नविन शिशिर विक
बागलुङ, मङ्सिर ४ गते । अस्थायी मतदान केन्द्र रहेको बागलुङ जिल्ला कारागारमा ९८ दशमलव ५ प्रतिशत मत खसेको छ । बागलुङ नगरपालिका–१ मा रहेको बागलुङ जिल्ला कारागारमा कायम गरिएको अस्थायी मतदान केन्द्रमा ६६ जना कैदीबन्दी र अस्थायी मतदाताले मतदान गरेका हुन् ।
कारागार प्रमुख तथा निर्वाचन अधिकारी दिलबहादुर केसीले ९८.५ प्रतिशत मत खसेको बत्ताउनुभयो । उहाँले ६७ जना अस्थायी मतदाता मध्ये ५१ जना कैदीबन्दी र १५ जना कर्मचारी गरी ६६ वटा मत खसेको बताउनुभयो।
एक जना कैदीबन्दी जिल्ला बाहिर रहेकाले मतदान गर्न नआएको उहाँको भनाइ छ । बागलुङ जिल्ला कारागारमा हाल ११ महिलासहित १७२ जना कैदीबन्दी रहेका छन् ।
अन्य कैदीबन्दीको मतदाता नामावलीमा नाम नभएपछि मतदान गर्न पाएनन् । कारागारमा रहेका कैदीबन्दीहरुका लागि कारागारमै अस्थायी मतदान केन्द्र कायम गरिएको थियो ।
कारागार प्रमुख तथा निर्वाचन अधिकारी केसीले एक जना मतदाता जिल्ला बाहिर रहेकाले मतपेटिका भने बेलुका ५ बजेसम्म नै मतदान केन्द्रमा राखिने बताउनुभयो ।