• १२ वैशाख २०८१, बुधबार

जुम्ला प्रदेश (२) मा एमालेका टेकराज पछाई बिजयी

blog

जुम्ला (२) एमालेका उम्मेदवार टेकराज पछाई । तस्बिर : नेत्र शाही

नेत्र शाही 

जुम्ला, मङ्सिर ७ गते ।  जुम्ला प्रदेश (२) नेकपा (एमाले) का टेकराज पछाई विजयी भएका छन् । गठबन्धनका उम्मेदवार पदमबहादुर रोकायालाई पछि पार्दै पछाई विजयी हुनुभएको हो ।  

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार पछाईले ७ हजार ८ सय २७ मत प्राप्त गरेर विजयी हुनुभयो । पछाईले गठबन्धनका रोकायालाई एक हजार ११२ मतान्तरले विजयी भएको मुख्य निर्वाचन अधिकृत कार्यालयका अधिकृत विष्णुप्रसाद गौतमले जानकारी दिनुभयो । 

उहाँका प्रतिद्वन्द्वी सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा एकीकृत समाजवादीका पदमबहादुर रोकायाले ६ हजार ७ सय १५ मत प्राप्त गर्नुभएको हो । प्रदेश (२) मा कुल खसेको २० हजार ६ सय २८ मत थियो । जसमा नेपाली कांग्रेसका बागी स्वतन्त्र उम्मेदवार धनबहादुर बस्नेतले ४ हजार १ सय ६५ मत प्राप्त गर्नुभयो ।   

क्याम्पसको सभापति हुँदै सांसद  

जुम्ला कनकासुन्दरी ६ निवासी पछाईको राजनीतिक जीवनयात्रा विद्यार्थी जीवनबाट भएको हो । २०५५ देखि २०५७ सम्म काठमाडौंको अमृत साइन्स क्याम्पसको सदस्य, २०५७ देखि २०६० सम्म सहसचिव हुँदै २०६० देखि २०६२ र २०६२ देखि २०६५ मा स्ववियू सभापति हुनुभएको थियो । दुर्गमबाट काठमाडौंमा विद्यार्थी राजनीति गर्नुभएका पछाई अब सांसद हुनुभएको छ ।  

पछाईले पार्टीका विभिन्न सङ्गठन हुँदै नेकपा समयमा प्रदेश कमिटी सदस्य र हाल नेकपा एमालेको प्रदेश उपसचिव पदमा हुनुहुन्छ । यसका साथै २०७९ को निर्वाचनमा एमालेको तर्फबाट जुम्ला प्रदेश (२) बाट उम्मेदवारी दिनुभएको थियो । पछाईले जुम्लाबाट विजयी हुने उम्मेदवारमा पहिलो खाता खोल्नुभयो ।