• ७ वैशाख २०८१, शुक्रबार

सर्लाही १ (ख) मा एकीकृत समाजवादीकी लुङ्गेली निर्वाचित

blog

जनार्जन खत्री

सर्लाही, मङसिर ७ गते । सर्लाहीको क्षेत्र नम्बर १ (ख) बाट प्रदेश सभा सदस्यमा नेकपा (एकीकृत समाजवादी) की बेची लुङ्गेली निर्वाचित हुनुभएको छ । सत्ता गठबन्धनको साझा उम्मेदवार रहनुभएकी लुङ्गेली १३ हजार ६७७ मतका साथ निर्वाचित हुँदा निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी शान्ति कुमारी लामाले छ हजार ९७५ मत पाउनुभयो ।

प्रदेश सभा सदस्यमा निर्वाचित लुङ्गेली सर्लाही १ (ख) का निवर्तमान सांसद समेत हुनुहुन्छ ।  लुङ्गेली छ हजार ६९९ मतान्तरले दोस्रो पटक प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको हो ।

लुङ्गेलीसँग पराजित विपक्षी गठबन्धनको तर्फबाट एमालेकी लामा लालबन्दी नगरपालिकाको निवर्तमान उपप्रमुख हुनुहुन्छ । सर्लाही १ (ख) स्वतन्त्र उम्मेदवार राजन कुमार श्रेष्ठ तेस्रो हुनुभयो । श्रेष्ठले पाँच हजार ९४५ मत प्राप्त गर्नुभयो । 

श्रेष्ठ लालबन्दी नगरपालिका–८, को निवर्तमान वडाध्यक्ष हुनुहुन्छ । सत्ता गठबन्धनबाट समाजवादीकी लुङ्गेलीले टिकट पाएपछि नेकपा माओवादी केन्द्रका श्रेष्ठले स्वतन्त्रबाट उम्मेदवारी दिनुभएको थियो । 

श्रेष्ठलाई स्वतन्त्रबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार मानबहादुर खड्काको साथ रहेको थियो । प्रतिनिधि सभाका लागि खड्का ‘पुतली’ र प्रदेशसभाका लागि श्रेष्ठ ‘जेब्रा’ चुनाव चिन्ह लिएर सँगै मत माग्दै हिँड्नुभएको थियो ।

क्षेत्र नं. १ (ख) मा खसेको ३७ हजार ९७२ मतमध्ये ३६ हजार ७१८ मत सदर र एक हजार २५४ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।