काठमाडौं महानगरका प्रमुख पदका उम्मेदवार शाहद्वारा मतदान
स्थानीय तह निर्वाचनअन्तर्गत शुक्रबार स्वतन्त्र उम्मेदवार शाहले काठमाडौंको गैरीगाउँस्थित अन्नपूर्ण बोडिङ स्कुल मतदान केन्द्रबाट मतदान गर्नुभएको हो ।
चितवनमा किरिया पुत्रीद्वारा मतदान
स्थानीय तह निर्वाचनमा किरियापुत्री तीन दाजुभाइले मतदान गर्नुभएको छ । शुक्रबार बिहान चितवनको रत्ननगर नगरपालिका १५ माधवपुर केन्द्रबाट किरिया पुत्रि तीन दाजुभाई र दुई बुहारीले मतदान गर्नुभएको हो ।
कांग्रेस केन्द्रीय सदस्यद्वय लेखक र साउँदद्वारा मतदान
कञ्चनपुरका नौवटै पालिकामा रहेका मतदान केन्द्रमा मतदान जारी रहेको छ । मुख्य निर्वाचन अधिकृत मदनबहादुर धामीले यहाँका ३४१ वटै मतदान केन्द्रमा मतदान जारी रहेको बताउनुभयो ।
प्रधानमन्त्रीद्वारा असिग्राम केन्द्रमा मतदान
प्रधानमन्त्री एवम् नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचन हुँदैन भनेर हल्ला फिजाइएको थियो तर आज देशभर निर्वाचन भइरहेको बताउनु भएको छ ।
भरतपुर महानगरका दुई प्रतिस्पर्धीले गर्नुभयो मतदान
छ वटा महानगरपालिका मध्ये सर्वाधिक चर्चामा रहेको भरतपुर महानगरपालिकाकी उम्मेद्वार रेनु दाहाल र प्रतिस्पर्धी उम्मेद्वार बिजय सुवेदीले शुक्रबार बिहान भरतपुर महानगरपालिकाको स्थानीय तह सदस्य निर्वाचनको लागि मतदान गर्नु भएको छ ।
पूर्वप्रधानमन्त्री खनाल र नेम्वाङद्धारा मतदान
नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल र र संविधान सभाका अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवाशचन्द्र नेम्वाङले इलामबाट मतदान गर्नुभएको छ । नेता खनालले सूर्योदय नगरपालिका ९ को राष्ट्रिय आधारभूत विद्यालयबाट बिहान मतदान गर्नु भएको हो ।
अर्थमन्त्री शर्माद्वारा मतदान
अर्थमन्त्री जनार्दन शर्माले स्थानीय तह निर्वाचनको लागि मतदान गर्नुभएको छ । अर्थमन्त्री शर्माले रुकुम पश्चिमको मुसीकोट नगरपालिका ५ को यमुना नन्द नमुना माविको ‘क’ मतदान केन्द्रबाट मतदान गर्नुभएको हो ।
डोटीको दुई केन्द्रमा मतदान स्थगित
डोटीको दुई मतदान केन्द्रमा मतदान प्रक्रियामा रोकिएको छ। शिखर नगरपालिका ७ लाटामाण्डौं माविमा रहेको मतदान केन्द्र र सोही नगरपालिकाको वडा नम्बर ८ राधाकृष्ण माविमा रहेको मतदान केन्द्रमा मतदान प्रक्रिया रोकिएको हो ।
राप्रपा अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले गर्नुभयो मतदान
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले झापामा मतदान गर्नु भएको छ । अध्यक्ष लिङदेनले हल्दिबारी गाउँपालिका १ स्थित वडा कार्यालय गोलधाप (ख) मतदान केन्द्रमा गएर मतदान गर्नु भएको हो ।
विराटनगरमा नेता तथा उम्मेदवारबाट मतदान
विराटनगरमा मेयर–उपमेयरसहित केन्द्रीय नेताले मत खसाल्ने क्रम जारी छ ।
पालिका सभा अब संसदीय अभ्यासमा
स्थानीय तहको निर्वाचनपछि स्थानीय तहका गाउँ र नगर सभा पूर्ण रूपमा संसदीय मर्मअनुसार सञ्चालन हुने भएका छन् । नेपाल नगरपालिका सङ्घ र गाउँपालिका राष्ट्रिय महासङ्घले गाउँ र नगर सभालाई पूर्ण रूपमा संसदीय अभ्यासमै सञ्चालन गर्ने गरी अहिलेदेखि नै गृहकार्य गरिरहेका छन् ।
हुम्लामा झडप हुँदा मतदान अधिकृत सहित तीन जना घाइते
जिल्लाकाे चंखेली गाउँपालिका– २ को महादेव मावि मतदान केन्द्रमा गठबन्धन दल पक्ष र अध्यक्ष पदका स्वतन्त्र उम्मेदवार प्यारीलाल शाही पक्षविच झडप हुँदा मतदान अधिकृत कृष्णप्रसाद आचार्य सहित तीन जना घाइते हुनुभएको छ ।
ललितपुर महानगरका प्रमुख उम्मेदवारद्वय महर्जन र ब्यञ्जनकारद्वारा मतदान
ललितपुर महानगरपालिकाका प्रमुख पदका उम्मेदवारद्वय चिरीबाबु महर्जन र हरिकृष्ण ब्यञ्जनकारले मतदान गर्नुभएको छ । सत्ता गठबन्धका उम्मेदवार महर्जनले वडा नम्बर ३ स्थित मोडल आइडल विद्यालयबाट र नेकपा (एमाले) का उम्मेदवार ब्यञ्जनकारले वडा नम्बर ९ स्थित श्रमिक शान्ति विद्यालयबाट मतदान गर्नुभएको हो । जिल्लाका छवटै स्थानीय तहमा शान्तिपूर्णरुपमा मतदान सुरु भएको छ । ललितपुरका १३१ मतदानस्थलमा रहेका २८८ मतदान केन्द्रमा मतदान जारी रहेको मुख्य निर्वाचन अधिकृत किरणप्रसाद सिवाकोटीले जानकारी दिनुभयो ।
कामपा प्रमुखका प्रत्यासी सिंह र स्थापितद्वारा मतदान
काठमाडौँ महानगरपालिकाको प्रमुख पदका उम्मेदवार केशव स्थापित र सिर्जना सिंहले मतदान गर्नुभएको छ ।
निर्वाचनप्रति उत्साही युवा
स्थानीय तह निर्वाचनका लागि उपत्यकाबाट लाखौँ मतदाता आफ्नो थलो फर्किएका छन् । भक्तपुरमा अस्थायी रूपमा बसोबास गर्ने मतदाता मतदान गर्न गाउँ फर्किएको भए पनि निर्वाचन गराउन टोली मतदान स्थलमा पुगेपछि निर्वाचनको माहोल बढेको छ ।
पूर्व प्रधानमन्त्री नेपालद्वारा मतदान
कुमार विवेकानन्द मिश्ररौतहट, वैशाख ३० गते । स्थानीय तह निर्वाचनको क्रममा आज बिहान ७ बजेबाट सुरु भएको मतदानमा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले मतदान गर्नुभएको छ ।नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष रहनुभएका नेपालले उहाँको गृह जिल्ला रौतहटको गौर नगरपालिका वडा नं. २ को रामजानकी कन्या प्रावि मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।तस्बिर : कुमार विवेकानन्द मिश्र
चार वटा मतदान केन्द्रमा मतदान कार्य सुुरु भएन
हुुम्ला, वैशाख ३० गते । शुक्रवार बिहान सात बजेबाट सुुरु हुनुपर्ने मतदान कार्य सुुरु हुन सकेको छैन । बिहानैबाट वर्षा भएको कारण ती मतदान केन्द्रमा मतदान कार्य सुुरु नभएको हो । मुुख्य निर्वाचन अधिकृत जगतबहादुुर पौडेलले जिल्लाका ५४ मध्य चार वटा मतदान केन्द्रमा अहिलेसम्म मतदान कार्य सुुरु हुन नसकेको बताउनुुभयो । उहाँले यसरी मतदान कार्य सुुरु हुन नसक्नुुको कारण बिहानैबाट वर्षा भएको कारण मतदाता नआउनुु रहेको बताउनुुभयो । अहिलेसम्म मतदान कार्य सुुरु नभएका मतदान केन्द्रमा सर्केगार्ड गाउँपालिका– ५ को धुमचुमी मावि मतदान केन्द्र र स्वयम्भुआवि मतदान केन्द्र रहेका छन् भने चंखेली गाउँपालिका– ५ कै डाँफे मावि मतदान केन्द्र रहेका छन् भने नाम्खा गाउँपालिका– ४ को महाबाैद्ध मावि मतदान केन्द्रमा भने मतदाताकै सल्लाह अनुुसार खाना खाएर मतदान कार्य सुुरु हुने भएको छ । ५० वटा मतदान केन्द्रमा भने बिहान सात वजेबाट सुुरु भएर मतदान कार्य भइरहेको छ । मतदान कार्य सुुरु भएका मतदान केन्द्रमा बिहानबाटै मतदानका लागि मतदाताको उत्साहजनक उपस्थिती रहेको पाईएको छ । केही मतदान केन्द्रमा बिहान सात बजेटबाट मतदान सुुरु भए पनि २५ भन्दा बढी मतदान केन्द्रमा भने सात बजेपछि मतदान सुुरु भएको हो ।
गृहमन्त्रीद्वारा ज्योतिनगरमा मतदान
काठमाडौँ, वैशाख ३० गते । स्थानीय तह निर्वाचनको क्रममा आज गृहमन्त्री बालकृष्ण खाँणले रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका वडा नं. ८ मा रहेको मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।उहाँका प्रेस संयोजक मधुसूदन भट्टराईका अनुसार, गृहमन्त्री खाणले त्यहाँको ज्योतिनगरस्थित ज्योति माविमा मतदान गर्नुभएको हो ।
सभामुख सापकोटा र प्रचण्डद्वारा मतदान
स्थानीय तह निर्वाचनको क्रममा आज बिहान ७ बजेबाट सुरु भएको मतदान उत्साहजनक रुपमा मतदाताको सहभागिता रहेको छ ।
निर्भीक भई मतदान गर्न आग्रह
राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले स्थानीय तहको निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराई व्यक्तिको नागरिक तथा राजनीतिक अधिकारको पूर्ण सम्मान गर्न सरोकारवालासँग आग्रह गर्नुभएको छ ।
दोस्रो स्थानीय तह निर्वाचनको मतदान सुरु
सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछिको स्थानीय तहको दोस्रो आवधिक निर्वाचन उत्साहजनक रूपमा बिहान ७ बजेबाट सुरु भएको छ । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले शुक्रबार बिहान नै मतदाताहरूका मोबाइलमा मतदानमा सरिक हुन सन्देश पठाएर उत्प्रेरित गरिसक्नु भएको छ ।
सकियो प्रतीक्षा, आज मतदान
सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछिको स्थानीय तहको दोस्रो आवधिक निर्वाचन उत्साहजनक रूपमा शुक्रबार हुँदैछ । निर्वाचन हुने कि नहुने भन्ने राजनीतिक मत विभाजनलाई पार लगाउँदै प्रतीक्षित निर्वाचन आज हुन लागेको हो ।
काठमाडौँ महानगरको मतगणना राष्ट्रिय सभा गृहमा
काठमाडौं महानगरको मत गणना राष्ट्रिय सभा गृहमा हुने भएको छ ।
भयमुक्त वातावरणमा निर्वाचन सम्पन्न गर्न सरकार प्रतिवद्ध छ : गृहमन्त्री खाण
काठमाडौं, वैशाख २९ गते। गृहमन्त्री बालकृष्ण खाणले सरकार भयमुक्त वातावरणमा निर्वाचन सम्पन्न गर्न प्रतिवद्ध रहेको उल्लेख गर्नुभएको छ। बिहीबार मतदातालाई निर्वाचनमा सहभागी हुन अपील गर्नुहुँदै गृहमन्त्री खाणले यस्तो बताउनुभएको हो। गृहमन्त्री खाणको अपीलमा भनिएको छ, ‘‘सरकार स्वच्छ, निष्पक्ष धाँधलीरहित र शान्तिपूर्ण तरिकाले भयमुक्त वातावरणमा निर्वाचन सम्पन्न गर्न प्रतिबद्ध छ।’’उहाँले सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनी र बुवा आमालाई निर्भयतापूर्वक विवेकसम्मत रूपले आफ्नो टोल, गाँउ र नगर विकासका लागि सक्षम प्रतिनिधि छनोट गर्न आफ्नो अमूल्य अभिमत प्रदान गर्न अनुरोध गर्नुभएको छ। शुक्रबार (वैशाख ३० गते) एकसाथ देशभर ७५३ स्थानीय तहको निर्वाचन हुँदैछ।