• २२ असार २०८२, आइतबार

तीन गाउँपालिकाका नौ वडामा टेलिफोन सेवा अवरुद्ध

blog

चङ्खेली गाउँपालिकामा स्थापना गरिएको टेलिकमको टावर । तस्बिर : राजन रावत

राजन रावत
हुम्ला, असार २२ गते ।
जिल्लाका तीन वटा गाउँपालिकाका नौ वटा वडामा टेलिफेन सेवा अवरुद्ध भएको छ । खार्पुनाथ, सर्केगाड र चङ्खेली गाउँपालिकाका ती वडाहरुका बस्तीमा टेलिफोन सेवा अवरुद्ध भए पछि समस्या भएको छ ।

खार्पुनाथ गाउँपालिका–१ का अध्यक्ष जयबहादुर शाहीले पिउस, बोच्चेगौडा, सुनखाडा, वडा नं ३ को राया, कारङ वस्तीमा यतिबेला टेलिफोन सेवा अवरुद्ध भएको बताउनुभयो । दुई हप्तादेखि यस क्षेत्रमा बिहान, दिउँसो र साँझको समयमा टेलिफोन सेवाले काम गर्न छोडेको उहाँले बताउनुभयो । रातिको समयमा मात्रै टावरले काम गर्दा नेटवर्क आउँने बताउँदै उहाँले रायाको ठानामा रहेको टावरले काम नगर्दा यहाँका सेवाग्राही सञ्चारबाट वञ्चित हुनुपरेको बताउनुभयो ।

यसैगरी सर्केगाड गाउँपालिका– ६ को स्याल्तडी, वडा नम्बर २ रिप र वडा नम्बर ३ को उनापानी गाउँमा पनि नेपाल टेलिकमले काम नगर्दा समस्या हुने गरेको वडा नम्बर ३ का वडा अध्यक्ष अकिल कार्कीले  जानकारी दिनुभयो । मोबाइलमा टावर देखाए पनि फोन गर्दा फोन नै नलाग्ने गरेको उहाँको भनाइ छ ।

त्यस्तै पालिका केन्द्र सर्केगाडमा पनि टेलिफोन सेवाले काम गर्न नसकेको स्थाानीयको भनाइ छ । यता चङ्खेली गाउँपालिका केन्द्र पिप्लाङ एक महिनादेखि टेलिफोन सेवाबाट अवरुद्ध रहँदै आएको छ । टेलिफोन गर्न डाँडाकाँडा धाउनुपर्ने अवस्था रहेको स्थानीय बासना शाहीको भनाइ छ । गाउँपालिका केन्द्रमात्रै नभएर प्राय ग्रामीण क्षेत्रमा हालसम्म पनि टावरले कम नगरेका कारण नेटवर्कमा समस्या आइरहन्छ ।

पालिककै मेल्छाममा रहेको नेपाल टेलिकमको टावरमा समस्या आउँदा टेलिफोन सेवा अवरुद्ध भएको गाउँपालिका अध्यक्ष प्यारीलाल शाहीले बताउनुभयो । गाउँपालिका केन्द्रमा सञ्चार सुविधा नहुँदा दैनिक कार्य सम्पादनमा कठिनाइ भएको उहाँले बताउनुभयो । यस गाउँपालिकाका दुई वटा वडामा टेलिफोन सेवा अवरुद्ध छ ।