• २२ असार २०८२, आइतबार

ताप्लेजुङको सिस्नेखोलामा बेलिब्रिज जडान कार्य सुरु

blog

फुङ्लिङ नगरपालिका र फक्ताङलुङ गाउँपालिका जोड्ने सिस्नेखोलामा जडान गर्न लागिएको बेलिब्रिज । तस्बिर : साहारा लिम्बू


साहारा लिम्बू
फुङ्लिङ, असार २२ गते ।
ताप्लेजुङको फुङ्लिङ नगरपालिका र फक्ताङलुङ गाउँपालिका जोड्ने सिस्नेखोलामा बेलिब्रिज जडान कार्य सुरु भएको छ । अबको बढीमा चार दिनभित्रमा निर्माणकार्य पूरा हुने गरी बेलिब्रिज जडान कार्य सुरु भएको हो ।

दुई सय ८५ मेगावाट क्षमताको अपर तमोर जलविद्युत् आयोजनाले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सिस्नेखोलामाथि बेलिब्रिज जडान थालेको आयोजना संयोजक सम्झना क्षेत्रीले बताउनुभयो । उहाँका अनुसार अबको तीनदेखि चार दिन भित्रमा बेलिब्रिज निर्माणकार्य पूरा भई बेलिब्रिजमार्फत नै सवारी आवागमन सुरु हुनेछ ।

बेलिब्रिज करिब २७.५ मिटर लामो छ । सिस्नेखोलामा बर्खायामको समयमा सवारी आवागमन गर्न निकै कठिन हुने गरेकोमा अब बेलिब्रिज निर्माण कार्य पूरा भएपछि बाह्रैकाल सवारी आवागमन गर्न विगतमा देखिएको कठिनाइ हट्ने जलविद्युत् आयोजनाले विश्वास लिएको छ ।

यस्तै उक्त बेलिब्रिज निर्माणपछि फक्ताङ्लुङवासीलाई ठुलो सहयोग पुग्ने फक्ताङ्लुङ गाउँपालिका अध्यक्ष राजन लिम्बू (मुक्ति)ले बताउनुभयो । यो सँगै उहाँले जलविद्युत् आयोजनालाई धन्यवाद दिनुभएको छ ।

अपर तमोर जलविद्युत् आयोजनाले आयोजना प्रभावित क्षेत्रमा सामाजिक उत्तरदायित्वका कार्यक्रम अनुसारका काम तीव्र गतिमा पूरा गर्ने लक्ष्य लिएको छ ।