले नेपाल खेलकुद पत्रकार मञ्चका नवनिर्वाचित कार्यसमितिलाई पनि सम्मान गरेको थियो ।
खेलाडीलाई ललितपुर जिल्ला समन्वय समितिका अध्यक्ष ऋषि फुयाल, नेपाल बुद्धिचाल महासङघका अध्यक्ष हीराकाजी महर्जनलगायतले पुरस्कार प्रदान गर्नुभयो ।