बर्दिया २ मा स्वतन्त्र उमेद्वार लालवीर चौधरी विजयी
बर्दिया क्षेत्र नं. २ मा प्रतिनिनिधि सभा सदस्यमा स्वतन्त्र उमेदवार लालवीर चौधरी विजयी हुनुभएको छ । निर्वाचन अधिकृत नगेन्द्र लम्सालका अनुसार २६ हजार ५२० मतसहित चौधरी विजयी हुनुभएको हो ।
सल्यान प्रदेशसभा ‘क’ मा माओवादी र ‘ख’ मा कांग्रेसको अग्रता
सल्यानमा दुई प्रदेशभाको मतगणना एकैसाथ गरिएको छ । प्रदेश सभा सत्ता गठबन्धनका उम्मेदवारको अग्रता रहेको छ । प्रदेश सभा क्षेत्र नम्वर क मा नेकपा (माओवादी केन्द्र)का भीमप्रकाश शर्माले ५ हजार ९६८ अग्रता कायम गर्नुभएको छ ।
डोटी प्रदेश सभा (क) मा एमालेका चक्र मल्ल निर्वाचित
डोटी प्रदेश सभा (क) मा एमाले उम्मेदवार चक्रबहादुर मल्ल विजयी हुनुभएको छ । नेकपा (एमाले) का जिल्ला अध्यक्ष समेत रहनुभएका मल्लले कांग्रेस जिल्ला सभापति नरेन्द्रबहादुर सिंहलाई सामान्य मतान्तरले पराजित गर्नुभएको हो ।
ताप्लेजुङमा एमाले सचिव भट्टराई निर्वाचित
ताप्लेजुङमा नेकपा (एमाले) का सचिव योगेशकुमार भट्टराई प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ । भट्टराईले वामलोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार नेकपा (माओवादी केन्द्र) का खेलप्रसाद बुडाक्षेत्री ‘पराग’ लाई पराजित गर्दै निर्वाचित हुनुभएको हो ।
भक्तपुर -२ 'ख' एकीकृत समाजवादीका श्रेष्ठ अगाडि
भक्तपुर, निर्वाचन क्षेत्र नम्बर २ को प्रदेश 'ख' मा नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका राजेन्द्र मान श्रेष्ठ अगाडि हुनुभएको छ ।
रुकुमपूर्व प्रदेशसभा 'ख' मा कांग्रेसका केसी विजयी
रुकुम पूर्व प्रदेशसभा 'ख' मा नेपाली कांग्रेसका उम्मेदवार धनबहादुर केसी विजयी हुनुभएको छ । उहाँले ४ हजार २ सय ६२ मत प्राप्त गर्नुभएको छ । त्यस्तै, उहाँका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार नरहरी खड्काले २ हजार २ सय ४४ मत प्राप्त गर्नुभएको छ ।
गुल्मी –२ को प्रदेश सभा (क) मा एमालेका भुसाल विजयी
गुल्मी क्षेत्र नं २ को प्रदेश सभा (क) मा एमालेका डिल्लीराज भुसाल विजयी बन्नुभएको छ । भुसालले गठबन्धनको तर्फबाट उम्मेदवार बन्नुभएका कांग्रेसका भुवन श्रेष्ठलाई एक हजार ५० मतअन्तरले पराजित गर्नुभएको हो ।
रुकुम पूर्व प्रतिनिधि सभामा माओवादीका पूर्णबहादुर घर्ती विजयी
रुकुम पूर्वको प्रतिनिधि सभामा नेकपा माओवादी केन्द्रका उम्मेदवार पूर्णबहादुर घर्ती विजयी हुनुभएको छ । उहाँले १२ हजार २ सय ६२ मत प्राप्त गरेर विजयी हाँसिल गर्नुभएको हो ।
कास्की क्षेत्र नं. ३ (क) मा एमालेका गुरुङ निर्वाचित
कास्की क्षेत्र नं ३ (क) प्रदेश सभा सदस्यमा नेकपा (एमाले) का उम्मेदवार गणेशमान गुरुङ निर्वाचित हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी गठबन्धनका तर्फबाट माओवादीका दुर्गादत्त भण्डारीलाई ४ हजार ४०९ मतान्तरले पछि पार्दै निर्वाचित हुनुभएको हो ।
रुपन्देही ५ (ख) बाट जनमत पार्टीका गुप्ता विजयी
जनमत पार्टीका चन्द्रकेस गुप्ता रुपन्देही निर्वाचन क्षेत्र नं. ५ को प्रदेश (ख) बाट विजयी हुनुभएको छ ।
कास्की प्रदेश सभा २ (क) मा एमालेका कार्की विजयी
कास्की क्षेत्र नम्बर २ प्रदेश सभा (क) मा नेकपा (एमाले) का उम्मेदवार विजयी हुनुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवारलाई पराजित गर्दै एमालेका भीमबहादुर कार्की प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको हो । विजयी कार्कीले १० हजार ५३१ मत प्राप्त गर्नुभयो ।
सर्लाही १ (ख) मा एकीकृत समाजवादीकी लुङ्गेली निर्वाचित
सर्लाहीको क्षेत्र नम्बर १ (ख) बाट प्रदेश सभा सदस्यमा नेकपा (एकीकृत समाजवादी) की बेची लुङ्गेली निर्वाचित हुनुभएको छ ।
चार वटा जिल्लाको मतगणना हुन बाँकी
प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन सम्पन्न भए पनि बुधबारसम्म चार वटा जिल्लाको मत गणना हुन बाँकी छ । बागमती प्रदेशको दोलखा, गण्डकीको स्याङ्जा कर्णाली प्रदेशको हुम्ला र सुदुरपश्चिम प्रदेशको बाजुरामा मत गणना हुन बाँकी छ ।
उदयपुर २ प्रदेशसभा (क) मा माओवादीका वुर्जामगर विजयी
उदयपुरको निर्वाचन क्षेत्र नम्बर २ को प्रदेश सभा क्षेत्र १ बाट नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका उम्मेदवार नारायणबहादुर वुर्जामगर आठ हजार १०५ मत प्राप्त गरी दोस्रो कार्यकालका लागि प्रदेश सभा सदस्य पदमा विजयी हुनुभएको हो ।
मतान्तर फराकिलो गराउँदै गृहमन्त्री खाण
रुपन्देही क्षेत्र नम्बर ३ मा सत्ता गठबन्धनका उम्मेदवार एवंम् गृहमन्त्री बालकृष्ण खाणले मतान्तर फराकिलो गराउँदै जानुभएको छ ।
झापा १ मा कांग्रेस महामन्त्री विश्वप्रकाशको जित सुनिश्चित
झापा क्षेत्र नम्बर १ को प्रतिनिधि सभाको निर्वाचनको मत गणनामा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको जित नजिक पुग्नुभएको छ ।
गुल्मी २ मा एमालेका गोकर्ण विष्ट विजयी
गुल्मी प्रतिनिधि सभा २ मा नेकपा (एमाले)का गोकर्ण विष्ट विजयी हुनुभएको छ ।
गुल्मी १ को मतगणना चार दिनपछि सुरु
प्रतिनिधि सभा गुल्मी १ को मतगणना प्रक्रिया चार दिनपछि सुरु भएको छ । जिल्ला समन्वय समिति गुल्मीको सभाहलमा बुधबारबाट कालीगण्डकी गाउँपालिका वडा नं. १ बाट मतगणना सुरु भएको हो ।
ताप्लेजुङमा एमालेका भट्टराई बढे अघि
ताप्लेजुङमा नेकपा (एमाले) का उम्मेदवार योगेशकुमार भट्टराईले अन्तिममा आएर अग्रता लिनुभएको छ । सुरुदेखि नै अग्रता कायम राख्दै आउनुभएका नेकपा (माओवादी केन्द्र) का खेलप्रसाद बुडाक्षेत्री ‘पराग’लाई पछि पार्दै भट्टराईले अग्रता लिनुभएको हो ।
अर्घाखाँची प्रदेश सभा 'क' एमाले उम्मेदवार आचार्य विजयी
अर्घाखाँचीमा प्रदेश सभा 'क'मा नेकपा एमालेका उम्मेदवार चेतनारायण आचार्य विजयी हुनुभएको छ । आर्चायले २० हजार ५ सय १८ मत लिएर विजयी हुनुभएको हो ।
डोटी प्रदेश सभा 'ख' मा माओवादी केन्द्र विजयी
डोटी प्रदेश सभा “ख” बाट सत्तारुढ गठबन्धनका उम्मेदवार शिवसिंह ओली विजयी हुनुभएको छ । नेकपा माओवादी केन्द का तर्फबाट उम्मेदवार ओलीले नेकपा एमालेका उम्मेदवार टेक बमलाई पराजित गर्नुभयाे ।
कैलाली ३ मा नागरिक उन्मुक्ति पार्टीको ‘क्लिन स्विप’
कैलाली क्षेत्र नम्बर ३ (क) र (ख) दुवै प्रदेशसभा सदस्यमा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार विजयी हुनुभएको छ ।
जुम्ला प्रदेश (२) मा एमालेका टेकराज पछाई बिजयी
जुम्ला प्रदेश (२) नेकपा (एमाले) का टेकराज पछाई विजयी भएका छन् । गठबन्धनका उम्मेदवार पदमबहादुर रोकायालाई पछि पार्दै पछाई बिजयी हुनुभएको हो ।
तोसिमा कार्कीको आठ हजारभन्दा बढी मतले अग्रता
ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा.तोसिमा कार्कीले अग्रता कायम राख्नुभएको छ । आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मतगणनामा उहाँले आठ हजार ३३० मत अन्तरले अग्रता लिनुभएको हो ।