रमेश पौडेल
पोखरा, मङ्सिर ४ गते । कास्कीको माछापुच्छ्रे वडा नं ८ स्थित तारे बराह आधारभूत विद्यालय लुम्रेको मतदान केन्द्रबाट सूर्य परियारलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मतदान केन्द्रमा मतदानका क्रममा मतपेटिका फालेपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
मतदान सुरु भएपछि करिब एक सय मतदाताले मतदान गरेपछि परियारले सो घटना गराउनुभएको हो । उनलाई तत्काल सुरक्षाकर्मीले नियन्त्रणमा लिएको थियो । उनीसँग अन्य तीन जना सहयोगी पनि बुथ बाहिर रहेको प्रहरीको भनाइ छ । उनीहरूले निर्वाचन बहिष्कार गरौँ नारा पनि लगाएका थिए ।
घटनापछि करिब ४० मिनेट स्थगित भएको मतदान कार्य सर्वदलीय र निर्वाचन गर्न खटिएका कर्मचारीको छलफलपछि मतदान सुचारु गरिएको थियो । मतपत्र नच्यातिएको र नबिग्रिएको मतदान भएका मतपत्र सदर गरी पुनः मतदान सुरु भएको कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिनुभयो ।अवरोध गर्ने व्यक्ति नेकपा बहुमतका कार्यकर्ता भएको बुझिएको छ।
कास्कीका अन्य स्थानमा मतदान शान्तिपूर्ण भइरहेको प्रजिअ केसीले बताउनुभयो । उहाँका अनुसार अहिलेसम्म ३५ प्रतिशत मत खसेको छ ।