• २७ वैशाख २०८३, आइतबार

चीनले कोरोनाकालमा सहयोग गरेको सेनिटाइजर अलपत्र

blog

हिल्सामा गोदाम बाहिर प्रयोगका लागि समय सकिएको सेनिटाइजरका कार्टुनहरू । तस्बिरः राजन रावत

राजन रावत

हुम्ला, वैशाख २७ गते । २०७७ सालमा कोरोनाका बेला चीनले हुम्ला जिल्लालाई सहयोग गरेको सेनिटाइजर हिल्सामा बेवारिसे अवस्था रहेको छ । चीनले सहयोग गरेपछि स्वास्थ्य सेवा कार्यालयले बुझेर हिल्सामा भाडाको घरमा राखेको थियो । 

सो सेनिटाइजर हाल प्रयोगका लागि समयसिमा सकिएपछि बेवारिसे अवस्थामा रहेको छ । कोरोनाका बेला जिल्लाको लागि प्रयोग गर्न चीनले सहयोग गरेको सेनिटाइजरको समय सिमा सकिएपछि गोदामवाट बाहिर निकालिएको नाम्खा गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख ग्याछो लामाले बताउनुभयो । 

उहाँका अनुसार पाँच वर्षअघि चीनले कोरोनाको समय सहयोग गरिएका सामानहरूमध्ये ग्लोब र मास्क भने स्वास्थ्य सेवा कार्यालयले हिल्साबाट ढुवानी गरेर सिमकोट लगेको थियो ।  सेनिटाइजरका कार्टुनहरू गोदाममा राखेको र त्यसपछि त्यसको प्रयोग नभएर अलपत्र परेको थियो । 

एकसय कार्टुन सेनिटाइजर लापरवाहीले खेर गएको स्थानीयको भनाइ छ । केही हिल्सामा नदी किसानरमा त्यतिकै सो सामग्री फालिएको छ । कोरोनाका बेला सो कार्यालयले आवश्यक ठानेको सामान ढुवानी गरेको तर सेनिटाइजरलाई आवश्यक नठानेकै कारण यो अवस्था सिर्जना भएको उहाँको भनाइ छ । 

ती सामानहरू पाँच वर्षसम्म हिल्सामा एउटा व्यक्तिको घरमा कोठा भाडा लिएर राखेको भए पनि त्यो भाडा समेत तिरिएको छैन् । घर भाडामा दिएका व्यक्ति भाडा नपाएको गुनासो गरिरहनु भएको छ । 

केही दिनअघि आफू हिल्सामा जाँदा चीनले सहयोग गरेको सेनिटाइजरका कार्टुनहरु व्यक्तिको घरमा भएको जानकारी पाएपछि खोलेर हेर्दा सबै प्रयोग गर्न अयोग्य देखिएपछि कोठाबाट बाहिर निकालिएको र अब त्यसलाई नष्ट गरिने उहाँको भनाइ छ । ती सामान राखेको घरको भाडा समेत कस्ले तिर्ने भन्ने एकिन भएको छैन । कोरोना अवधिमा निक्कै महत्त्वपूर्ण मानिने सेनिटाइजर त्यतिकै खेर जानु दुःखद पक्ष भएको उहाँको भनाइ छ ।