• २७ वैशाख २०८३, आइतबार

सार्वजनिक यातायातलाई उच्चपदस्थले चढ्न योग्य बनाउनुपर्छ : सभापति गजुरेल

blog

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं प्रतिनिधिसभाको पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेल ।

काठमाडौँ,  वैशाख २७ गते । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं प्रतिनिधिसभाको पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले सार्वजनिक यातायातलाई मर्यादित, भरपर्दो र उच्चपदस्थ अधिकारीले समेत प्रयोग गर्न सक्ने बनाउनुपर्ने बताउनुभएको छ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै सभापति गजुरेलले सार्वजनिक यातायातको सुधार नै समृद्धिको आधार भएको उल्लेख गर्नुभयो। हालको सडक पूर्वाधार र लगानी निजी सवारी साधनमुखी भएकोमा चिन्ता व्यक्त गर्दै उहाँले अबका सडक र यातायात प्रणाली 'मानवमैत्री' हुनुपर्नेमा जोड दिनुभयो।

यातायात क्षेत्रमा देखिएका विकृति र सिन्डिकेट अन्त्यका लागि सरकारले कडा निगरानी गर्ने चेतावनी दिँदै उहाँले भन्नुभयो, “मैले सार्वजनिक बसमा यात्रा गर्दा सर्वसाधारणले एक सांसदले यसरी यात्रा गर्छन् भन्ने विश्वास नै गर्न सकेनन्। यसले के देखाउँछ भने हामीले सार्वजनिक यातायातलाई अझै पनि सबैको रोजाइ र चढ्न योग्य बनाउन सकेका छैनौँ।” उहाँले नीतिगत तहमा आफूहरूले काम गर्ने र व्यवस्थापनको तहमा व्यवसायीहरूले सुधार गर्नुपर्ने बताउनुभयो।

सवारी दुर्घटना न्यूनीकरणका लागि सवारी साधनलाई दुरुस्त अवस्थामा राख्न र सडक सुरक्षाका मापदण्ड पालना गर्न व्यवसायीहरूलाई आग्रह गर्दै उहाँले यातायात क्षेत्रमा १३ खर्ब रुपियाँ लगानी रहेको र ११ लाखभन्दा बढीले प्रत्यक्ष रोजगारी पाइरहेको तथ्य स्मरण गराउनुभयो।

संघीय र प्रदेश सरकारबिच कार्यक्षेत्रका विषयमा देखिएका विवाद सुल्झाउन ‘सार्वजनिक यातायात प्राधिकरण’ मार्फत कानुनी सुधारको प्रक्रिया अगाडि बढिसकेको जानकारी दिँदै उहाँले यातायात क्षेत्रलाई आधुनिक र प्रविधिमैत्री बनाउन सिसी टीभी जडान, जिपिएस प्रणाली र डिजिटल भुक्तानीलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो।

श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषमा अनिवार्य आबद्ध गराउन छलफल भइरहेको र दुर्घटनाग्रस्त क्षेत्रमा उद्धारका लागि सञ्चार नेटवर्क विस्तार गर्न सञ्चार मन्त्रालयसँग समन्वय भइरहेको समेत सभापति गजुरेलले जानकारी दिनुभयो।