गोरखापत्र समाचारदाता
काठमाडौ, मङ्सिर ७ गते । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन सम्पन्न भए पनि बुधबारसम्म चार वटा जिल्लाको मतगणना हुन बाँकी छ ।
बागमती प्रदेशको दोलखा, गण्डकीको स्याङ्जा कर्णाली प्रदेशको हुम्ला र सुदूरपश्चिम प्रदेशको बाजुरामा मतगणना हुन बाँकी छ ।
यीमध्ये बाजुराको बूढीगङ्गा गाउँपालिकामा विवाद भएका कारण मतदान हुनै बाँकी छ । दोलखा र स्याङ्जामा मतदान भए पनि दलहरूबीच विवाद भएका कारण मतगणना हुन बाँकी भएको हो ।
विकट हिमाली जिल्ला हुम्लामा भने मतपेटिका सङ्कलन गर्न समय लागेका कारण मतगणना हुनसकेको छैन । हुम्लामा बुधबार साँझदेखि मतगणना हुने सम्भावना छ ।
दोलखाको वैतेश्वर गाउँपालिकाको वडा नं. १, २, ३ र ६ तथा तामाकोशी गाउँपालिकाको वडा नं. ३ मा बुथ कब्जा गरिएको वा नगरिएको भन्ने विवाद छ ।
त्यस्तै, स्याङ्जाको पनि चापाकोट नगरपालिका वडा नंं ३, गल्याङ नगरपालिका वडा नं. ६ र कालिगण्डकी नगरपालिका वडा नं. २ मा पनि बुथ कब्जाको विवाद छ ।