म्याग्दीमा बेनी नगरसहित पाँच स्थानीय तहमा मतगणना सुरु
म्याग्दीको बेनी नगरपालिकासहित जिल्लाका पाँच स्थानीय तहमा मतगणना सुरु भएको छ । जिल्लाको एकमात्र बेनी नगरपालिकामा केही समय अघिदेखि मतगणना सुरु भएको हो ।
धुलिखेल एकमा काँग्रेसका सन्तबहादुर विजयी
केदार तिमल्सिना बनेपा, बैशाख ३१ गते । काभ्रेको धुलिखेल नगरपालिकामा नेपाली काँग्रेसले विजयी सुरुवात गरेको छ । धुलिखेल नगरपालिकाका निर्वाचन अधिकृतको कार्यालयका अनुसार धुलिखेल नगरपालिका– १ को वडा अध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार सन्तबहादुर लामा ५७३ मत ल्याई विजयी भएको जनाएको छ । कार्यालयका अनुसार धुलिखेल नगरपालिका–१ को महिला सदस्यमा नेपाली काँग्रेसका उम्मेदवार चन्द्रमाया तामाङ (५५२ मत), दलित महिला सदस्यमा काँग्रेसकै गोमा विश्वकर्मा (५४७ मत), खुल्ला सदस्यमा काँग्रेसकै दिपक घोरासाईने (५२० मत) र अर्को खुल्ला सदस्यमा एमालेका लाक्पा लामा (४८५ मत) विजयी हुनुभएको छ । यसैगरी धुलिखेल नगरपालिका वडा नम्बर ६ को दलित महिला सदस्यमा एमालेकी पार्वती विश्वकर्मा निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
मनाङ ङिस्याङमा एमालेका कान्छा घले विजयी
मनाङको मनाङ ङिस्याङ गाउँपालिकामा नेकपा (एमाले) का उम्मेदवार कान्छा घले विजयी हुनु भएको छ ।
कुमाख गाउँपालिका– ७ मा माओवादीको प्यानल विजयी
कुमाख गाउँपालिका वडा नम्बर ७ मा नेकपा (माओवादी केन्द्र)का डम्बर शाही विजयी हुनु भएको छ ।
प्रधानमन्त्री देउवाको गाउँकाे एक वडामा काँग्रेसका अध्यक्ष प्यानल विजयी
नेपाली काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान गरेको पालिका गन्यापधुरा गाउँपालिका–४ मा नेपाली काँग्रेसका वडा अध्यक्षका उम्मेदवार नरेन्द्र भट्ट प्यानल सहित बिजयी हुनु भएको छ ।
अमरगढी नगरपालिकामा काँग्रेसको अग्रता
स्थानीय तह निर्वाचनको मतगणना कार्य शुक्रबार रातीदेखि सञ्चालन भएको छ । जिल्लाको अमरगढी नगरपालिका डडेल्धुरामा नेपाली काग्रेसले नगरप्रमुख, उपप्रमुख, वडा अध्यक्ष सहित प्यानलले अग्रता लिएको छ ।
स्याङ्जाको हरिनास १ मा काँग्रेसका गुरुङ बिजयी ।
हरिनास १ मा नेपाली काँग्रेसका इन्द्रबहादुर गुरुङ वडा अध्यक्षमा निर्वाचित हुनुभएको छ । उहाँले ८०४ मत ल्याउनु भएको छ भने नेकपा (एमाले)का मिलनराज श्रेष्ठले ५४२ मत ल्याउनु भएको छ । यो पालिकामा काँग्रेस र माओवादी केन्द्र बिच पूर्ण रुपमा गठबन्ध्न भएको छ ।
काठमाडौँ महानगरपालिकाको मतगणना सुरु
शुक्रबार सम्पन्न निर्वाचनअन्तर्गत काठमाडौ महानगरपालिकाको मतगणना सुरु भएको छ । काठमाडौँ महानगरपालिका वडा नं १ नक्सालको मतगणना सुरु भएको हो । तीन लाख बढी मतदाता रहेको महानगरमा एक लाख ८९ हजार मत खसेको काठमाडौँ जिल्ला निर्वाचन अधिकृत प्रेमप्रसाद पौडेलले जानकारी दिनुभयो ।
निर्वाचन सम्पन्न गर्न खटिने सबैलाई धन्यवाद: गृहमन्त्री खाण
गृहमन्त्री बालकृष्ण खाणले सीमित स्रोत र साधन उपयोग गरी पूर्ण दृढता र प्रतिबद्धतासाथ एकै पटक मुलुकभर स्थानीय तह निर्वाचन सम्पन्न गरेकोमा सरोकारवाला निकायका प्रमुखहरूलाई धन्यवाद दिनुभएको छ ।
वीरगञ्ज महानगरपालिकाको मतगणना सुरु हुँदै
स्थानीय तहको निर्वाचनअन्तर्गत मधेस प्रदेशको एकमात्र महानगरपालिकाका वीरगञ्ज महानगरपालिकाको मतगणना आज बिहान १० बजेदेखि सुरु गरिने भएको छ । वीरगञ्ज महानगरपालिका–१४ पिपरास्थित नृसिंह माध्यमिक विद्यालय हुने मतगणनाको कार्यका लागि अहिले सर्वपक्षीय तथा सर्वदलीय छलफल जारी छ । छलफलपश्चात् मतगणनाको अघि बढाइने तयारी गरिएको मुख्य निर्वाचन अधिकृत धर्मराज पौडेलले जानकारी दिनुभयो । मतगणनाको तयारीका लागि उक्त विद्यालयको ‘सी’ ब्लकमा मतगणना कक्षमा आवश्यक फलामे तारजालीसहित सिसिटिभी जडान गरिएको हो ।
हेटौँडासहित पाँच पालिकामा मतगणना सुरु
मकवानपुरमा शुक्रबार सम्पन्न भएको स्थानीय तह सदस्य निर्वाचनको मतगणना सुरु भएको छ । हेटौँडा उपमहानगरपालिका, थाहा नगरपालिका, मकवानपुरगढी गाउँपालिका, मनहरी गाउँपालिका र इन्द्रसरोवर गाउँपालिकाको मतगणना शनिबार विहानबाट सुरु भएको हो ।
हुुम्लामा ७९ प्रतिशत मत खस्यो
हुुम्लामा ७९ दशमलव चार प्रतिशत मत खसेको छ । यो सङ्ख्या हिजो वैशाख ३० गते खसेको जिल्लाका सात वटै गाउँपालिकाका ४४ वटा वडाको हो ।
काभ्रेको बनेपा, धुलिखेल, भुम्लु र मण्डनदेउपुरमा मतगणना सुरु
स्थानीय तह निर्वाचन अन्र्तगत शनिवार बिहानदेखि काभ्रेमा मतगणना सुरु भएको छ । १३ वटा स्थानीय तह रहेको काभ्रेमा धुलिखेल नगरपालिका, बनेपा नगरपालिका, मण्डनदेउपुर नगरपालिका र भुम्लु गाउँपालिकामा मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय काभ्रेले जनाएको छ ।
सङ्खुवासभाका तीन पालिकाको मत गणना सुरु
सङ्खुवासभामा पनि मत गणना सुरु भएको छ । मत पेटिका ढुवानी गर्न सहज भएका तीन पालिकाको मत गणना सुरु भएको हो ।
प्रहरीको गोलीबाट मृत्यु भएका युवाको शव अझै उठेन
प्रहरी चलाएको गोली लागेर मृत्यु भएका १८ वर्षीय बीरवहादुर कटुवालको शव अझै उठेको छैन । मृत्यु भएको १४ घण्टा वितेपनि स्थानीयबासीले प्रसासनसँग असन्तुष्टि जनाउदै आन्दोलित भएपछि सव उठ्न सकेको छैन ।
बूढानीलकण्ठ– १ मा एमालेका लामा विजयी
बूढानीलकण्ठ नगरपालिका वार्ड नम्बर– १ को मतपरिणाम सार्वजनिक भएको छ । निर्वाचन अधिकृतको कार्यालय बुढानिलकण्ठले सार्वजनिक गरेको सूचना अनुसार ८४५ मत ल्याएर नेकपा (एमाले)का उम्मेदवार सुरेन्द्र लामा निर्वाचित हुनु भएको छ ।
झापाका पालिकाहरुको मतगणना सुरु
झापाका स्थानीय तहहरुको मतगणना बिहानैदेखि सुरु भएको छ । झापामा शुक्रबार भएको निर्वाचनमा दुई लाख १७ हजार ४०५ पुरुष र २ लाख ३८ हजार ७१ महिला गरी कूल चार लाख ५५ हजार ४७६ जनाले मतदान गर्नु भएको थियो ।
नार्पाभूमि गाउँपालिकामा कांग्रेसका लामा निर्वाचित
मनाङको नार्पाभूमि गाउँपालिकामा नेपाली कांग्रेसका कोन्जो तेन्जिङ लामा निर्वाचित हुनुभएको छ । उहाँले ४७ मतले प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार कृष्णबहादुर लामालाई हराउदै १५८ मत ल्याएर बिजयी हुनुभएको हो । प्रतिद्वन्दी स्वतन्त्रका कृष्णबहादुर लामाले १११ मत ल्याउनुभएको छ ।
चामे गाउँपालिका अध्यक्षमा एमालेका घले निर्वाचित
हिमाली जिल्ला मनाङको चामे गाउँपालिकाको अध्यक्षमा पुनः लोकेन्द्रबहादुर घले निर्वाचित हुनुभएको छ । यसअघि पनि गाउँपालिका अध्यक्ष रहनुभएका घले शुक्रबार भएको निर्वाचनबाट अध्यक्षमा निर्वाचित हुनुभएको हो ।
आशङ्का मेटियो, परिणाम देखियो
स्थानीय तहका लागि शुक्रबार मतदान गरेपछि प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रश्न गर्नुभयो, “केपीजीले पनि मतदान गर्नुभयो होला नि ?” डडेल्धुरा जिल्लाको गन्यापधुरा गाउँपालिकाको असिग्राम मावि रुवाखोलामा रहेको मतदान केन्द्र ‘ख’बाट मतदान गरेपछि सञ्चारकर्मीहरूलाई सोध्नुभएको यो प्रश्न केवल प्रश्न मात्र थिएन ।
मतदातालाई अध्यक्ष ओलीको धन्यवाद
काठमाडौं, वैशाख ३० गते। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले लाखौँ नयाँ मतदाता र ११३ वर्ष उमेरको पाको ज्येष्ठ नागरिकसहित उत्साहका साथ मतदानमा भाग लिने मतदातालाई धन्यवाद दिनुभएको छ। अध्यक्ष ओलीले विज्ञप्ति जारी गरेर मतदान गरेलगत्तै निधन हुनुभएका र मतदानका लागि जाँदै गर्दा सवारी दुर्घटनाबाट ज्यान गुमाएका मतदाताप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ।उहाँले भयरहित वातावरणमा स्वच्छ निर्वाचनका लागि पार्टी, यसका नेता, कार्यकर्ता, सदस्य र समर्थकबाट लोकतान्त्रिक र अधिकतम सकारात्मक भूमिका निर्वाह भएको जिकिर गर्नुभएको छ। अध्यक्ष ओलीले स्वतन्त्र निर्वाचनविरुद्ध भएका घटनाको विरोध गर्नुभएको छ। स्वच्छ निर्वाचन विपरीतका घटना भएका, मतदान केन्द्रको अनाधिकृत कब्जा गरिएका र भय–त्रास सिर्जना गरी मतदाताहरुलाई आतङ्कित पारिएका स्थानमा पुनः मतदानको माग गरी विभिन्न जिल्लाबाट उजुरीसमेत गरिएको उहाँले जानकारी दिनुभएको छ। “त्यस्ता गतिविधिलाई गम्भीरतापूर्वक लिन आयोगको ध्यानाकर्षण गराउँदछु”, उहाँले विज्ञप्तिमा उल्लेख गर्नुभएको छ। उहाँले अप्ठ्याराका बाबजुद निर्वाचनलाई सम्पन्न गर्न निष्पक्ष भूमिका खेल्ने निर्वाचन आयोगद्वारा परिचालित सम्पूर्ण राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी र सम्बद्ध सबैलाई धन्यवाद दिनुभएको छ।रासस
मनाङबाट सुरु भयो मतगणना
हिमाली जिल्ला मनाङबाट मतगणना सुरु भएको छ।
विवादपछि गोली चल्दा उदयपुरमा एक जनाको मृत्यु, एक घाइते
भोटराज राईउदयपुर, वैशाख ३०। उदयपुरको कटारी नगरपालिका १० मा विवाद हुँदा प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको छ। अर्को एक जना घाइते भएका छन्। प्रहरीको गोली लागेर स्थानीय १९ वर्षीय नवीन कटुवालको मृत्यु भएको हो। १४ वर्षीया मनकुमार श्रेष्ठको खुट्टामा गोली लागेको छ। भीडलाई नियन्त्रण गर्न प्रहरीले गोली चलाउँदा घरमा बसिरहेका मनकुमारको खुट्टामा गोली लागेको हो। कालिका माध्यामि विद्यालय केन्द्रमा विवाद नियन्त्रणमा लिन प्रहरीले गोली चलाउनु परेको थियो। प्रहरीले स्थिति नियन्त्रणमा लिन आठ राउण्ड गोली चलाएको थियो। स्थानीयका अनुसार नवीनको घटनास्थलमै मृत्यु भएको हो।
जहाँ मत पेटिका लुटियो...
स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत रौतहट जिल्लाको केही स्थानमा विवाद तथा छिटपुट घटनासहित अधिकांश ठाउँमा शान्तिपूर्वक निर्वाचन सम्पन्न भएको छ।