• १४ वैशाख २०८१, शुक्रबार

कास्की प्रदेश सभा २ (क) मा एमालेका कार्की विजयी

blog

सन्तोष सुवेदी

कास्की, मङ्सिर ७ गते । कास्की क्षेत्र नम्बर २ प्रदेश सभा (क) मा नेकपा (एमाले) का उम्मेदवार विजयी हुनुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवारलाई पराजित गर्दै एमालेका भीमबहादुर कार्की प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको हो । विजयी कार्कीले १० हजार ५३१ मत प्राप्त गर्नुभयो । 

उहाँका निकटतम प्रतिस्पर्धी राप्रपाका विजयबहादुर भण्डारीले ५ हजार ८९३ मत प्राप्त गर्नुभयो । सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का उम्मेदवार विश्वप्रकाश लामिछानेले तेस्रो स्थानमा चित्त बुझाउनुभयो । माओवादी केन्द्रका लामिछानेले ५ हजार ५४० मत प्राप्त गर्नुभयो । 

कास्की क्षेत्र नम्बर २ (क) अन्तर्गत पोखरा महानगरको वडा नम्बर ७, १५, १७, २१ र ३३ पर्छ । सबै वडा एमालेको प्रभाव क्षेत्र मानिन्छ । कास्कीबाट एमालेलाई जित दिलाउने कार्की, जसलाई एमालेले गत वैशाखको स्थानीय निर्वाचनमा विपक्षलाई जिताउन लागेको आरोपमा कास्की इन्चार्जबाट हटाइएको थियो । 

कार्कीलाई हटाएर पोखरा महानगरपालिका मेयरमा पराजित कृष्ण थापालाई इन्चार्जको जिम्मेवारी दिइएको थियो । विद्यार्थी आन्दोलनबाट राजनीतिमा आउनुभएका कार्की अनेरास्ववियुको केन्द्रीय सदस्यसम्म हुनुभयो ।